बीमा समितिसँग १७ वटा नयाँ कम्पनीले लाईसेन्स मागे, समितिको अध्यक्ष भन्छन्– लघुबीमा कम्पनीको लाइसेन्स पनि खुला गरिदैछ

  २०७४ वैशाख १२ गते १८:५४     विकासन्युज

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा २४ वटा नयाँ बीमा कम्पनी दर्ता भएपनि सञ्चालन अनुमति माग्दै १७ वटा कम्पनी बीमा समितिमा पुगेका छन् । त्यसमा १२ वटा जीवन बीमा कम्पनी छन् भने ५ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । यसरी आवेदन गर्नेमा १० वर्ष पुरानादेखि एक महिनाअघि आवेदन गर्ने कम्पनीहरु छन् ।

जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनिलाईफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

निर्जीबन बीमा कम्पनीतर्फ सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेड, आइडियल जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड र मनकामना इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

बीमा समितिले तोकेको नयाँ मापदण्ड, विधि र प्रक्रिया पुरा गरेर बैशाख २४ गतेसम्म सबै विवरण बुझाउने कम्पनीलाई अनुमति दिने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । ‘विधि, प्रक्रिया र मापदण्ड सबैलाई समान हुन्छन् । सबैले सबै प्रकारको मापदण्ड पुरा गरे भने नियमअनुसार हामीले सञ्चालन अनुमिति दिनुपर्छ’ अध्यक्ष चापागाईले विकासन्युजसँग भने ।

एक दशकदेखि नयाँ बीमा कम्पनी नखुलेको र एक दशक पुराना फाइलहरु पेण्डिङमा रहेकोले एकै पटक धेरै कम्पनी अनुमति लिने प्रक्रियामा देखिएको उनले बताए ।  १७ वटा मध्ये १० वटा कम्पनीले २०६४ सालमा अनुमति मागेको, ३ वटा कम्पनीले २०६५ सालमा अनुमति मागेको, २ वटा कम्पनीले २०७२ सालमा अनुमति मागेको र २ वटा कम्पनीले २०७३ सालमा अनुमति मागेको उनले जानकारी दिए ।

लगानीकर्ताले बढी संख्यामा जीवन बीमा कम्पनी खोल्न चाहानुलाई अस्वभाविक रुपमा आफूले नलिएको उनले बताए । जीवन बीमातर्फ कुल जनसंख्याको ८ प्रतिशत नेपालीमा मात्र बीमाको पहुँच पुगेकोले व्यवसायिक सम्भावना पनि रहेको उनको भनाई छ । हाल ९ वटा जीवन बीमा कम्पनीहरु छन् । १२ वटा नयाँ कम्पनीले अनुमति पाएका २१ वटा जीवन बीमा कम्पनीहर हुनेछन् ।

त्यस्तै हाल १७ वटा निर्जीवन बीमा कम्पनीहरु छन् । ५ वटा नयाँ कम्पनीले अनुमति पाएमा २२ वटा हुनेछन् । प्रक्रियामा रहेको जीवन बीमा कम्पनीमध्ये अधिकांशले लाइसेन्स पाए पनि निर्जीवनतर्फ कमले लाईसेन्स पाउने सम्भावना छ ।  बीमा समितिले नयाँ लाईसेन्स वितरण गरेपछि करिव ४० वटा बीमा कम्पनी हुने देखिएको छ । सानो अर्थतन्त्र भएको मुलुकमा धेरै बीमा कम्पनीलाई लाईसेन्स वितरण गर्न लागेको भन्दै बीमा बजारमा बीमा समितिको आलोचना समेत भईरहेको छ ।

तर समितिको अध्यक्ष चापागाईले कम्पनी बढी भयो भनेर निष्कर्ष निकाल्ने आधार नभएको बताए । बैकिङ क्षेत्रको उदाहरण दिदै उनले भने–‘एउटै बजार हो, उही अर्थतन्त्र हो, मर्ज भएर घट्दा पनि बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त गरेर १५० भन्दा बढी वित्तीय संस्था छन् । राष्ट्र बैंकले अझै पनि ग्रामिण क्षेत्रमा सेवा दिन चाहाने लघुवित्तलाई लाईसेन्स वितरण गर्दै आएको छ ।’

बीमा सम्बन्धी नयाँ ऐन आएपछि वा नयाँ ऐन आउन ढिलाई भए विनियावली बनाएर भएपनि लघु बीमा कम्पनी खुला गरिने उनले जानकारी दिए । लघुबीमा बजारको आवश्यकता भएकोले बीमा समितिले यसमा जोड दिने उनले बताए ।

२४ वटा नयाँ बीमा कम्पनी खोल्ने ५०० ठूला लगानीकर्ताको प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.