प्रतिव्यक्ति २० लाख रुपैयाँ खर्च गरेर वर्षेनी ३० हजार विद्यार्थी विदेश जान्छन्-प्रकाश पाण्डे

  २०७४ साउन २३ गते ११:५६     विकासन्युज

नेपाली युवाहरु रोजगारीको लागि मात्र होइन, अध्ययनको लागि पनि वर्षमा लाखौ विद्यार्थी विदेश जाने गरेका छन् । नेपाल शैक्षिक परामर्श संघको अध्यक्ष प्रकाश पाण्डेका अनुसार प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म खर्च गरेर वर्षमा ३० हजार विद्यार्थी विदेश जाने गरेका छन् । उनीहरु किन विदेश जान्छन् ? कति पैसा लैजान्छन् ? कति पैसा नेपाल पठाउँछन् ? पढ्न जानेहरु पढेर नेपाल फर्कन्छन् कि विदेशमै जीवन विताउँछन् ? रोजगारीको लागि खाडी मुलुक जाने नेपाली अध्ययनको लागि किन यूरोप, अमेरिका र अष्ट्रेलिया ? यिनै विषयमा प्रकाश पाण्डेसँग विकासन्यूजको लागि भूमिका तिमल्सिनाले गरेको कुराकानी ।


प्रकाश पाण्डे, अध्यक्ष–नेपाल शैक्षिक परामर्श संघ

नेपालमा राम्रो शिक्षा नभएरै हो नेपाली विद्यार्थी विदेशमा जाने गरेको ?

नेपालबाट शिक्षाका लागि विद्यार्थीलाई विदेश पठाउन थालिएको इतिहास ५० वर्ष पुरानो भईसक्यो । विद्यार्थीहरुको बाहिरिने क्रम पनि बढ्दो छ । शुरुका वर्षमा गुणस्तरीय शिक्षाको लागि विदेश जाने अभ्यास थियो भने अहिले पढाईको साथै राम्रो अवसर र सुखद भविष्यको खोजिमा विदेश जाने अभ्यास छ ।

नेपालबाट विदार्थी जाने भनेको पढ्न नै हो र पढिसकेपछि राम्रो रोजगारीको अवसर भएर नै हो । नेपालमा राम्रो शिक्षा नभएर विदेश गएका होइनन् विद्यार्थी,  नेपालमा उपयुक्त सिटको व्यवस्था नभएर तथा पढाइपछि पनि राम्रो रोजगारीको अवसर सिर्जना नभएर विद्यार्थी बाहिर जान रुचाउँछन् । साथै, नेपालमा पढ्न इच्छाएको विषयहरु पढाई नहुने भएपछि पनि विद्यार्थीहरु ती विषय पढ्न विदेश जाने गरेका छन्। कोही विद्यार्थीहरु पढ्ने बाहानामा अन्यत्र काम पनि गर्ने गरेको पाइन्छ । विदेशमा काम गर्दै पढ्न पनि पाउने, काम गर्दा आम्दानी बढी हुने भएकोले उनीहरु विदेश गइरहेको पाइन्छ ।

नेपालमा पढ्न नपाइने मुख्य विषय कुन कुन हुन् ?

रकेट साइन्स तथा अन्य धेरै विषयहरु नेपालमा पढ्न पाईँदैनन् । पछिल्लो समय नेपालमा पढ्ने विषय नै नपाएर भन्दा पनि पढाईको साथै राम्रो अवसरको खोजीमा युवाहरु विकशित देशमा जाने गरेका छन् ।

वार्षिक कति विद्यार्थी पढ्नको लागि बिदेश जाने गरेका छन् ?

नेपालबाट वार्षिक करिव ३० हजारको हाराहारीमा विद्यार्थीहरु विदेश पढ्न जाने गरेका छन् ।

विदेश जानको लागि कति लाग्छ लगानी ?

पढ्नका लागि विदेश जाँदा देश अनुसार तथा विषय अनुसार फरक फरक लगानी लाग्ने गरेको छ । युरोपको जर्मनी, डेनमार्क जस्ता देशमा निःशुल्क शिक्षा सेवा भएको देशमा जाने हो भने त्यहाँको निती नियम अनुसार करिब १० लाखदेखि १२ लाख खर्च हुन्छ । त्यसैगरी, अस्ट्रेलिया, अमेरिका, न्युजियल्याण्ड लगाएतका देशमा जानको लागि करिब २० देखि २५ लाख रुपैयाँ खर्च हुन्छ ।

धेरै मात्रामा कुन कुन देश गएका छन विद्यार्थी ?

सबै भन्दा धेरै विद्यार्थी अस्ट्रेलियामा जान्छन् । अमेरिका दोस्रो स्थानमा पर्छ । त्यसैगरी जापान, युरोप लगायतका देशमा नेपाली विद्यार्थी जाने क्रम बढ्दो छ । गत आर्थिक वर्षमा जापानमा धेरै विद्यार्थी विदेश गएका छन् । गत वर्ष करिब ११ हजार विद्यार्थीले अस्ट्रेलियाको भिजा पाएका छन् भने जापानको लागि भिजा लाग्ने १० हजार थिए । त्यसैगरी, अमेरिकाको भिजा लाग्ने ३३ सयदेखि ३५ सयको हाराहारीमा थिए ।

नेपालीहरु पढ्न अष्ट्रिलिया, अमेरिका, यूरोपियन देशहरुमा जान्छन् , रोजगारीको लागि दुवई, कतार लगायत खाडी देशहरुमा जान्छन्, किन ?

दुवई, कतार, कुवेत, साउदी अरब लगायतका देशमा पनि शिक्षाको अवसर राम्रै रहेको छ । धेरै लगानी गरेर विकसित मुलुक जान नसक्ने विद्यार्थी खाडी मुलुक गएर पनि राम्रै प्रगति गरेको देख्न सकिन्छ ।

विदेशमा पढ्न गएर नेपाल फर्कने क्रम कस्तो छ ?

बिदेश पढ्न गएपनि पढाई सकेपछि नेपाल फर्कनै पर्ने देशमा भारत, चीन, बङ्लादेश, फिलिपीन्स लगायतका देशहरुबाट ९९ प्रतिशत नै विद्यार्थी नेपाल फर्कन्छन् । उक्त देशबाट आएर अन्य देश जान पाईन्छ तर त्यहीँ बस्न भने नमिल्ने हुन्छ । विद्यार्थीहरु विकसित मुलुक जस्तै अस्ट्रलिया, अमेरिका लगायतका मुलुक गएपछि फर्किने विद्यार्थीहरुमा १० देखि १५ प्रतिशत विद्यार्थीहरु मात्र भेटिएको छ ।

पढ्न जाने तर काम गर्ने विद्यार्थीले कमाएर नेपाल पैसा पठाउँछन कि पढाउँदैनन् ?

नेपालबाट पढ्न जानेले पठाएको पैसाको आँकडा गर्न सकिँदैन किनकी नेपाली विद्यार्थीहरु बिदेश जाने भनेको पढ्न मात्रै भएकाले बाँच्न र पढ्न पुग्ने पैसा मात्र कमाउँछन् । कानुनमा चलेर जम्मा ४ देखि ५ घण्टा काम गरेर पैसा पठाउँछन् भन्ने परिकल्पना गरिएको छैन ।

विद्यार्थीहरु पढ्न जाँदा नेपालबाट वर्षेनी अर्बौ रुपैयाँ विदेशिने गरेको समाचारहरु आईरहेको छन्, वार्षिक कति पैसा विदेशिन्छ ?

नेपालको तुलनामा अन्य देशको पैसा नै महंगो भएको हुनाले विद्यार्थीले धेरै पैसा बोक्न परेको हो । तर धेरै पैसा बोकेता पनि विद्यार्थीले पछि पढाई सकेर फिर्ता भने गर्न सक्ने निश्चित रहेको हुन्छ । विदेश पढ्न जाने विद्यार्थीबाट धेरै पैसा विदेशियो र अर्थतन्त्रलाई नै नकारात्मक असर परेको भन्ने भनाई सहि होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.