सेजको पूर्वाधारमा लगानी गर्न चिनियाँ र भारतीय उद्योगीको प्रस्ताव

  २०७३ चैत १२ गते १३:२५     नारायण पौडेल

काठमाडौं । बिशेष आर्थिक क्षेत्र(सेज) बनाउन चिनियाँ र भारतीय उद्योगीले प्रस्ताव गरेका छन् । सेज विकास समितिका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टका अनुसार चीन र भारतका उद्योगीहरुले सेज बनाउने प्रस्ताव पेश गरेका छन तर सेज नियमावलीको अभावमा अनुमति दिन सकिएको छैन् ।‘चीन र भारतका उद्योगीले हामी सेज बनाउँछौं, जमिन दिनुस भनेका छन, हामीसँग न नियमावली छ न त जमिन नै छ’, सेजका कार्यकारी निर्देशक भट्टले भने ।


सेज ऐनले निजी क्षेत्रले सेजको स्थापना, सञ्चालन तथा पुर्वाधार निर्माण गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थामा टेकेर चिनियाँ र भारतीयले सेज बनाउने प्रस्ताव गरेका हुन् । तर कार्यान्वयनका लागि सेज नियमावली आवश्यक हुन्छ । ऐन कार्यान्वयनमा आएको भएपनि हालसम्म नियमावली बनिसकेको छैन् । ‘विदेशीलाई सेज निर्माणका लागि अनुमति दिन सेज नियमावली आवश्यक पर्छ, हामी त्यसको मस्यौदा बनाईरहेका छौं’, भट्टले भने । उनले सेज नियमावलीको ८० प्रतिशत भन्दा बढि काम सम्पन्न भैसकेको पनि जानकारी दिए ।

भैरहवामा तयार भएको सेजमा उद्योग सञ्चालनका लागि १९ वटा उद्योगसँग सम्झौता भैसकेको पनि उनले जानकारी दिए । सिमरा सेज र पाँचखाल सेजका लागि जमिन प्राप्त गरेर पुर्वाधार निर्माणको काम अघि बढाएको भट्टले बताए । पुर्व घोषित १४ सेजमध्ये अन्य क्षेत्रमा भने हालसम्म जमिन नै नपाएको गुनासो पनि उनको छ । सेजमा स्थापना हुने उद्योगमा विद्युत आपुर्ति सहज बनाउनुपर्नेमा उनले जोड दिए ।

सेज ऐनका अनुसार सेजमा स्थापना भएका उद्योगहरुले उत्पादनको २५ प्रतिशत मात्रै आन्तरिक बजारमा बिक्रि गर्न पाउनेछन् । उत्पादनको ७५ प्रतिशत भने निर्यात गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.