बैंक तथा वित्तीय क्षेत्रको कुल लगानी १९ खर्ब ५८ अर्ब, एक वर्षमै बढ्यो तीन खर्ब ३७ अर्ब

  २०७४ जेठ २६ गते १०:०३     विकासन्युज

काडमाडौं । देशमा राजनीतिक वातावरणमा केही सुधार हुन थालेपछि पूँजी चलायमान हुँदा बैंक तथा वित्तीय क्षैत्रको लगानी बढ्न थालेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा १९ अर्ब ५८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

गएको वर्षको वैशाखसम्म उक्त लगानी १५ खर्ब ८० अर्ब ६८ करोडमात्र रुपैयाँ मात्र थियो । एक वर्षको यस अवधिमा तीन खर्ब ३७ अर्ब ८८ करोडले लगानी बढेको छ । गएको वर्षको अन्त्य असारमसान्तसम्ममा बैंक तथा वित्तीय क्षेत्रको लगानी १६ खर्ब ८१ अर्ब ८५ करोड रहेको थियो ।

एक वर्षको अवधिमा कृषि क्षेत्रको लागनी एक अर्ब ३२ करोड रुपैयाँले बढेर ८७ अर्ब २७ करोड पुगेको छ । गएको वर्षको वेशाखसम्म  कृषि क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७४ अर्ब दुई करोड पुगेको छ । कृषि क्षेत्रअन्तर्गत पुशपालनमा सबैभन्दा बढी लगानी भएको क्षेत्र हो भने सबैभन्दा कम लगानी चिया खेती तथा चिया प्रशोधन केन्द्रमा भएको छ । चालु आवको वैशाखसम्म पशुपालनमा ३१ अर्ब ८५करोड लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ । व्यवसायिक कृषि सेवामा ११ अर्ब ६९ करोड लगानी भएको छ भने चियामा ३ अर्ब ४८ करोड लगानी भएको छ ।

यस वर्षको दश महिनासम्म उत्पादनमूलक क्षेत्रमा विभिन्न २३ उपक्षेत्रमा तीन खर्ब ३२ अर्ब ८३ करोड लगानी भएको छ । हाल भएको लगानी गएको वर्षको सोही अवधिको भन्दा ४५ अर्ब ४५ करोडले बढी हो । गएको वर्षको वैशाखसम्म यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कुल लगानी दुई खर्ब ८७ अर्ब ३८ करोड रहेको थियो । उक्तक्षेत्रभित्रको  खाद्य प्रशोधन तथा प्याकेजिङ क्षेत्रमा सबैभन्दा बढी ६७ अर्ब ४३ करोड लगानी भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । बढी लागनीको दोस्रो स्थान सिमेन्ट उत्पादनले लिएको छ । बढ्दो लगानीका कारण अब देश छिट्टै सिमेन्टमा आत्म निर्भर पनि बन्दै छ । उत्पादनमूलक क्षेत्रको हातेकागज तथा अन्य काजगका क्षेत्रमा पाँच अर्ब ८६ करोड लगानी भएको छ ।

पूर्वाधार निर्माण क्षेत्रमा चालू आवको १० महिनासम्म दुई खर्ब १६ अर्ब ५० करोड लागनी भएको छ । गएको वर्षको यसै अवधिमा यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कुल लगानी एक खर्ब ७१ अर्ब ६८ करोडमात्र थियो । गएको वर्षको अन्त्यसम्म भने सो लगानी बढेर एक खर्ब ८२ अर्ब ८७ करोड पुगेको थियो । पूर्वाधार क्षेत्रका तीन उपक्षेत्र आवास, गैर आवास तथा ठूला पूवार्धार (पुल, सडक) बैंक तथा वित्तीय क्षेत्रले लगानी गर्दै आएको छ । सो उपक्षेत्रमध्ये आवासमात्रै एक खर्ब ७६ अर्ब ३८ करोड लगानी भएको छ भने ठूला पूर्वाधार क्षेत्रमा १९ अर्ब ६० करोड र गैर आवासमा साढे एक अर्ब लगानी भएको छ ।

यस वाहेका अन्य क्षेत्रमा पनि पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्लै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X