रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक

  २०७४ साउन ११ गते १२:१३     विकासन्युज

रोल्पा । विकासमा पछाडि परेको रोल्पामा शान्ति प्रक्रियासँगै विकास गतिविधिले तीव्रता पाएको भनिए पनि जिल्लामा अझै आधा दर्जन साविक गाविससम्म यातायातका साधन चल्दैनन् भने दुईवटा गाविस अझै सडक सञ्जालमा जोडिएका छैनन् । जिल्लामा ४८ किलोमिटर सडक मात्रै पक्की रहेको छ ।

जिल्ला सदरमुकाम लिवाङ–चकचके सडकखण्डको लिवाङ–खुग्री ३९ किलोमिटर, लिवाङ–सिमलवाङ सात किलोमिटर र होलेरी–स्वर्गद्धारी दुई किलोमिटरसमेत गरी ४८ किलोमिटर सडक मात्र पक्की रहेको छ ।

जिल्लामा निर्माण भएका सडक सञ्जालमध्ये करिब ५० प्रतिशत सडकमा मात्र यातायातका साधन चल्ने गरेका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म निर्माण भएका ५७३ किलोमिटर सडकमध्ये ३२७ किलोमिटर सडकमा मात्रै यातायातका साधन आवतजावत हुने गरेको जिल्ला समन्वय समिति रोल्पाले जानकारी दिएको छ ।

सडक सञ्जाललाई विकासको प्राथमिकतामा राखी काम गरिएको भएपनि निर्माण गरिएका सडकमध्ये करिब ५० प्रतिशत सडकमा मात्रै यातायातका साधन चल्ने गरेका छन । तीमध्ये वर्षात्को मौसममा समेत नियमित यातायातका साधन चल्ने सडक निकै कम रहेको बताइएको छ ।

निर्माण गरिएका अधिकांश सडकमा पुल नभएका कारण पनि यातायातका साधन नियमित चल्न नसकेको बताइएको छ । कतिपय सडकमा जनताको आवतजावत कम हुने भएका कारण पनि यातायात व्यवसायीले गाडी नचलाउँदा सडक प्रयोगमा आउन सकेका छैनन् ।

यसैगरी, वर्षात्को मौसममा झर्ने ठूलठूला पहिरोले समेत सडक सञ्चालनमा अवरोध पुर्याउने भएका कारण नियमित सञ्चालनमा आउने सडकको संख्या कम भएको हो ।

साविकमा ५१ गाविस रहेको रोल्पामा उवा र सेरमको गाविस भवनबाहेक अन्य सबै गाविस भवनसम्म सडक सञ्जाल जोडिएको भएपनि अझै करिब दुई दर्जनभन्दा बढी गाविस भवनसम्म यातायातका साधन चल्न नसकेको जिल्ला समन्वय समिति रोल्पाका सूचना अधिकृत रामकुमार न्यौपानेले जानकारी दिए । रासस
–––––––––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.