८८ वर्ष नाघेका नागरिकलाई भत्ता १२ हजार रुपैयाँ दिने महानगरपालिकाको निर्णय, बढेको भत्ता यसै वर्षदेखि वितरण गरिने

  २०७४ असार ६ गते २१:३५     विकासन्युज

काठमाडौं। काठमाडौँ महानगर कार्यपालिकाको आजको बैठकले ८८ वर्ष उमेर पुगेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप भत्ता रकममा वृद्धि गरी रु १२ हजार दिने निर्णय गरेको छ । यसअघि वार्षिक रु १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएको थियो । महानगरको कार्यपालिकाले वार्षिक २ हजार भत्ता वृद्धि गरेको हो । त्यसबाहेक महानगरबासीले केन्द्रीय सरकारले दिने वार्षिक २४ हजार भत्ता पनि पाउने छन् । महानगरका जेष्ठ नागरिकले अव वार्षिक ३६ हजार रुयैयाँ वृद्धि भत्ता पाउने भएका छन ।

बैठकले आर्थिक वर्षभित्र विकासको काम सुरु गर्ने गरी सबै वडा कार्यलयमा रु २५ लाख बजेट दिने, दुई महिनाभित्र महानगरपालिकाको सङ्गठन सर्वेक्षण गरी दरबन्दी र कार्यविवरणसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको बैठकपछि प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

बैठकले नगर क्षेत्रमा साविकदेखि सञ्चालनमा आएका भाडाका ट्याक्सी मिटरमा गुड्नुपर्ने कानुनी व्यवस्थाको अनिवार्य पालना गराउने, ट्याक्सी पुराना भएको भनी प्राप्त जनगुनासोलाई दृष्टिगत गरी उक्त विषयमा सम्बद्ध यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक प्रहरी महाशाखा समेतलाई कडा नियमन गर्न अनुरोध गर्ने साथै महानगपालिकाको सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

अबका दिनमा महानगरभित्र पुनःनिर्माणको कार्य गर्दा पुरातात्विक सम्पदालाई प्राथामिकता दिने प्रमुख शाक्यले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.