ल्यान्डलाइनमै ब्रोडब्यान्ड इन्टरनेट र टेलिभिजन, फोन बहुउपयोगि बन्दै

  २०७४ साउन १० गते ७:४९     विकासन्युज

काठमाडौं । कुराकानीका लागि मात्रै प्रयोग हुँदै आएको नेपाल टेलिकमको ल्यान्डलाइन फोनबाटै अब ब्रोडब्यान्ड इन्टरनेट प्रयोग पनि गर्न सकिने भएको छ। टेलिकमले पुरानो प्रविधिको पब्लिक स्विच्ड टेलिफोन नेटवर्क (पीएसटीएन) टेलिफोनको गुणस्तर अभिवृद्धि गर्ने योजनाअन्तर्गत पुराना उपकरणलाई इन्टरनेट प्रोटोकल (आईपी) प्रविधिले विस्थापित गर्न लागेको हो। यससँगै ल्यान्डलाइन फोनको तारबाटै इन्टरनेट ब्यान्डविथ पनि पठाउन सकिने व्यवस्था टेलिकमले गर्नेछ।

टेलिकमले २५ वर्षअघिदेखि प्रयोगमा ल्याएको डिजिटल स्विचिङ उपकरणको ठाउँमा आईपी प्रविधिले प्रतिस्थापन गरेर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बढाउन लागेको हो।

ल्यान्डलाइनमा टेलिफोनमा प्रयोग भइरहेको कपर तारलाई पनि फाइबरले विस्थापन गर्दैछौँ, टेलिकमका प्रवक्ता सोभन अधिकारीले भने। ब्रोडब्यान्ड इन्टरनेट प्रवाहका लागि फाइबर उपयुक्त मानिन्छ।

टेलिकमको नयाँ योजनाअनुसार आईपी लाइनबाटै एडीएसएल इन्टरनेट प्रयोगकर्ताले पनि सहजै यसको प्रयोग गर्न सक्नेछन्। यसै योजनाअन्तर्गत टेलिकमले पहिलो पटक गत असार २३ गते ग्वार्कोस्थित ललितपुर एक्सचेञ्जमा पुराना स्विचिङ उपकरणलाई आईपीमा आधारित उपकरणले विस्थापन पनि गरिसकेको छ।

टेलिकमले पहिलो चरणमा आगामी दुई महिनाभित्र एक लाख ३४ हजार पुराना स्विचिङ उपकरणलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ। त्यस्तै यसै आर्थिक वर्षभित्र चार लाख उपकरण आईपी प्रविधिमा रूपान्तरण गर्ने योजनामा रहेको टेलिकमले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशभर टेलिकमका ६ लाख ८० हजार पीएसटीएन ग्राहक रहेका छन्। आईपी प्रविधिमा रूपान्तरण भएपछि ग्राहकले आफ्नो आवश्यकताअनुसारको ब्यान्डविथमा इन्टरनेट प्रयोग गर्न सक्छन्, सहप्रवक्ता अधिकारीले भने। आईपीमा रूपान्तरण भएपछि विशेषगरी ल्यान्डलाइनको भ्वाइस र डाटाको गुणस्तरमा व्यापक सुधार आउने उनले जानकारी दिए।

ल्यान्डलाइनबाटै टेलिभिजन

लक्ष्यअनुसार टेलिकमले सबै आईपीमा रूपान्तरण भइसकेपछि ल्यान्डलाइन फोनबाटै अतिरिक्त सुविधा (भ्यालु एडेड सर्भिस) पनि ग्राहकलाई उपलब्ध गराउने जनाएको छ। समयअनुसार ल्यान्डलाइन फोनको उपयोगितालाई बढाउन नयाँ किसिमका सुविधा थप गर्न लागेको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्। उनका अनुसार ल्यान्डलाइनलाई नयाँ प्रविधिमा रूपान्तरण गरिसकेपछि इन्टरनेटमा आधारित टेलिभिजन (आईपी टीभी) को सुविधा ग्राहकले प्राप्त गर्न सक्नेछन्। अहिले पनि नेपालमा केही इन्टरनेट सेवा प्रदायकले आएपीटीभी सञ्चालनमा ल्याएका छन्।

आईपी टेलिभिजन प्रयोगकर्ताले छुट्टै केवल अथवा डिजिटल च्यानल प्रसारकको सुविधा लिनुपर्दैन। त्यस्तै ग्राहकको मागअनुसारका भिडियो प्रसारण गर्न सकिने (भिडियो अन डिमान्ड) सुविधा पनि आईपीमा आधारित ल्यान्डलाइनबाट उपलब्ध गराइने उनले जानकारी दिइन्।

वेबसाइटबाटै टेलिकमको डाटा प्याकेज

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि उपलब्ध गराएका डाटा प्याकेज कम्पनीको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ। टेलिकमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वेबसाइटमा जीएसएम वा सीडीएमका डाटा प्याकेज छनोट गरेर आफ्नो मोबाइल नम्बर र पीपीयूके नम्बर राख्नुपर्छ। यस्तो नम्बर १४१५ मा एसएमएस गरेर जानकारी लिन सकिने टेलिकमले जनाएको छ। वेबसाइटमा आवश्यक विवरण राखेर बाई डाटा प्याक क्लिक गरेपछि उक्त डाटा मोबाइलमा प्राप्त हुनेछ। गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.