नेपाललाई अन्तराष्ट्रिय रेलवे नेटवर्क प्रवेशमा रोक्दै भारत, काकडभिट्टा आउने रेललाई कोलकात्ता मोडिँदै

  २०७३ चैत १५ गते १४:०२     विकासन्युज

काठमाडौं । भारतले नेपाललाई अन्तराष्ट्रिय रेलवे नेटवर्कमा जोडिनबाट रोक्ने प्रयास थालेको छ । ट्रान्स एसियन रेलवे नेटवर्कको मुल लाइनलाई नेपाल प्रवेश गर्न नदिएर भारतले आफ्नै भूमिबाट पाकिस्तान तर्फ मोड्न लागेको हो । ट्रान्स एसियन रेलवे नेटवर्कले नेपाललाई २६ वटा मुलुकसँग जोड्छ ।

यो नेटवर्क सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश आइपुग्छ । बंगलादेशको बिरोलबाट भारतको जलपाइगुडी हुँदै नेपालको काकडभिट्टा प्रवेश गर्छ । त्यहि रेलवे नेटवर्क ९४५ किलोमिटर लामो पुर्व पश्चिम रेलवेका रुपमा गड्डाचौकीबाट पुनः भारत प्रवेश गर्छ र दिल्ली हुँदै पाकिस्तानको इस्लामावाद जान्छ । पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्कि पुगेर यो रेलवे नेटवर्क युरोपसम्म पुग्छ । यसले रसिया, अजरबैजान, कोलम्बिया, अर्मेनिया, दक्षिण कोरिया र चीनलाई समेत जोड्छ ।

तर ९ हजार २ सय ८९ किलोमिटर लामो यो ट्रान्स एसियन रेलवे लाइनमा पुग्नबाटै नेपाललाई रोक्ने प्रयासमा भारत लागिपरेको छ ।
युनाइटेड मिसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक(युएनइस्क्याप)ले तयार पारेको ट्रान्स एसियन रेलवे नेटवर्कको नक्सालाई परिवर्तन गरेर भारतले नेपाल आउनै नदिन लागेको हो ।

‘भारतले नेपाल आउने ट्रान्स एसियन रेलवे नेटवर्कको लाइनलाई कोलकात्ता हुँदै दिल्ली लैजाने प्रयास गरिरहेको छ, उसले कोलकात्ता–काठमाडौं रेलवे बनाउने कुरा अघि सारेको छ’, रेल विभाग श्रोतले भन्यो । श्रोतका अनुसार भारतले नेपालको सरकारी निकाय र निजी क्षेत्रलाई समेत कन्भिन्स गरेर अन्तराष्ट्रिय रेल सञ्जाल प्रवेशमा बन्देज लगाउने प्रयास गरेको हो ।

‘नेपाल ट्रान्स एसियन रेल वे नेटवर्कको सदस्य राष्ट्र हो, हामीलाई कोलकात्ताको रेलवे नेटवर्क चाहिँदैन, तर भारतले नेपाल आउने रेललाई कोलकता लैजाने र त्यहाँबाट काठमाडौंसम्म सहायक रेल मार्ग बनाउन सघाउने भनिरहेको छ’, श्रोतले भन्यो ।

केहि समय अघि नेपाल उद्योग परिसंघले आयोजना गरेको पुर्वाधार सम्मेलनमा पनि भारतीय रेल मन्त्री सुरेश प्रभुले काठमाडौं–कोलकात्ता रेलवे निर्माण गर्नुपर्ने र त्यसका लागि भारतले सघाउने बताएका थिए । त्यस्तै, नेपाल लगानी सम्मेलनमा भारतीय वित्त मन्त्री अरुण जेट्लीले पनि काठमाडौं–कोलकात्ता रेलवे निर्माण गरिनुपर्ने बताएका थिए ।

यसरी नेपाललाई अन्तराष्ट्रि रेल सञ्जाल प्रवेशमा रोक लगाएर भारतले फेरी पनि बर्षाैसम्म आफुमा निर्भर बनाउने अभियान सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.