बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीलाई ठूला प्रोजेक्टमा रोक, सरुवा पनि नपाउने

  २०७४ असार २८ गते १६:५७     विकासन्युज

काठमाडौं । आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीले ठूला परियोजनाको नेतृत्व गर्न नपाउने भएका छन् । महालेखा परिक्षकको कार्यालयले बेरुजु फछ्र्याेट नगर्ने कर्मचारीहरुलाई एक अर्ब भन्दा ठूला लगानीको प्रोजेक्टमा जान रोक लगाउने तयारी थालेको हो ।‘एक अर्ब भन्दा ठूला परियोजना हेर्ने कर्मचारीको बेरुजु फछ्र्याेटको फाइल हेर्ने निर्णय भएको छ, आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगरेको फेला परेमा ठूला प्रोजेक्टको नेतृत्व गर्न दिँदैनौं’, महालेखा परिक्षक टंकमणी शर्माले भने ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परिक्षक शर्माले आफ्नो कार्यकालको बेरुजु फछ्र्याेट नगरी अर्काे कार्यालयमा सरुवा समेत हुन नदिने घोषणा गरेका हुन् । ‘अरबौं बेरुजु बनाएर खुसुक्क अर्काे निकायमा सरुवा भएर जान मिल्दैन, अब कसैले छुट पाउँदैन’, शर्माले भने । उनले अब संस्थाको नभएर व्यक्तिको बेरुजु हेर्ने पनि स्पष्ट पारे । ‘अहिलेसम्म फलानो कार्यालयको बेरुजु फलानो बर्षमा यति रहेछ भनेर हेर्दै आएका थियौं तर अब फलानो कार्यालयमा फलानो हाकिम हुँदाको बेरुजु यति छ भनेर रिपोर्ट तयार पार्छाै’, शर्माले भने ।

उनले पछिल्लो १० बर्षको बेरुजुको रिपोर्ट तयार पार्ने र त्यसमा को को व्यक्तिका नाममा धेरै देखिन्छ सो व्यक्तिहरुको विवरण सार्वजनिक गर्ने पनि बताए ।

उनले महत्वपुर्ण जिम्मेवारी दिनुअघि कर्मचारीको वित्तिय अनुशासन र बेरुजुको फाइल अध्ययनलाई अनिवार्य बनाउने पनि स्पष्ट पारेका छन् । उनले लेखा परिक्षणका क्रममा अब खर्चको पारदर्शितासँगै उपलब्धि पनि खोजिने बताए । ‘अहिलेसम्म खर्च ठिकसँग भयो की भएन, विल भरपाई ठिक छ की छैन भनेर हेर्दै आएका थियौं तर अब खर्चसँगै उपलब्धी भयो की भएन भनेर पनि हेर्छाै’, शर्माले भने ।

बैठकमा सांसदहरुले बेरुजु फछ्र्याेटको कामलाई द्रुतगतिमा अघि बढाउनुपर्ने धारणा राखेका थिए । बैठकले बेरुजु फछ्र्याेट कार्ययोजना बनाउन महालेखा परिक्षकको कार्यालयलाई निर्देशन पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.