सुशीला कार्कीको साहसिक निर्णय र लाेकतन्त्रमा किर्तेतन्त्र-कृष्ण पहाडी

  २०७४ वैशाख १९ गते २०:३४     कृष्ण पहाडी

-सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू,
आदरणीय पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू,

विषय : महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह

सम्माननीय प्रधानमन्त्री तथा पुर्व प्रधानमन्त्रीज्यू,

२०७४ वैशाख १७ गते नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुद्वारा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएको घटनाको सेरोफेरोमा ध्यानाकर्षण गराउँदै यो पत्र लेखेको छु । श्री सुशीला कार्कीले न्यायमुर्तिका रुपमा गर्नुभएको कैयन साहसिक र महत्वपुर्ण निर्णयहरु विदितै छ । यद्यपि पछिल्लो चरणमा उहाँले गरेका एकआध निर्णय र भावनात्मक आवेगबारे कतिपयको गुनासो वा असहमति हुन सक्छ तर के त्यस्तो गुनासो नै महाभियोगका लागि पर्याप्त आधार बन्न सक्छ ? यक्ष प्रश्न खडा भएको छ । महाभियोग प्रस्ताव दर्ता गर्दा न्यायमुर्ति सुशीला कार्कीमाथि कार्यक्षमताको अभाव भएको र खराब आचरण प्रदर्शन गरेको जस्ता शब्दावलीहरु प्रयोग गरिएको छ जुन अशोभनिय एवं आपत्तिजनक छ भने आरोप लगाउनेहरुका लागि नै प्रत्युत्पादक हुन सक्छ । समग्र घटनाको अध्ययन गर्दा प्रधानन्यायाधीश कार्कीले विगतमा गरेका निर्णयहरु भन्दा निकट भविष्यमा कुनै एक विषयमा उहाँबाट यस्तो निर्णय आउन सक्छ भन्ने आशंकासहित नीजलाई बाहिर राख्ने मनसायले महाभियोग प्रस्ताव प्रेरित देखिन्छ । यस सम्बन्धमा म निम्न विषयहरुबारे ध्यानाकर्षण गराउँछु ।

१) निर्वाचित व्यवस्थापिका संसदका कतिपय सदस्यहरु जसले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेको देखिन्छ निजहरुले नै आफ्नो हस्ताक्षर र महाभियोग प्रस्तावबारे सार्वजनिक सञ्चार माध्यमहरुमा अनभिज्ञता प्रकट गरेको देखियो । लोकतन्त्रमा किर्तेतन्त्र कदापी स्विकार्य हुँदैन । यदि यो प्रस्ताव अघि बढ्यो भने संसदीय व्यवस्थाको मर्यादा अनुरुप हस्ताक्षरकर्ता सांसदहरुलाई उपस्थित गराई नीजहरुले हस्ताक्षर गरेको हो होइन प्रमाणिकरण गर्नुपर्ने आवश्यकता हुन्छ ।

२) न्यायमुर्ति सुशीला कार्कीलाई महाभियोग लगाई अभियुक्त बनाउन खोज्दा जनस्तरमा यहाँहरु स्वयं अभियुक्त त बनिरहनु भएको छैन ? शिघ्र पुनरावलोकन गर्नु जरुरी छ ।

३) तसर्थ प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिई यो अनर्थको अध्यायलाई शिघ्र अन्त्य गर्न म विनम्रता पुर्वक आग्रह गर्दछु । एउटा साधारण नेता आफ्नो गल्ती स्विकार गर्न हिचकिचाउछन् । एउटा राजनेता आफ्नो गल्ती स्वतः स्विकार गर्छन् । योभन्दा माथि एउटा महान नेता आफ्नो गल्ती स्विकार गर्नुका साथ साथै क्षमायाचना पनि गर्छन । आशा छ यहाँहरुले लोकतन्त्र र न्यायिक मुल्यको संरक्षण र सम्बर्धनका लागि शिघ्र उपयुक्त कदम चाल्नु नै हुने छ ।

४) जन निर्वाचित संसदको सर्वोच्चताप्रति कसैको दुई मत छैन तर महाभियोग प्रस्तावको विवेकसम्मत प्रयोग हुनुपर्छ । महाभियोग प्रस्ताव दुरुपयोग नहोस भनेर म संस्थापक सभापति रहेको मानव अधिकार तथा शान्ति समाजले अघि सारेको सुझावप्रति मेरो पुर्ण सहमति छ । उक्त सुझावसहितको विज्ञप्ति यसै साथ संलग्न छ ।

वदीय
कृष्ण पहाडी
फोन : ४४७२१०४, मिति : २०७४-०१-१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.