विरामीलाई पीडा, आफन्तलाई आर्थिक सकस, रोग पत्ता लगाउदै सकियो ८ लाख

  २०७४ असार १३ गते ७:४५     विकासन्युज

काठमाडौं । परिवारले मर्न लागे भनेर दशदान वैतरणी गरिसकेका थिए । बाँच्ने आश भने उनमा अझै जीवितै थियो ।

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको डायलोसिस गर्ने बेडमा सुतिरहेकी ओखलढुंगाकी ५२ वर्षीया पोकलकुमारी दाहालको अझै पनि बाँच्ने रहर छ ।

नाति नातिना खेलाउने पनि रहर छ । अस्पतालले सम्पूर्ण उपचार खर्च बेहोरे पनि काठमाडौंमा दाल भात तरकारी खाएर बस्न र दुईछाक टार्नकै लागि र आफूसँग हातमा सिप नभएका कारण अस्प्तालभित्रकै क्यान्टिनमा श्रीमान् ग्याँस पानी बोक्ने काम गर्न थालेका छन् ।

दाहाल परिवार कृषिलाई व्यवसाय मानेर जीवन चलाइरहेका थिए । हात मुख जोड्न कुनै समस्या थिएन । चार वर्ष अगाडि दाहालको शरीरमा अनौठो लक्षण देखा प¥यो । खाना नरुच्ने, वाकवाकी लाग्ने । अचानक यस्तो लक्षण देखा परेपछि उपचार गर्न ओखलढुंगाको मिसन अस्पताल लगियो । ‘त्यहाँ रोग नै पत्ता लागेन त्यसपछि उहाँ (श्रीमानले) धरान लैजानुभयो,’ मलिन स्वरमा उनले भनिन्, ‘धरानको औषधि ६ महिनासम्म खाँदा पनि व्यथा बिसको उन्नाइस भएन ।’

अस्पतालको औषधिले नछोएपछि दमकका स्थानीयकै सल्लाहमा २० हजारसम्मको जडिबुटी खाएर व्यथासँग लड्ने प्रयास गरिन् दाहालाई त्यसले पनि निको भएन ।

कहीं कतै उपचार गराउँदा पनि सञ्चो नभएपछि श्रीमान्ले उपचारका लागि काठमाडौं ल्याइपु¥याए उनलाई । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दुवै मिर्गौलाले काम गर्न छाडेको बताए । अब उपचारका लागि कहाँ पु¥याउने पैसा पनि साथमा धेरै थिएन ।

श्रीमान्ले उनलाई भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा पु¥याए । अस्पतालकै तथ्यांक हेर्ने हो भने पनि यहाँ दिनमा करिब ३ सय बिरामी आउने गर्छन् । अस्पतालमा एक सातामा तीनदेखि आठजनासम्मको मिगौला प्रत्यारोपण गरिन्छ ।

स्थापना कालदेखि २०७४ जेठ सम्मको तथ्यांक हेर्ने हो भने ३ सय ८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला प्रत्यारोपणको लाइनमा रहेका मानिसहरू १००औं छन् । अमेरिकामा पीआर पाएर बसेका र उतै डायलोसिस गरेका मिर्गौलापीडित दीपक शर्मा अस्पतालको उपचार पद्धतिप्रति प्रभावित भएर नेपाल आएको बताउँछन् सोही लाइनमा छिन् दाहाल पनि । कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ तथा कार्यकारी निर्देशक डां पुस्करचन्द्र श्रेष्ठका अनुसार एउटा मिर्गौला प्रत्यारोपणका लागि ४ लाख ५० हजार रुपैयाँ लाग्छ । प्रत्यारोपणपश्चात् १ लाख औषधि खर्च लाग्छ । अस्पतालमा दिनमा १०० देखि १ सय २० जनासम्मको डायलोसिस हुँदै आएको । सरकारले डायलोसिस सित्तैमा गर्ने व्यवस्था गरेको छ । राजधानी दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.