चेपाङ बालबालिकाका लागि विदेशी स्वयंसेवकबाट भवन निर्माण

  २०७४ साउन २४ गते १७:२२     विकासन्युज

चितवन । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् ।

गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै ५ लाख रुपैयाँको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी आज हस्तान्तरण गरेका हुन् ।

सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै स्वयंसेवक आना फेरारियाले विपन्न र शिक्षाबाट वञ्चित हुँदै आएका बालबालिकालाई ल्याएर पठनपाठन गर्न लागिएको जानकारी पाएपछि आफूमा सहयोग गर्ने उत्प्रेरणा जागेको बताए ।

पोर्चुगलमा गएर उनले आर्थिक जोहो गरी आफ्नै पहलमा ९ जना स्वयंसेवक ल्याएर काम गरेका हुन् । भवन बनेपछि चेपाङ बालबालिकालाई बस्न र कार्यालय सञ्चालनमा समेत सहयोग पुगेको केन्द्रले जनाएको छ ।

चेपाङ बालबालिकाको जीवनस्तर उकास्न र उनीहरुलाई शिक्षा दिलाउन वर्षौँदेखी विदेशी दाता र विदेशमा बस्ने नेपालीलाई प्रेरणा दिँदै आएका होटल पार्क साइड सौराहाका सञ्चालक शीरलाल परियारलाई गामबेँसी चेपाङ संरक्षण केन्द्रले मंगलबार सम्मान  गर्यो ।

आफ्नै श्रम र लगानीमा छोटो समयमै भवन निर्माण गरेर हस्तान्तरण गरी महत्वपूर्ण सहयोग गरेको भन्दै आनालाई समेत यहाँ सम्मान गरिएको थियो ।

यस्तै, चेपाङ बालबालिकालाई सहयोग गरेकामा वृद्धा विष्णुमाया पौडेल र खगेन्द्र चौधरीलाई समेत सम्मान गरिएको थियो ।

चेपाङ बालबालिकालाई सहयोग

यसैबीच, आजै चितवन घर भई इजरायलमा बस्ने निर्मला पौडेलले यहाँ रहेका चेपाङ बालबालिकालाई भोजन सेवासँगै लत्ताकपडा र आर्थिक सहयोग गरेका छन् ।

उनले आज केन्द्रमै आएर लत्ताकपडासहित ३४ हजार रुपैयाँ सहयोग गरेका हुन् । पौडेलले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे। यहाँ १४० चेपाङ बालबालिका आश्रय लिएर बसेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.