कुमारी बैंकको सेयर ३०८ रुपैयाँ हाल्नेले पाए, ३०७ कबोल गर्नेलाई बराबर

  २०७४ जेठ २२ गते १८:१७     विकासन्युज

काठमाडौं । कुमारी बैंकले बोलकबोलमा बिक्री आह्वान गरेको सेयरमा प्रतिकित्ता ३०८ रुपैयाँसम्म कबोल गर्नेले पाउने भएका छन् । प्रतिकित्ता ३०७ रुपैयाँ कबोल गर्नेहरुले माग अनुसार बराबर पाउने गरी कटअफ भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले जानकारी दिए ।

बैंकले दुई महिनाअघि हकप्रद सेयर निष्काशन गरेकोमा माग नभएको २ लाख ८० हजार कित्ता सेयर बोलकबोलका माध्यमबाट बिक्री आह्वान गरेको थियो । अधिकांश आवेदकले प्रतिकित्ता ३०९/३१० मूल्यमा किन्न आवेदन गरेका छन् । बोलकबोल आवेदन बुझाउने अन्तिम दिन बजारमा प्रतिकित्ता ३२२ रुपैयाँमा कारोबार भएको थियो । टेण्डर खुलेको दिन प्रतिकित्ता ८ रुपैयाँले वृद्धि भई ३३० रुपैयाँमा कारोबार भएको छ ।

उक्त सेयरको लागि केही आवेदकले प्रतिकित्ता ४०० रुपैयाँ हालेका छन् भने घटीमा २६५ रुपैयाँको कबोल भएको उनले जानकारी दिए । प्रमोटरतर्फ लिलाममा राखिएको ८६ हजार कित्ता सेयर पनि सबै बिक्री भएको छ । प्रमोटरतर्फ प्रतिकित्ता १०७ रुपैयाँ कबोल गर्नेले पाएका छन् । प्रमोटरतर्फको अधिकांश सेयरका लागि प्रतिकित्ता १४०/१४१  रुपैयाँ बिक्री भएको उनले बताए ।

पछिल्लो समय बोलकबोलका माध्यमबाट बिक्री आह्वान भएको सेयरको माग उच्च रहेको र बजार मूल्यको हाराहारी मूल्यमा माग आवेदन पर्न थालेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.