धरहराको फाइनल डिजाइन बुधबार आउँदै, कस्तो होला आधुनिक धरहरा ?

  २०७३ चैत १ गते १७:३२     विकासन्युज

काठमाडौं । करिब एक करोड लागतमा धरहराको नयाँ डिजाइन तयार भएको छ । गत बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहराको नयाँ डिजाइन तयार पार्न पुरातत्व विभागले ९४ लाख ७९ हजार ४ सय ३६ रुपैंयाँ लागतमा केस कन्सल्टेन्टलाई जिम्मेवारी दिएको थियो ।

प्रस्तावित धरहराकाे स्केज

केस कन्सल्टेन्टले बुधबार धरहराको नयाँ डिजाइन पुरातत्व विभागलाई हस्तान्तरण गर्न लागेको हो ।‘धरहराको आधुनिक डिजाइन तयार भएको छ, पुरातत्व विभागले बुधबार नयाँ डिजाइनको स्वामित्व ग्रहण गर्नेछ’, पुरातत्व विभागको सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने ।

केस कन्सल्टेन्टले माघ २८ गते नै धरहराको नयाँ डिजाइन बुझाउने भनेको थियो तर विभागले आवश्यक अध्ययन गरि पुन परिस्कृत गर्न भनेपछि ढिलो भएको हो । सुरुमा ६ रोपनीमा धरहरा बनाउने भनिएको थियो । केस कन्सल्टेन्टले १६ लाख ९५ हजारमा ६ रोपनी क्षेत्रमा निर्माण गर्ने भनिएको धरहराको डिजाइन तयार पारेको थियो ।

तरपछि २३ रोपनी ४ आना २ पैसा २ दाम जमिन थपिएपछि नयाँ डिजाइन तयार पारिएको हो । अब २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा आधुनिक धरहराको निर्माण हुनेछ । यसैबिच, धरहराको निर्माण भने नेपाल टेलिकमले गर्दैछ । त्यसका लागि टेलिकमले हाल धरहरा निर्माणको मोडालिटीबारे अध्ययन गरिरहेको छ ।

करिब ३ अर्ब खर्चेर निर्माण गरिने धरहराको सञ्चालन नेपाल टेलिकमले ३० बर्षसम्म गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्ने योजनासहितको मोडालिटी निर्माण गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.