बैकिङ पहुँचमा वयष्क मात्रै ९८ प्रतिशत, हजार जना वयष्कमध्ये ९८३ को बैंक खाता

  २०७४ जेठ २३ गते ८:१५     विकासन्युज

काठमाडौं । मुलुकका करिब ९८ प्रतिशत वयष्कको बैंक खाता रहेको सरकारी तथ्यांकले देखाएको छ । अझै पनि अधिकांश ग्रामीण भेगमा वित्तीय पहुँच (बैंकिङ सेवा) पुर्‍याउन नसकेको आरोप लागिरहेको समयमा सरकारको यस्तो तथ्यांक बाहिर आएको हो ।

गत आइतबार सार्वजनिक आर्थिक वर्ष ०७३/७४ को आर्थिक सर्वेक्षणमा प्रति एक हजार वयष्क जनसंख्यामा ९ सय ८३ जनाको बैंक खाता रहेको उल्लेख छ । यो करिब ९८‍.३ प्रतिशत हुन आउँछ । यसको अर्थ वयष्क जनसंख्याको ९८ प्रतिशतकै बैंक खाता छ भन्ने नभएको सरकारी अधिकारीहरू बताउँछन् ।

हाल एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्छन् र खोलेका पनि छन् । यसकारण बैंक खाताको संख्या बढी भएको अर्थ मन्त्रालयको भनाइ छ ।

यसरी खुलेका बैंक खातालाई वयष्कको संख्यासँग अनुपात निकाल्दा करिब ९८ प्रतिशतको बैंक खाता रहेको देखिन्छ ।

तथ्यांकमा अधिकांश वयष्कको बैंक खाता रहेको देखिए पनि वास्तविक रूपमा त्यसो नभएको आर्थिक सर्वेक्षण लेखनमा संलग्न अर्थ मन्त्रालयका सहसचिव लक्ष्मण अर्यालले बताए ।

‘हामीले तथ्यांकले देखाएको कुरा बाहिर ल्याएका हौं,’ उनले भने, ‘एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्ने भएकाले त्यस्तो देखिएको हुन सक्छ ।’ यथार्थमा वित्तीय पहुँच र वित्तीय साक्षरतामा मुलुक निकै पछि रहेको उनले बताए । उनले भने, ‘वित्तीय पहुँच र साक्षरतामा मुलुकको अवस्था दर्दनाक छ, ती सूचकमा सुधार गर्न ठूलै पहल आवश्यक छ ।’

सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्था सहर केन्द्रित भएकै कारण ग्रामीण भेगमा अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार हुन सकेको छैन । सहर बजारमा वित्तीय संस्थाहरूले एटीएमलगायत विभिन्न किसिमका आधुनिक बैंकिङ सेवाहरू प्रदान गरिरहेका छन् । यसकारण बैंक तथा वित्तीय संस्थामा युवाहरूको खाता संख्या धेरै देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए ।

‘एटीएमलगायत अन्य आधुनिक बैंकिङले युवाहरूलाई आकर्षित गरेको देखिन्छ,’ उनले भने, ‘रेमिट्यान्स प्राप्ति र बैंकिङ बानीको विकासले पनि बैंक खाताको संख्या बढेको हुन सक्छ ।’

पछिल्ला वर्षहरूमा मोफसलका सहरी केन्द्रहरूमा शाखा खोल्ने क्रम बढेकाले वयष्कहरू बैंकिङ कारोबारमा आकर्षित भएको उनले जनाए ।

बहुबैकिङ लगायत कारण निक्षेप खाता संख्या धेरै देखिएपनि वित्तीय पहुँच र समावेशी वित्तीय विकासका हिसाबले मुलुक निकै पछि रहेको थापाको भनाइ छ ।

सर्वेक्षणमा वयष्क जनसंख्या भन्नाले १६ वर्ष देखि ६४ वर्ष सम्मका नागरिकलाई समेटिएको छ । आर्थिक वर्ष ०७३र७४ मा मुलुकको कुल जनसंख्या २ करोड ८८ लाख २५ हजार ७ सय ९ रहने केन्द्रीय तथ्यांक विभागको अनुमान छ ।

उक्त जनसंख्यामध्ये वयष्कको हिस्सा ६४।२५ प्रतिशत रहेको विभागको तथ्यांक छ । यसका आधारमा आर्थिक वर्ष ०७३/७४ मा वयष्क जनसंख्या १ करोड ८५ लाख २० हजार ५ सय १८ जना रहने देखिन्छ ।

उक्त जनसंख्यालाई आधार मानेर प्रति एक हजार वयष्कमा ९ सय ८३ जनाको बैंक खाता रहेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक वर्ष ०७२र७३ मा प्रति एकहजार जनसंख्या बराबर ९ सय २९ वटा बैंक खाता थियो ।

मुलुकमा करिब ४० प्रतिशत जनसंख्याले मात्र औपचारिक बैकिङ सुविधा पाउँदै आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । सहकारीलगायत अन्य संघसंस्थाबाट २१ प्रतिशतले सेवा लिएका छन् ।

बाँकी ३९ प्रतिशतमा औपचारिक रूपमा कुनै पनि वित्तीय पहुँच नपुगेको अध्ययनले देखाएको छ । तर, वयष्कहरूमा वित्तीय पहुँचको अवस्था हेर्दा तुलनात्मक रूपमा राम्रो देखिएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण लेखनमा संलग्न राष्ट्र बैंकका उप निर्देशन बिरेन्द्र बुढाले बताए ।

विश्वका विकसित राष्ट्रहरूको तुलनामा नेपाली वयष्कहरूमा वित्तीय पहुँचको अवस्था कम भएपनि मध्यम आय भएका, अतिकम आय भएका र दक्षिण एसियाका अन्य राष्ट्रहरूको तुलनामा बढी रहेको उनले बताए ।

विश्व बैकको अनुसार सन् २०१६ मा युरोपियन राष्ट्रहरूमा प्रति एक हजार वयष्कमा १ हजार ३ सय ५७, उच्च आय भएका राष्ट्रहरूमा प्रति एक हजारमा १ हजार ८१, मध्यम आय भएका राष्ट्रमा ६ सय ४८ र अतिकम आय भएका राष्ट्रहरूमा ८८ वटा बैंक खाता रहेका छन ।

सोही अवधिमा दक्षिण एसियाका अन्य राष्ट्रहरूमा प्रति एक हजारमा वयष्कमा ४ सय ४३ बैंक खाता रहेको विश्बैकको तथ्यांक छ । वयष्क जनसंख्यामा निक्षेप खाता, एटिएम र बैंक शाखालाई वित्तीय पहुँच विस्तारमा प्रमुख परिसूचकका रूपमा लिइन्छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.