चितवन राष्ट्रिय निकुञ्जबाट दुई जोडी गैँडा चीन पठाइने अन्तिम तयारी

  २०७४ वैशाख ७ गते १६:२८     विकासन्युज

चितवन, ७ वैशाख । चितवन राष्ट्रिय निकुञ्जबाट सन् २०१७ मा दुई जोडी गैँडा चीन पठाइने भएको छ । सो कार्यका लागि दुवै देशका कर्मचारी तहमा हालै मात्र हस्ताक्षर भइसकेको छ । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईका अनुसार गैँडा पठाउनु अघि मन्त्री तहमा पनि सम्झौता गरिने छ ।

अन्य निकुञ्जमा गैँडाको सङ्ख्या कम भएकाले चितवन राष्ट्रिय निकुञ्जबाटै दुई जोडी गैँडा पठाइने उनले बताए । हालैमात्र चीन पुगेर नेपालका तर्फबाट गैँडा दिने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएका भट्टराईका अनुसार अध्ययन अनुसन्धानका लागि ती गैँडा चीनले प्रयोगमा ल्याउने भएको छ । सोझै गैँडा पठाउन नमिल्ने हुँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने उहाँले जानकारी दिनुभयो । साइटिस, क्वारेन्टाइनलगायतका नियम कानुन पूरा गरेर मात्र वन्यजन्तु ओसारपसार गर्न सकिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार १० वर्षमुनिका अर्धवयस्क गैँडा पठाइने र तिनलाई नियन्त्रणमा लिएपछि केही समय खुल्ला खोरमा राखेर मात्र पठाइने छ ।स्वस्थ्य परीक्षण गरेर पठाइने ती गैँडाको रहनसहनबारे चिनियाँ टोलीलाई जानकारी गराएर मात्र पठाइने उनले बताए ।

नेपालबाट लगिने गैँडामध्ये एक जोडीलाई सङ्घाइ सफारी पार्कमा र अर्को जोडीलाई गोन्जाउको अनुसन्धान केन्द्रमा राखिँदै छ । यसअघिनै चीनमा भारतबाट एकसिङ्गे एउटा गैँडा लगिएको थियो । चीनमा अफ्रिकाबाट लगिएका दुई सिङ्गे गैँडा भने प्रसस्त रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए ।

यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट भारत, जापान, जर्मन, बेलायत, क्यानडालगायतका देशमा गैँडा पठाइ सकिएको छ । सन् १९८६ बाट हालसम्म यसै निकुञ्जबाट नेपालकै बर्दियामा ९१ वटा र शुक्लाफाँटामा नौ वटा गैँडा पठाइ सकिएको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेका थिए । त्यसपछि आठ वटा बर्दिया र पाँचवटा शुक्लाफाँटामा गैँडा लगिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.