काठमाडौँको मेयरमा हाइप्रोफाइलको चर्चा, प्रमुख प्रशासनिक केन्द्र भएकाेले बहालवाला मन्त्रीकाे चासाे

  २०७३ चैत २४ गते ७:३६     विकासन्युज

काठमाडौं । देशको सबैभन्दा धेरै मतदाता भएको काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार चयन सर्वाधिक चासोको विषय बनेको छ ।

दलहरूले राजधानी तथा देशको प्रमुख प्रशासनिक केन्द्रसमेत रहेको काठमाडौँ महानगरपालिकामा मेयरका प्रतिस्पर्धी टुङ्ग्याई भने सकेका छैनन्। यद्यपि पार्टीको आन्तरिक छलफलमा सम्भावित उम्मेदवारको चर्चा भने सुरु भइसकेको छ ।

नयाँ संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएपछि काठमाडौँको मेयरमा स्थानीय तहमा क्रियाशील नेतादेखि केन्द्रीय तहका प्रभावशाली नेताको नामसमेत चर्चामा छ ।

संसद्मा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसबाट महानगरपालिकाको मेयरका लागि दुईजना बहालवाला मन्त्रीहरू उद्योगमन्त्री नवीन्द्रराज जोशी र स्वास्थ्यमन्त्री गगन थापा, पूर्वमन्त्री तीर्थराम डङ्गोल र राजु जोशीलगायतको नाम चर्चामा छ ।

मन्त्री जोशी र थापा दुवै जना काठमाडौँबाटै प्रत्यक्ष निर्वाचित सांसदसमेत हुनुहुन्छ । डङ्गोल यसअघि काठमाडौँकै उपमेयर र सांसदसमेत निर्वाचित भएपछि मन्त्रीसमेत बनेका हुन्। राजु जोशीले काँग्रेस जिल्ला सचिवको भूमिका निर्वाह गरिसकेका छन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा काठमाडौँको मेयरका लागि केन्द्रीय सचिव योगेश भट्टराई, केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठ तथा उपत्यका इन्चार्ज सानु श्रेष्ठ, विद्यासुन्दर शाक्य लगायतको नाम चर्चामा छ । भट्टराई संविधानसभाको गत निर्वाचनमा काठमाडौँकै निर्वाचन क्षेत्र नं ६ बाट उम्मेदवार बनिसका हुन्।

त्यसैगरी नेकपा ९माओवादी० केन्द्रमा हितमान शाक्य, हिमाल शर्मा, सर्वोत्तम डङ्गोल लगायतको नाम मेयरको उम्मेदवारको चर्चामा छ । शाक्य माओवादीको पोलिटब्युरो सदस्य हुन् भने यसअघि पार्टीको विद्यार्थी सङ्गठनको अध्यक्ष रहेका शर्मा हाल अर्थमन्त्रीको स्वकीय सचिव हुन्। पोलिटब्युरो सदस्य डङ्गोल पार्टीको महानगर इन्चार्जसमेत हुन्।

शीर्ष दलका नेताहरूले उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको जानकारी दिँदै निर्णय गर्न भने हप्ता दस दिन लाग्ने बताए। हामी छलफलकै क्रममा छौँ, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष सबुज बानियाँले भने, स्थानीय आवश्यकता र चुनाव जित्ने क्षमता हेरेर उम्मेदवारको नाम टुङ्ग्याउनेछौँ ।  गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.