सगरमाथा क्षेत्रबाट एक सिजनमै २ अर्ब भन्दा बढीको कारोबार, २ हजार जना पुग्दैछन सर्वोच्च शिखरमा

  २०७४ जेठ ५ गते १०:०१     विकासन्युज

काठमाडौं । सगरमाथा क्षेत्रबाट हरेक वर्षको बसन्त ऋतुमा मात्रै २ अर्ब भन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । वर्षेनी पर्यटकीय पर्यटनमा जाने र आरोहण गर्ने तथा आर्थिक गतिविधि बढ्ने क्रम बढिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागका अनुसार वार्षिक ३०/३५ करोड रुपैयाँ त सगरमाथा चुम्ने उद्देश्यले गएका आरोहीले तिरेको रोयल्टीबाटै संकलन हुने गरेको छ । शेर्पा भरिया, गाइड, सरकारी सम्पर्क अधिकृत, आरोहण दलले खानपान, आवश्यक सामान, टोलीसँगको सञ्चार, उद्दारसहितका विषयमा हुने खर्चको कारण हरेक सिजनमै २ अर्ब भन्दा बढीको कारोबार हुने गरेको पर्यटन मन्त्रालयबाट सम्पर्क अधिकृतको रुपमा खटिएका ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार कतिपर्य विदेशी पर्यटकले त आरोहण पछि गर्ने आरामको नाममा गर्ने खर्च, आरोहणप्रतिको सन्तोषका कारण गर्ने हेलिकोप्टर चार्टर गर्ने, स्तरीय होटलमा बस्ने, सहयोगी र गाइडलाई दिने खर्चको सीमा १ लाख डलरसम्म हुने गरेको छ । सामान्यतया एउटा विदेशीले कम्तिमा ३५ हजार देखि १ लाख डलरसम्म खर्च गरेर सरमाथाको आरोहणमा जाने गरेका छन् ।

एकजना विदेशी आउँदा ९ जनाले रोजगारी पाउँछन भन्ने सरकारी तथ्यांकलाई आधार मान्ने हो भने पनि पर्यटक र त्यससँग जोडिएका अन्य निकायले गर्ने खर्चको आधारमा यो तथ्य निकालिएको हो । यसर्थ, समग्र अर्थतन्त्रकै कारोबारमा यो रकम भने हरेक वर्ष २ अर्ब भन्दा बढी हुने दाबी श्रेष्ठको छ ।

नेपालमा हुने हिमाल आरोहण तथा पर्वतीय गतिविधि साहसिक पर्यटनको लागि रुचाइएको छ । नेपालमा भएको यो साहसिक गतिविधि विश्वमै कहलिएकोले पनि यहाँ हुने खर्च भन्दापनि विदेशीको ड्रीम प्रोजेक्ट पूरा हुनु नै सबैभन्दा ठूलो उपलब्धी हुने पनि श्रेष्ठको बुझाई छ ।
पर्वतारोहणका क्षेत्रमामा क्रियाशील विभिन्न एजेन्सी तथा सरकारी अधिकारीका अनुसार नेपालले हिमाल आरोहण तथा यससँग सम्बन्धित आर्थिक क्रियाकलापबाट हुने आम्दानी पनि उल्लेख्य हुन्छ ।

सगरमाथा र आसपासका क्षेत्रका होटलले गर्ने आम्दानी तथा विभिन्न वायुसेवा कम्पनीले गर्ने कारोबारको एकीन तथ्यांक निकाल्न सकिएको अबस्थामा यो क्षेत्रले वास्तविक र अझै ठूलो रकमको कारोबार देखिने  पनि पर्यटन व्यवसायीको भनाइ छ ।

व्यवसायीका अनुसार यो वर्षको बसन्त ऋतुमा मात्रै हुने यो दुई अर्ब भन्दा बढीको कारोबार हरेक वर्ष अप्रीलदेखि मे महिनाभरमा हुने पर्यटकीय गतिविधिकै निरन्तरता हो । नेपालमा सगरमाथा आरोहणको निम्ति अप्रिल र मे हिमाल आरोहणका लागि मुख्य सिजन हो । यो बेला पर्यटक आगमन पनि अन्यसमयको तुलनामा २५ देखि ३० प्रतिशतसम्मले बृद्धि हुने गरेको नेपाल पर्यटन बोर्डको भनाइ छ ।

पछिल्लो समय हिमालको आरोहणमा भारतीय तथा चिनियाँ पर्यटकको पनि निकै उत्साह बढ्न थालेको छ । केही वर्ष अगाडिसम्म अमेरिका, युरोप तथा मध्यएसियाका पर्यटक बढी आउने गरेका थिए । अहिले यी सँगै छिमेकी मुलुक र अन्य पर्यटक पनि आउन थालेका छन् ।

एजेन्सी छनोटदेखि गार्भेज डिपोजिट फिर्ता नभएसम्म खर्चेखर्च
हिमाल आरोहणमा जाने पर्यटकले एजेन्सी छनोट गर्नेदेखि आरोहणपश्चात लिइने गार्भेज डिपोट फिर्तासम्म खर्चेखर्च हुने गरेको छ । तथा पर्यटन विभागबाट हिमाल आरोहणमा जाँदा लिनुपर्ने आरोहण अनुमतिमा प्रतिव्यक्ति ११ हजार डलर खर्चर्नुपर्छ ।

यो रकम अघिल्लो वर्षसम्म प्रतिटोली २५ हजार डलर थियो । त्यसपछि एजेन्जीले लिने एकमुष्ट रकम अर्को सबैभन्दा ठूलो खर्च हो । आरोहणमा जाँदा आवश्यक सामग्र, शेर्पा, गाइड, भरीया, सहयोगी, सरकारी अधिकारीसम्मलाई खर्च गर्दै आरोहणमा जानुपर्छ ।

आरोहणमा पाँच सय, लाभाविन्त २ हजार
सगरमाथा आरोहणमा यो वर्ष करिब ५ सय जना हुने पर्यटन मन्त्रालयको अनुमान छ । आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएर गएका टोलीबाहेक थप १५ सय जना पनि सगरमाथा आधारशिविरमा पुगिसकेका छन् ।

यहाँबाट माथि जाने क्रममा भने भरीया, सरर्दार, शेर्पा, गाइई, सम्पर्क अधिकृत, उद्दार टोलीसहितको टीम हुने भएकोले पनि ५ सयजनाले गर्ने आरोहणमा २ हजार जनासम्म पुग्ने गरेका छन् ।

पर्यटन विभागका अनुसार अग्ला हिमाल आरोहण गर्दा टेन्ट, डोरी, अक्सिजन सिलिन्डर, खानेकुरा, औषधी तथा बन्दोबस्तीका अन्य सामान पुर्याउने क्रममा नै ठूलो जनशक्ति लाग्नुपर्छ । विभागले यो जनशक्ति सगरमाथाको उचाइमा पुगेको अवस्थामा उचाई कामदारका रुपमा प्रमाणपत्र पनि दिने गरेको छ ।

सरकारले हिमाललाई व्यवसायीकरण गरी आर्थिक लाभ उठाउने उद्देश्यले हाल चार सय वटा हिमाल आरोहणका लागि खुला गरेको छ । नेपलमा आरोहणयोग्य नै करिब १३ सय हिमाल रहेको भएपनि बाँकी हिमाल भने खुला भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.