धितोपत्र बोर्डको नियमन क्षमता माथि गभर्नरको प्रश्न, राजश्व सचिवले भने-बोर्डले स्वायत्तताको उपयोगै गरेन

  २०७४ जेठ २५ गते १४:३७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको नियमन क्षमतामाथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले प्रश्न उठाएका छन् । बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर डा. नेपालले  धितोपत्र बोर्ड बलियो नियामक निकायका रुपमा स्थापित हुन नसकेको टिप्पणी गरेका हुन् ।

बोर्डले पूँजी बजारका बारेमा लगानी कर्तालाई राम्रो जानकारी दिन नसकेको, पुँजी बजारमा अस्थिरता नटुंगिएको, लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने अवस्था नबनेको लगायतका आरोप समेत उनले लगाए ।

‘पुँजी बजारले ठिक गति समाएन्, लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने वातावरण पनि बनेको छैन । म बोर्डको पूर्व अध्यक्ष हुँ, राम्रो काम भए खुसी लाग्थ्यो ’, गभर्नर डा. नेपालले भने । उनले केन्द्रिय बैंक र बोर्डको सम्बन्ध सुधार र समन्वयका लागि आफू सधैं तयार रहेको पनि बताएका थिए ।

गभर्नर डा. नेपालले नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर बेच्ने बताउँदै त्यसमा संस्थागत लगानी कर्तालाई खरिदको अवसर दिने पनि बताए । ‘नेप्सेमा रहेको हाम्रो सेयर बेच्छौं तर त्यो व्यक्तिलाई नभएर संस्थालाई हुनेछ’, डा. नेपालले भने ।

उनले आफू बोर्डको अध्यक्ष हुँदा सार्क क्षेत्रमा पुँजी बजारको कारोबार गराउन क्रस बोर्डर लिस्टङको अवधारणाबारे छलफल चलाएको तर अहिले त्यो रोकिएकोमा पनि चिन्ता व्यक्त गरे । विश्वकै पाँचौं ठूलो पुँजी बजार भारतमा रहेको तर नेपालले त्यसबाट कुनै लाभ लिन नसक्नु दुःखद पक्ष भएको पनि उनको भनाई थियो ।

धिताेपत्र बोर्डको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजश्व सचिव राजन खनालले नेपाल धितोपत्र बोर्डले पूँजी बजारको उपयुक्त नियमन गर्न नसकेको बताए । बोर्डलाई ऐनले स्वायत्तता दिएको तर त्यसको उपयोग गर्न बोर्ड असफल भएको पनि उनको भनाई थियो । ‘नियामक निकायका रुपमा बोर्डलाई कानुनले नै स्वायत्ता दिएको छ । आफैं काम गर्नुस हामी हस्तक्षेप गर्दैनौं । तपाईहरुले काम नगरेकाले मात्रै हामीले हस्ताक्षेप गरेका हौं’, खनालले भने ।

उनले पुँजी बजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउन नसकेको भन्दै बोर्डको आलोचना पनि गरेका थिए । कार्यक्रममा नव नियुक्त अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुँजी बजारलाई मन्त्रालयले सकारात्मक रुपले लिएको र बोर्डको पूर्वाधार विकासमा सहयोग गर्ने बताएका थिए ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पुँजी बजारलाई आधुनिक बनाउन लागिपरेको बताएका थिए । ७५ वटै जिल्लामा प्राथमिकता बजारको विस्तार, आश्वा अनिवार्य, वास्तविक क्षेत्रलाई पुँजी बजारमा आकर्षित गर्ने अभियान लगायतका काम गरेको बताएका थिए ।

बोर्डका संस्थापक अध्यक्ष डम्बर ढुंगेलले पुँजी बजारबारे नागरिकमा चासो बढेको तर त्यो पर्याप्त नभएको बताए ।

उनले आफ्नो समयमा समान हराउनेले सेक्युरिटी माग्दै सम्पर्क गरेको कथा सुनाउँदै भने–उतिबेला सेक्युरिटी भनेको सुरक्षा थियो अहिले पुँजी बजारका रुपमा स्थापित भएको छ तर यो पर्याप्त भने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.