काँग्रेसको स्थानीय तहमा स्वेच्छिक कर दाखिला गर्न पाइने, दोहोरो कर पनि नलाग्ने

  २०७४ वैशाख १३ गते १२:३८     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहमा करदाताले स्वेच्छिक रुपमा कर दाखिला गर्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
काँग्रेसले आफ्नो घोषणा पत्र मार्फत स्थानीय तहमा करदाताले स्वेच्छिक रुपमा कर दाखिला गर्न पाउने व्यवस्था कार्यान्वयन गर्ने बताएको हो ।

‘करदाताले स्वेच्छिक रुपमा कर दाखिला गर्न सक्नेछन् । तर कर छली र चुहावट रोक्न शून्य सहनशीलताको कडा अभ्यास गरिनेछ ।’, काँग्रेसले घोषणा पत्रमा लेखेको छ । काँग्रेसले आफ्नै सरकार—खुला सरकारको अवधारणालाई मूर्त रुप दिन संकलित राजस्वको विस्तृत सूचना हरेक ६ महिनामा सार्वजनिक गर्ने पनि बताएको छ ।

निर्वाचनपछिका प्रारम्भिक वर्षहरुमा अधिकांश गाउँ र नगरपलिकाहरुको आम्दानीको स्रोत स्थानीय कर भन्दा पनि केन्द्रीय अनुदान नै हुने बताउँदै उसले आफ्नो नेतृत्वमा बन्ने स्थानीय सरकारहरुको प्रमुख उद्देश्य केन्द्र र प्रदेश माथिको निर्भरता घटाउंदै स्थानीय राजस्वको आधार फराकिलो बनाउनु हुने पनि स्पष्ट पारेको छ ।

काँग्रेसले उद्यमीहरुलाई दोहोरो करको मार नपार्ने बताउँदै करको भार पनि न्यूनतम हुने गरी नीतिहरु ल्याउने भनेको छ । स्थानिय तहले उठाउने सम्पत्ति कर, व्यवसाय कर, विज्ञापन कर, घर बहाल कर, मनोरञ्जन कर, शुल्क र जरिवानाहरु एवं मालपोत जस्ता स्थानीय आम्दानीका व्यापक स्रोतहरुको सूक्ष्म अभिलेख राख्ने काम पारदर्शी र जवाफदेहीपूर्ण बनाउन आधुनिक सूचना प्रविधिको पूर्ण उपयोग गर्ने काँग्रेसका घोषणा पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.