मेलम्ची काठमाडौआउने भाका सरेको सर्यै, अब अर्को दसैंमा मात्रै

  २०७४ साउन २६ गते ६:५१     विकासन्युज

 

सिन्धुपाल्चोक । यही दसैंबाट मेलम्चीको पानी पाउने आसमा रहेका उपात्याकावासीले अर्को दसैंसम्म कुर्नुपर्ने भएको छ। दुई हजार दुई सय मिटर सुरुङ खन्नेदेखि सुन्दरीजलमा खानेपानी प्रशोधन, बाँध र पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउनेसम्मका काम वर्ष दिनभित्र नसकिँदा राजधानीवासीले मेलम्चीको पानी पिउन दसैंसम्म कुर्नुपर्ने अवस्था आएको हो।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा रहेको मुहान अम्बाथानबाट २७.५ किलोमिटर लामो सुरुङ बनाएर मेलम्चीको पानी राजधानीमा वितरण गर्न लागिएको हो।

सन् २००१ मा काम सुरु गरिए पनि अझै सुरुङ खन्ने काम २.१९ किलोमिटर बाँकी छ भने सुरुङ पूरै प्लास्टर गर्ने काम पूर्ण भएको छैन।

विभागीय मन्त्रीसहित मेलम्चीको मुहान र सुरुङ अवलोकनका लागि बुधबार मध्याह्न मेलम्ची आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि अल्झिएको कामलाई जतिसक्दो चाँडो सक्न निर्देशन दिए।

उनले सुरुङ खन्ने काममा भएको ढिलाइप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसँग भने, ‘राष्ट्रिय गौरवको आयोजना हो, राजधानीवासी मेलम्चीको पानी पर्खेर बसेका छन्। पैसाको चिन्ता नगर्नोस्, काम चाँडो सक्नोस्।’ पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंवासीलाई पुर्ययाउनुपर्छ भनेर मेलम्ची खानेपानीको अवधारणा सुरु गरेका थिए।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले केही महिना अघिसम्म आठ स्थानबाट सुरुङ खन्ने काम भए पनि हाल २२ सय मिटर मात्र बाँकी रहेकाले अम्बाथानबाट तल, सिन्धुबाट माथि र ग्याल्थुमबाट तल र माथि गरी चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको जानकारी दिए। ‘इटालियन कम्पनी सीएमसीलाई सुरुङ खनिसक्न पुससम्म लाग्ने देखिन्छ’, उनले भने, ‘मुहानमा बाँध बाँध्ने, हेडवक्र्स बनाउने र गिटी, बालुवा, माटो आदि थिग्रयाउने र सफा पानी सुरुङमा पठाउन पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउने काममा झन्डै एक वर्ष लाग्छ।’

सुरुङबाट आएको करिब १७ करोड लिटर पानी सुन्दरीजलमा फिल्टर गर्न साढे आठ करोड लिटरका फिल्टर बनाउने काम भइरहेको छ। एउटा जाइकाले बनाइसकेको छ भने एसियाली विकास बैंकले बनाउने अर्कोको काम सुरु भएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले खन्न बाँकी सुरुङ भित्र पनि करिब १ हजार २ सय मिटरमा कमजोर चट्टान भेटिएकाले काम ढिलो भएको जानकारी दिए। उनले डेढ दशकभन्दा लामो अवधिमा पछिल्लो दुई वर्षमा मात्र सुरुङ निर्माणमा यति धेरै प्रगति भएको भन्दै उनले थपे, ‘२०७४ को दसैंभित्र सक्ने गरी योजनामा काम भइरहेको थियो तर यो सम्भव भएन।’ २३ अर्ब रुपैयाँको मेलम्ची आयोजनाको वित्तीय ९२ र भौतिक ९५ प्रतिशत प्रगति भएको तथ्यांक छ।

सन् २००१ देखि काम थालेको चाइनिज कम्पनीले सन् २०१२ मा काम छाडेपछि अहिले इटालियन कम्पनी सिएमसीले करिब ८ अर्बको ठेक्कामा काम गरिरहेको छ। सिएमसीको काम सक्ने म्याद पुसमा सकिन्छ। स्थानीय उपेन्द्र तामाङले सिएमसीले मापदण्डअनुसार गुणस्तरको काम नगरेको, सम्झौताबमोजिम स्थानीय क्षेत्रका ३३ प्रतिशत बासिन्दालाई काम नदिएको, सबकन्ट्रयाक्टर, निर्माण व्यवसायी र कामदारको करिब ५० करोड नतिरेकोजस्ता गुनासो गरे। उपठेकेदार श्रीराम न्यौपानेले सीएमसीले १८ करोडको मेसिनलगायत सामग्रीको भाडा नतिरेको र मर्मत नगरेकोलगायत थुप्रै काममा मनपरी ढंगले काम गरेको जानकारी दिए।

उनले भने, ‘५० करोडभन्दा बढी तिर्नुपर्ने सिएमसीको ठेकेदारले अदालत जा भनेर धम्क्याउने गरेको छ।’ ५० करोड नतिरेको विषयमा पीडित पक्षले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएका छन् भने गत शुक्रबार तीन दिन तालाबन्दी गरेपछि खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बिहीबार वार्ता गर्ने आश्वासन दिएका छन्। अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.