उम्मेद्वारले भोट माग्दा मतदाताले सोध्नु पर्ने प्रश्नहरु

  २०७४ वैशाख १३ गते १०:४४     रमेश घिमिरे

रमेश घिमिरे

आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुका केन्द्रीय घोषणापत्र सार्वजनिक हुने क्रम सुरु भएको छ । केही दिनमा स्थानीय तह एकाईहरुको लागि फरक फरक घोषणापत्र सार्वजनिक हुने क्रममा रहेका छन् । सबै दलका घोषणा हेर्दा सहरी विकास र ग्रामीण विकासका महत्वांकाक्षी योजना देखिन्छन् । ठूला पूर्वाधार र गरिब पिछडिएको समुदायका लागि वितरणमुखी योजना घोषणामा सुनिन्छन् ।

दलका नेताहरुको घोषणा अनुसार कार्य गर्न पैसा कति चाहिन्छ ? त्यो कुनै दलको घोषणामा स्पष्ट उल्लेख छैन । विश्वमा भएका विकास निर्माणका नाम उल्लेख गर्न जसले पनि सक्दछ । त्यसैले कसैले मेट्रो रेल, मोनो रेल, एक घर एक रोजगार, धुलोरहित सहर, सार्वजनिक जग्गा संरक्षण जस्ता घोषणा गर्यो भन्दैमा त्यसको भिजन राम्रो रहेछ भन्ने सोच्नु हुन्न । अर्बौ रुपैयाँ हुने हो भने महँगा प्रोजेक्ट जसले पनि बनाउन सक्दछ ।

मतदाताहरुले स्थानीय तहको निर्वाचनमा भोट माग्दै आउनेका कुरालाई परीक्षण गर्नुपर्दछ । उम्मेद्वारले विकासको सन्दर्भमा यो यो गर्छु भनेको कुरालाई महत्व दिनु हुँदैन । विकास निर्माणका लागि समस्या महत्वांकाक्षी योजनाको अभाव होइन । पैसा, कार्यक्षमता र सुशासनको हो । त्यसैले उम्मेद्वारको राजस्व बढाउने, कर्मचारीलाई उत्प्रेरित गराएर काम गराउने र सुशासन कायम गर्ने योजना रणनीतिमा मात्र मतदाताले महत्व दिनुपर्दछ ।

उम्मेद्वारले यो यो गर्छु भने भने त्यसका लागि कति पैसा आवश्यक पर्दछ भनेर सोध्नुहोस् । तपाईंका टोलमा आएर तपाईंलाई उपयोगी हुने कामको मात्र विवरण सुनाएर त्यसको लागि यति पैसा आवश्यक पर्दछ भन्न सक्छन् । पूरै गाउँपालिका वा नगरपालिका भरी गर्ने काम सोध्नुुस् र त्यसका लागि आवश्यक पैसा सोध्नुहोस् ।

गाउँपालिका वा नगरपालिकाको बजेट रकमले थेग्ने काम उम्मेद्वारले बताएका छन् भने मात्र विश्वास गर्नुहोस् । तर, पैसा र कामको तालमेल मिलेन भने उम्मेद्वार हचुवाको भरमा बोल्दैछन् भन्ने बुझ्नुहोस् । उम्मेद्वारले दिएका आश्वासन पूरा गर्दैनन् भन्ने बुझ्नुहोस् । बजेट नभई कुनै काम हुँदैन ।

उम्मेद्वारले बजेट रकम ठूलो आकारको बनाउने र सबै काम गर्न सक्ने भनेर बताए भने पैसाको स्रोत सोध्नुहोस् । अहिलेसम्म उठ्दै आएको राजस्व अंक सोध्नुहोस् । त्योभन्दा बढी राजस्व संकलन हुन्छ भने अहिले राजस्व नलिइएका वा नियम भएर पनि नबुझाएका के कस्ता क्षेत्रमा अब के कति राजस्व उठाउनुहुन्छ ? सोध्नुहोस् ।

गाउँपालिका वा नगरपालिकाको स्रोत धेरै देखाउन नसक्ने उम्मेद्वारले केन्द्रबाट अनुदान ल्याइनेछ भन्यो भने फेरि प्रश्न उठाउनुहोस् । केन्द्र सरकारसँग असीमित बजेट हुँदैन । केन्द्र सरकारले स्थानीय तहलाई दिने पुँजीगत अनुदानको महत्वपूर्ण एउटा आधार आन्तरिक राजस्व हो । कुनै गाउँपालिका वा नगरपालिकाले आफूले धेरै राजस्व उठाउन सके केन्द्रबाट पनि बढी अनुदान पाउँछ र कम राजस्व उठाए कम अनुदान प्राप्त गर्दछ । जनसंख्या न्यून भएका दुर्गम गाउँपालिकामा मात्र यसको अपवाद हुन सक्छ ।

स्रोत अर्थात पैसा भए भौतिक विकास गर्न, गरिब, पिछडिएको समुदायको उत्थान गर्न सकिन्छ, नत्र सकिंदैन । धेरै पैसा भए पनि सुशासन भएन भने काम थोरै हुन्छ । सुशासन भयो भने थोरै पैसाबाट धेरै काम गर्न सकिन्छ । त्यसैले मतदाताले परीक्षण गर्ने अर्को कुरा सुशासन हो ।
उम्मेद्वारलाई तपाईको गाउँपालिका वा नगरपालिकामा कूल कर्मचारी दरबन्दि कति हुनेछन्, करारमा कति नियुक्ति गरिनेछ र राजनीतिक नियुक्ति कति गर्नुहुन्छ भनेर सोध्नुहोस् । पदाधिकारी र कर्मचारीका लागि तलब, भत्ता, सुविधाबापत कति खर्च लाग्छ भनेर सोध्नुहोस् । कार्यालयमा गाडी, फर्निचर, सजावट, कागज, मसी जस्ता सञ्चालन खर्च कति लाग्छ सोध्नुहोस् । प्रशासनिक खर्च गरेर बाँकी रहेको पैसाले मात्र विकास गर्ने हो ।

भ्रष्टाचार नियन्त्रण गरिनेछ भन्ने उम्मेद्वारको वाक्यलाई महत्व नदिनुहोस् । उम्मेद्वारले भ्रष्टाचार नियन्त्रण गर्दछु भन्छ भने अहिले भ्रष्टाचार भइरहेको छ भन्ने उसलाई थाहा हुनुपर्दछ । तसर्थ अहिले कहाँ कसरी भ्रष्टाचार भइरहेको छ भन्ने उम्मेद्वारसँग सोध्नुहोस् । त्यो भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ भनेर छुट्टाछुट्टै उत्तर खोज्नुहोस् । नयाँ काम र बढी काम गर्दा कहाँ कहाँ कसरी भ्रष्टाचारको सम्भावना हुन्छ र त्यहाँ कसरी नियन्त्रण गरिनेछ भन्ने रणनीति र कार्ययोजना सोध्नुहोस् ।

घुस नखुवाई छिटो छरितो सेवा दिन्छु भनेर उम्मेद्वारले भन्छन् भने अहिले कहाँ कहाँ कसरी घुस माग्ने गरिएको छ भन्ने उम्मेद्वारले उल्लेख गर्नुपर्दछ । यो घुसलाई यसरी र यो घुसलाई यसरी नियन्त्रण गर्नेछु भन्ने छुट्टाछुट्टै जवाफ उम्मेद्वारले दिनुपर्दछ ।

त्यसैगरी, सार्वजनिक जग्गा अतिक्रमणलाई खाली गर्ने योजना उम्मेद्वारले सुनाउँछन् भने त्यसमा पनि एकमुष्ठ जवाफ स्वीकार नगर्नुहोस् । यस्ता व्यक्तिबाट अतिक्रमण भएका यस्ता क्षेत्रलाई यसरी खाली गरिनेछ भन्ने छुट्टाछुट्टै जवाफ माग्नुहोस् ।

तपाईं सरकारी कार्यालय र कर्मचारीबाट हुने भ्रष्टाचार र घुसबारे भुक्तभोगी हुनुहुन्छ । त्यस्तै बल र पहुँच भएका व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेकोबारे पनि भुक्तभोगी हुनुहुन्छ । माथि भनिए जसरी तपाईले यसबारेमा उम्मेद्वारसँग जवाफ माग्नुभयो भने उम्मेद्वारले विकृत्तिलाई ढाकछोप गर्न खोज्छन् कि खोज्दैनन् भन्ने थाहा हुन्छ । असल नियत भएका उम्मेद्वारले ढाकछोप गर्दैनन् ।

निर्वाचनको बेला राजनीतिककर्मीले सबैभन्दा बढी जनताको आवाज सुन्छन् । तर, त्यसलाई मनन नगरी एक कानले सुनेर अर्को कानले उडाउन पनि सक्छन् । आफ्ना कुरा मनन गर्ने बनाउन मतदाता पनि जागरुक हुनुपर्दछ । उम्मेद्वारलाई बढीभन्दा बढी क्रस कोइसन अर्थात छड्के प्रश्न गर्नुपर्दछ ।

मतदाताको प्रश्न र चासोले उम्मेद्वारहरुलाई नयाँ जानकारी, सूचना, प्रेरणा, दबाब, अनुभूति भई उनीहरुको सोच बदलिन सक्दछ । भोट तपाईंले एउटा पदमा एउटा उम्मेद्वारलाई मात्र दिन सक्नुहुन्छ । तर, सबै उम्मेद्वारलाई प्रश्न, जिज्ञाशा राखेर सबै उम्मेद्वारलाई असल बनाउन योगदान गर्न सक्नुहुन्छ । तपाईंले भोट दिएको उम्मेद्वारले जित्छ भन्ने पक्का हुँदैन । जुन उम्मेद्वारले जिते पनि गाउँपालिका वा नगरपालिकाका पदाधिकारी असल बनुन् भन्ने चाहना मतदाताले राख्नुपर्दछ । पदाधिकारी असल बने भने स्रोत साधनको सदुपयोग, स्थानीय विकास र सामाजिक न्याय प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.