साउन १ बाट विज्ञापन रहित विदेशी च्यानल बनाउन सरकारको तयारी, नेपालको विज्ञापनको बजार फराकिलो हुने

  २०७४ जेठ ४ गते १६:०५     विकासन्युज

काठमाडौं । आगामी साउन १ गतेदेखि नेपालमा प्रसारण भइरहेका विदेशी च्यानलहरू विज्ञापन रहित हुनुपर्ने नीति सरकारले कार्यान्वयनमा लैजाने भएको छ । नीति कार्यान्वयनको तिथि नजिकिदै जाँदा क्लीन फिल्ड नीति कार्यान्वयनका लागि आवश्यक पर्ने अन्य पूर्वाधार भने सरकारले हालसम्म तयार पार्न सकेको छैन । नीति कार्यान्वयनका लागि अन्य धेरै प्राविधिक र कानुनी प्रावधानहरू मिलाउनु पर्ने भएपनि सरकारले हालसम्म राष्ट्रिय प्रसारण नियमावली समेत संशोधन गर्न नसकेको अवस्था छ ।

शुल्क तथा निःशुल्क दुवै किसिमका विदेशी च्यानल विज्ञापनरहित बनाउने गरी सार्वजनिक गरिएको सो नीति लागू हुने अवधि नजिकिँदै जाँदा कार्यान्वयन भने चुनौती देखिएको छ । पैसा तिरेर हेरिने विदेशी च्यानलहरू विज्ञापनरहित हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

विदेशी च्यानलबाट प्रसारण हुने विज्ञापनले नेपालले कुनै फाइदा लिन नसक्ने भन्दै सरकारले विदेशी टेलिभिजन प्रसारणमा विज्ञापनरहित व्यवस्था अनिवार्य गर्न लागेकोे हो । विदेशी च्यानलबाट प्रसारण हुने कतिपय विज्ञापनले उल्टो नेपालको धर्म, संस्कृति र कानुनी व्यवस्थामा समेत खलल् पु¥याएको सरकारको ठहर छ ।

केही सशुल्क च्यानल विज्ञापनरहित भए पनि बाँकी अधिकांश विदेशी च्यानल भने विज्ञापनसहित प्रसारण हुँदै आएका छन् । हाल नेपालमा करीब १ सय ५० भनदा बढी विदेशी च्यानल प्रसारण हुँदै आएका छन् । यी मध्ये धेरै जसो च्यानलहरू विज्ञापनसहित प्रसारण गरिँदै आएको छ । स्वदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनमा राजस्व लाग्ने भए पनि विदेशी च्यानलहरूका लागि भने राजस्व लाग्ने कुनै व्यवस्था छैन । त्यसले गर्दा राज्यले स्वदेशी विज्ञापन बजारसँग ठूलो नोक्सानी बेहोर्दै आएको छ ।

नीति कार्यान्वयन आए बहुराष्ट्रिय कम्पनीका उत्पादनको विज्ञापनलाई स्वदेशी च्यानलहरूबाटै प्रसारण गर्नुपर्ने हुन्छ र जसले स्वदेशी विज्ञापन एजेन्सी र टेलिभिजन च्यानलहरूको विज्ञापन बजार फराकिलो बनाउने छ र राज्यले पनि स्वदेशी च्यानलबाट गरिने विज्ञापनबाट राजस्व प्राप्त गर्ने छ ।

उक्त नीतिलाई कार्यान्वयन गर्न सरकारले गत फागुन २ मा सुझाव समिति गठन गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालको नेतृत्वमा गठन गरिएको उक्त समितिले नीति कार्यान्वयनका लागि आवश्यक प्राविधिक तथा कानूनी सल्लाह तथा व्यवस्थाका लागि आवश्यक प्रक्रियाको अध्ययन गरि प्रतिवेदन तयार गर्ने भनिएको छ ।

तर, तीनसातामा सुझाव पेश गर्ने गरी समिति गठन भएपनि तीन महिना वित्दा समेत समितिले यस सम्बन्धमा सरकारलाई प्रतिवेदन बुझाउन सकेको छैन । समितिका अनुसार उक्त प्रतिवेदन बुझाउन अझै एक साता लाग्ने देखिएको छ । हाल प्रतिवेदनमाथि सरोकारवालाहरूबीच छलफल भइरहेको छ ।

विज्ञापन रहित विदेशी च्यानल प्रसारण हुँदा त्यस्ता च्यानलको प्रसारण समय नेपालको स्थानीय समयअनुकूल नहुन सक्ने समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । कतिपय विदेशी प्रसारकहरूले वितरण गर्ने च्यानलमा विज्ञापनरहित नेपाल फिड तयार पार्न सकिरहेका छैनन् । सो कारणले त्यस्ता च्यानलको प्रसारण रोकिन सक्ने र यसका लागि पनि आवश्यक तयारी गर्नुपर्ने समितिको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.