नेपालीका रगतमा १७ अर्ब ४१ करोडको विदेशी औषधी, ८२.५९ प्रतिशत भारतीय मात्रै

  २०७४ जेठ १० गते १७:०८     नारायण पौडेल

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बैशाख २९ गते मात्रै नेपालमै उत्पादन हुने ३० भन्दा बढि प्रकारका औषधी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा गठन भएको अध्ययन समितिको प्रतिवेदन अनुसार स्वास्थ्य मन्त्री गगन थापाले ३० वटा औषधीको आयात रोक्ने निर्णय गरेका थिए ।

सो अध्ययनका अनुसार हाल नेपालका औषधी उद्योगहरुले ३० वटा औषधीहरु मूल्य, गुणस्तर र परिमाणमै आत्मनिर्भर बन्न सक्ने अवस्थामा पुगेको निष्कर्षसहित आयात रोक्न सकिने सुझाव दिएको थियो । हाल मन्त्रि परिषदले त्यसको कार्यान्वयनका लागि समिति गठन गरेर अध्ययन गरिरहेको छ । सरकारले ३० भन्दा बढि औषधीको आयातमा रोक लगाउने काम अघि बढाएका बेला औषधी आयातको भयावह तथ्यांक सार्वजनिक भएको छ ।

चालु आर्थिक बर्षको ९ महिनामा १७ अर्ब ४१ करोड रुपैंयाँ मूल्यका औषधी आयात भएको छ । यसको मतलब नेपाली नागरिकका रगतमा १७ अर्ब ४१ करोड मूल्य बराबरको विदेशी औषधी पुगिसकेको छ ।  त्यसको पनि ८२ दशमलब ५९ प्रतिशत औषधी भारतबाट मात्रै आयात भएको देखिन्छ । भारतबाट .मात्रै १४ अर्ब ३८ करोड मूल्य बराबरका औषधी आयात भएको हो ।

नेपाल औषधी उत्पादक संघले नेपालमै उत्पादन भैरहेका औषधीको आयात रोक्ने निर्णयको स्वागत गरेको छ । औषधी उद्योगीहरुले पत्रकार सम्मेलन नै गरेर उच्च गुणस्तर, यथेष्ठ परिमाण र प्रतिष्पर्धी मूल्यमा उपलब्ध गराउने बताएका छन् ।‘हाम्रा औषधी अमेरिका वा बेलायतका ल्याबमा टेष्ट गर्दा पनि गुणस्तरिय प्रमाणित हुनेछन्, हामी आवश्यक मात्रामा उत्पादन गर्न पनि सक्छौं र मूल्य पनि प्रतिष्पर्धी हुनेछ’, औषधी उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दिपक प्रसाद दाहालले भने ।

औषधी उद्योगीहरुले नेपाललाई औषधीमा आत्म निर्भर बनाउन भारतमा जस्तै सहुलियत र अनुदानको व्यवस्था हुनुपर्ने बताउँदै आएका छन् । औषधीका लागि छुट्टै औद्योगीक ग्राम, पानी, बिजुलीको उचित व्यवस्थापन र १० बर्षसम्म कर छुट दिनुपर्ने उनीहरुको माग छ । यस्ता सुबिधा उपलब्ध गराएमा केहि बर्षभित्रै नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल औषधी उत्पादक संघका निवर्तमान अध्यक्ष उमेश लाल श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.