धादिङको लापा र टिप्लिङमा टेलिकमको बिटिएस टावर, पाँच हजार जनतामा मोबाइल सेवा पुग्यो

  २०७४ वैशाख १४ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले उत्तरी धादिङको लापा र टिप्लिङ्गमा विटिएस स्थापना गरेको छ । टेलिकमले ती दुई ठाउँको बिटिएस टावरबाट बैशाख १३ गतेदेखि सेवा आरम्भ गरेको हो । लापा र टिप्लिङ पुग्ने नेपाल टेलिकम पहिलो सेवा प्रदायक कम्पनी पनि बन्न सफल भएको छ ।

लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करिव तीन हजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । लापा धादिङ्ग वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ ।

त्यस्तैगरी टिप्लिङ्गमा स्थापित विटिएसबाट टिप्लिङ्गल र सेरटुङ्गलगायत नजिकका गाउँका करिव दुई हजार घरधुरीका वासिन्दा लाभान्वित हुने भएका छन् । टिप्लिङ्ग धादिङ्ग वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दुरीमा रहेको छ ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.