बैंक तथा बीमाको पुँजी बृद्धिले २४ अर्बको बोनस सेयर आउँदै

  २०७४ वैशाख १० गते ८:०७     विकासन्युज

काठमाडौ । चालू आर्थिक वर्षको वैशाख ५ गतेसम्म नेप्सेमा सूचीकृत कम्पनीले २३ अर्ब ८१ करोड ८० रुपैयाँ बराबरको बोनस सेयर दिने भएका छन् । २४ करोड २९ लाख १९ हजार पाँच सय ४२ कित्ता बोनस सेयर लगानी कर्तालाई प्रदान गर्न एक सय ३० वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा दर्ता गराएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

कम्पनीहरूले आफूले आर्जन गरेको खुद नाफाबाट प्रत्येक वर्ष सेयरधनीलाई निश्चित प्रतिशत लाभांश बाँढ्ने गर्छन् । कम्पनीले बोनस सेयर वितरण गर्दा नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा दर्ता गराउनुपर्ने प्रावधान छ । नगद लाभांश भने दर्ता गराउनुपर्दैन ।नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले बोनस र हकप्रद सेयरलाई बढी प्राथमिकतामा राखेर कार्ययोजना बनाइरहेका छन् । कतिपय कम्पनीले ठूलो मात्रामा एफपीओको माध्यमबाट पनि चुक्ता पुँजी बढाउने योजना बनाएका छन् ।

राष्ट्र बैंकले चालू आवको अन्त्यसम्म ‘कु वर्गका वाणिज्य बैंकलाई आठ अर्ब चुक्ता पुँजी पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउन अनिवार्य भएकाले आकर्षक बोनस दिने क्रम जारी छ ।

बार्डको तथ्यांकअनुसार सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकलले एक अर्ब ४९ करोड १४ लाख दुई हजार सात सय रुपैयाँ बराबरको १४ करोड ९१ लाख चार हजार २७ कित्ता बोनस सेयर दर्ता गराएको छ । समग्रमा सबैभन्दा बढी रकमको बोनस सेयर दर्ता गराउनेमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको छ । इन्भेस्टमेन्टले गत वर्षको कमाइबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस दिएको हो ।

यस्तै, धेरै रकमको बोनस सेयर दर्ता गराउनेमा सिद्धार्थ बैंक दोस्रो स्थानमा छ । सिद्धार्थ बैंकले एक अर्ब ४७ करोड ३२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड ४७ लाख ३२ हजार ६ सय कित्ता बोनस सेयर धितोपत्र बोर्डमा दर्ता गराएको हो । सिद्धार्थले ३९ प्रतिशत बोनस सेयर दर्ता गराएको छ । प्रतिशतका आधारमा गत वर्ष वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै बोनस पनि सिद्धार्थले नै दिएको हो ।

नबिल बैंकले पनि एक अर्ब ४२ करोड ८९ लाख ३७ हजार रुपैयाँको एक करोड ४२ लाख ८९ हजार तीन सय ७४ कित्ता बोनस सेयर दर्ता गरेको छ । यस्तै, सनराइज बैंकले एक अर्ब ३२ करोड ५३ लाख ४८ हजार आठ सय रुपैयाँको एक करोड ३२ लाख ५३ हजार चार सय ४८ कित्ता बोनस सेयर दर्ता गराएको छ ।

नबिलले ३० र सनराइजले ३३।३३ प्रतिशत बोनस सेयर दर्ता गराएका हुन् । एनआईसी एसियाले एक अर्ब २० करोड आठ लाख ८० मूल्य बराबरको एक करोड २० लाख आठ हजार कित्ता बोनस सेयर निष्कासन गर्न लागेको हो । बैंकले २६ प्रतिशत बोनस सेयर दिने भएको छ । अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.