मुसाका छाउरा नछिर्ने दरबारमा २४ लाख नागरिकले पाइला टेके, राज्य कोषमा आयो २१ करोड

  २०७४ साउन १० गते १६:५३      भूमिका तिमल्सिना

काठमाडौं । “कस्ता–कस्ता कहाँ गए मुसाका छाउरा दरबार” भन्ने उखान नेपाली जनजिब्रोमा अझै लोकप्रिय छ । तर लोकतान्त्रिक गणतन्त्रले त्यहि दरबारमा सर्वसाधारणको सहज पहुँच स्थापित गरिदिएको छ । एक दशक अघिसम्म सर्वसाधारणका लागि सपनाको बिषय बन्ने नारायणहिटी दरबारमा आज नागरिक सहजै जान पाउँछन र घुम्न पाउँछन् । दशक अघिसमम्म नागरिकले दरबारभित्र पाइला टेक्न दशैंको टिका कुर्नै पर्ने दरबारमा अहिले दैनिक हजारौं नेपालीले निर्वाध अवलोकन गरिरहेका हुन्छन् । जसरी १० बर्षमा बागमति नदिमा धेरै पानी बग्यो ठिक त्यसरी नै कुनै समय नागरिकको स्वैर कल्पनामा सिमित नारायणहिटी दरबारमा जनताको ठुलै पंक्तिले अवलोकन गरिसकेको छ ।

बि.सं २०६५फागुन १६ गतेदेखि नागरिकका लागि एकादेशको कथाकै रुपमा रहेको नारायणहिटी दरबारलाई संग्रहालय बनाएर खुल्ला गरिएको थियो । ९ बर्षमा नारायणहिटी संग्रहालयको २४ लाख ९५ हजार ९ सय ५१ नागरीकले अवलोकन भ्रमण गरिसकेका छन् । र यो सबै लोकतान्त्रिक गाणतन्त्रले मात्रै सम्भव भएको हो । बि.सं २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको ६ वर्ष पछि वि.सं २०६५ सालबाट सर्वसाधारणको लागि खुल्ला गरिएको हो । उक्त संग्रालय सामान्य खालको संग्रहालय मात्र नभएर शाह वंशको घर पनि हो । अन्य संग्रहालय भन्दा बिलकुलै फरक किसिमको तथा धेरै तथ्य लुकेको संग्रहालय हो ।

नारायणहिटीमा प्रवेश गर्दा नेपालीहरुले १ सय रुपैयाँको टिकट काट्नु पर्छ भने विद्यार्थीहरुले २० रुपैयाँमा प्रवेश गर्न पाउने व्यवस्था छ । त्यसैगरी सार्क राष्ट्रका पर्यटकहरुले २ सय ५० रुपैंयाँ तिनुपर्ने हुन्छ भने अन्य राष्ट्रका नागरिकले ५ सय रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, ३ वर्ष मुनिका बालबालीकालाई भने निःशुल्क प्रवेशको सुबिधा छ । संग्रहालयमा जान पाउने कल्पना पनि गर्न नसकिने पहिलाको अवस्थालाई पार गर्दै अहिले संग्रहालयमा प्रवेश गर्न पाउने व्यवस्था आउँदा अचम्म पनि लाग्ने गरेको बताउँछन् अवलोकनकर्ता ।

नारायणहिटी दरबारमा ५२ वटा कोठा भएता पनि सर्वसाधारणको लागी १९ वटा कोठा मात्र खुल्ला गरिएको छ । त्यस बाहेक बगैँचा र त्रिभुवन सदनको अतिरिक्त अवलोकन पनि गर्न पाइन्छ । संग्रहालयमा जिल्लाको नाम अनुसार कोठाको वर्णन गरिएको छ ।तत्कालिन राजपरिवार सदस्यहरुले मन पराएका जिल्ला र ठाउँहरुका आधारमा कोठाहरुको नामाकरण गरिएको थियो र हाल पनि सोही अनुसारको व्यस्था कायम छ । नेपालको तत्कालिन राज परिवारको जीवनशैली तथा रहनसहनको बारेमा बुझ्न पनि नारायणहिटी संग्रहालयको भ्रमण अनिवार्य हुन आउँछ ।

दरबारको कोठाहरु निकै नै आकर्षक ढङ्गले सजाइएता पनि भत्किएका पुर्वाधारहरु भने बनाउन सरकारले पैसा खर्च गर्न नसकेको बताउँछन् नारायणहिटी संग्रहालयका उपसचिव रोहित कुमार ढुङ्गाना । उनको भनाई अनुसार भवन निर्माण गर्न सुरु गरेको धेरै समय बित्दा पनि निर्माण कार्य अधुरै रहेको छ ।

नारायणहिटी दरबार संग्रहालयमा अवलोकनकर्ता बढ्नुको साथै देशको आर्थिक अवस्थामा पनि सुधार आएको देख्न सकिन्छ तर रकमको परिचालन भने निर्माण कार्यमा लगानी हुन सकेको देखिँदैन । उक्त संग्रहालयमा टिकट बिक्रीबाट २० करोड ९९ लाख २८ हजार ९ सय ९० रुपैयाँ बराबरको रकम उठ्ने गरेको छ भने पार्कीङ्गबाट १३ लाख ४८ हजार ३ सय ३० रुपैँया उठ्ने गरेको छ । वि.सं २०६६ साल देखि देखि २०७३ असार मसान्तसम्ममा जम्मा रकम २१ करोड १२ लाख ७७ हजार ३ सय २० रुपैयाँ उठिसकेकोे देखिन्छ ।

दरबारमा खुल्ला गरिएको सि.सं २०६५ सालको समय देखि वि.सं २०७४ असार मसन्तसम्ममा अन्य मुलुकका पर्यटक ५८ हजार ९ सय ६७ , सार्क मुलुकका दर्शक १ लाख ४२ हजार ३ सय ६३ रहेका छन् त्यसै गरी नेपाली सर्वसाधारण २२ लाख ९४ हजार ६ सय २१ ले अवलोकन गरेका छन् । कसैले कल्पना नै नगरेको दरबार छिर्न पाउँदा सर्वसाधारण दंग छन् । पहिलाको समयमा दशैँमा मात्र राजाको हातबाट टीका थाप्न जान पाइने दरबारमा अहिले जुनसुकै समयमा पनि सबै मानिस भित्र छिरेर घुम्न पाउँदा आफुलाई गौरवाम्वित महसुस गरेको सर्वसाधारण बताउँछन् ।

राजाको पालाका पुर्व सई शिवहरी कार्कीले अवलोकनको क्रममा संग्रहालयका वस्तुहरु हराउँदै गएको बताए । जसमा बाघको जुँगा, गैँडा, माछा, बाघको नङ्ग्राहरु तथा बङ्गाराहरु हराएको बताएका छन् । त्यसैगरी, नारायणहिटी भारतका नागरिक भवेस कुमारले नारायणहिटी दरबारको संग्रहालय हेर्दा राज परिवारको शयन कक्ष, बैठक कोठा लगायतका कोठाहरु देख्न पाउँदा खुसि व्यक्त गरे । त्यसैगरी राजदरबारका पुर्व सिपाही जीत बहादुर चौँलागाईले दरबार फोहोर बन्दै गएको हुनाले सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।

एक जुगमा एक दिन आएको परिवर्तनले नारायणहिटी दरबारमा जनताको सहज पहुँच स्थापित गरिदिएको हो । अब यसको यथोचित संरक्षण गरेर इतिहास बताउने र अर्थोेपार्जनका लागि पनि उत्तम विकल्पका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता देखिन्छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.