बैंक अफ काठमाण्डूको सीईओमा शोभनदेव पन्त नियुक्त, गत वर्षको नाफा १ अर्ब ३० करोड

  २०७४ साउन २० गते १०:२१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । उनले आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् ।

‘पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको छ । तर केही प्रक्रिया पुरा गर्न बाँकी भएकोले निर्णय सार्वजनिक गरिएको छैन’ बैंक सञ्चालक समितिका एक जना सदस्यले विकासन्युजसँग भने ।

पन्त यसअघि लुम्बिनी बैंकमा सीईओ थिए । वित्तीय रुपमा गम्भिर समस्यामा परेको लुम्बिनी बैंकमा उनी करिव १२ वर्ष कार्यकारी प्रमुखको भूमिका रहेका थिए र बैंकलाई स्वस्थ्य अवस्थामा फर्काएका थिए ।

५९ वर्षिय पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका पन्तले नविल, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकमा काम गरेको अनुभव छ ।

पन्तलाई वित्तीय क्षेत्रको बारेमा राम्रो जानकारी राख्ने, विश्लेषण गर्न सक्ने, संस्थागत सुशासनमा जोड दिने अनुभवी बैंकर्सको रुपमा उनलाई लिने गरिन्छ ।

‘बैंक ठूलो भएको छ । परिपक्व बैंकर्स हुनुहुन्छ । राष्ट्र बैंक, अन्य सरकारी निकायहरुसँग राम्रो सम्बन्ध छ । विदेशी निकायहरुसँग पनि राम्रो पहुँच छ’ एक जना सञ्चालकले नयाँ सीईओको सवल पक्षबारेमा–‘हाई इन्ट्रिग्रिटी भएको मान्छे, व्यक्तिगत स्वार्थ केही पनि छैन । उहाँको नेतृत्वमा बैंकले राम्रो गर्न सक्छ भन्ने विश्वास छ ।’

गत आर्थिक वर्षमा बैंकले करिव १ अर्ब ३० करोड नाफा गरेको उनले जानकारी दिए । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ छ । करिव ६० करोडको एफपीओ र बोनस सेयर निष्काशन गरी बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.