नेपाली बुलेटआयात गर्न ग्यास उद्योगीको माग, समयमा नल्याए कात्तिकदेखि आपूर्तिमा समस्या आउने

  २०७४ साउन २६ गते १७:३८     विकासन्युज

काठमाडौं । नेपाली ग्याँस बुलेट सञ्चालनमा नआए आगामी कात्तिकदेखि आपूर्तिमा समस्या आउने निश्चित रहेको भन्दै ग्यास उद्योगीले भारतबाट नेपाली ग्यास बुलेट ल्याउन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

नेपाली नम्बरका ग्यास बुलेट अहिलेसम्म सञ्चालनमा आउन नसकेकाले आगामी कात्तिक महिनापछि पूर्ण रुपमा ग्यास आपूर्तिमा अवरोध हुनसक्ने ग्यास उद्योगीले बताउछन् ।

गत कात्तिकदेखि भारतीय नम्बर प्लेटका ग्याँस ढुवानी नगर्ने सहमती भएको थियो । अनुमति पाएको एकवर्ष बितिसक्दापनि संचालनमा नआएपछि नेपाल एल.पि ग्यास उद्योग संघले नेपाली नम्बरका बुलेट संचालनका अघि बढाउन कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको हो ।

गत वर्षको असार २७ गते नेपाल आयल निगमले ७७५ बुलेट खरिदका लागि स्विकृती प्रदान गरेको थियो । करिव दस महिना अगाडी नेपाली बुलेटहरु भारतीय एक्सप्लोसिभ विभाग, नागपुरबाट भारतीय एक्सप्लोसिभ सर्टिफिकेट नपाएर रोकिएका थिए । हालसम्म करिब चार सय थान बुलेट भारतमै रहेको ग्यास उद्योगीले जनाएका छन् ।

करिब एक वर्षदेखि नेपाली बुलेटमा ग्यास आयातको पहल मन्त्रालयस्तरबाट भए पनि काम हुन सकेको छैन । संघका सचिव लक्ष्मण प्रसाद महर्जनका अनुसार उद्योगीले चार थान बुलेटका लागि करिब साढे तीन अर्ब  रुपैयाँ र ग्यास व्यवसायीको तर्फबाट पाँच अर्बको लगानी अलपत्र परेको छ ।

गत चैतमा व्यवस्थापिका सांसद, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली ग्याँस बुलेटको समस्या समाधान गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । धेरैपटक पहल गर्दापनि कुनै ठोस प्रकृया नभएको संघले जनाएको छ ।

नेपालमा आजसम्म पनि विस्फोटक सम्बन्धी कुनै मापदण्ड नभएकाले सम्पूर्ण विस्फोटक सम्बन्धी सुरक्षा मापदण्ड भारतको पेट्रोलियम एण्ड एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेसन (पेसो) ले निर्माण गरेको मापदण्डलाई अनुसरण गर्दै आइरहेको छ । सम्पूर्ण नेपाली नम्बर प्लेटका ग्याँसहरु पेसोको मापदण्ड अनुसार नै निर्माण गरिएको उद्योगीको दाबी छ ।

नेपालमा अहिलेसम्म कोशी ग्याँस उद्योग प्रालिलाई मात्र नेपाली ग्याँस बुलेट सञ्चालनका लागि अनुमति दिएको छ ।

भारतको मोटर भेहिकल सम्बन्धी ऐनमा पनि नेपाली बुलेटका लागि कुनै प्रावधान नभएको उद्योगीले बताए । १९६० को समझदारीमा पनि नेपाली नम्बर प्लेटका गाडीहरु भारतीय भूमिमा सञ्चालन गर्न पाउने अनुमति रहेकाले नेपाली ग्याँस बुलेट सञ्चालन गर्न दिनुपर्ने उद्योगीको माग छ ।

उक्त बुलेट सञ्चालनमा नआए नेपाल भारत बीचको व्यापार घाटा पनि करिब तीन सय ५० रुपैयाँ घट्ने महर्जनले बताए । उनका अनुसार नेपालको आफ्नै रिफाईनरी तथा भण्डारण नभएकाले एलपि ग्याँसको आपूर्ति अत्यावश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.