‘स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ’ बचतकर्ताको लागि लगानीको राम्रो अवसर, ऋण लिनेलाई कम फाइदा

  २०७३ चैत १ गते ११:१४     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालकाे थप सार्वजनिक निष्काशन (एफपीओ)को लागि आजदेखि आवेदन खुला भएको छ । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ ।

यस बैंकमा ५० प्रतिशत शेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रिण्डलेज पिटिआई (अस्ट्रेलिया) र २५ प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड बैंक (बेलायत)को रहेको छ । नेपालीको २५ प्रतिशत सेयर छ ।

एफपीओ निष्काशनपछि संस्थापक विदेशीको सेयर ७०.२१ प्रतिशत हुनेछ भने नेपाली सर्बसाधारणको सेयर २९.७९ प्रतिशत हुनेछ । एफपीओपछि पनि ७० प्रतिशत सेयर स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको रहने भएकोले यो बैंक मुलभुत रुपमा सोही ग्रुपले सञ्चालन गर्छ ।

हाल यस बैंकको चुक्ता पुँजी  ३ अर्ब ७४ करोड रुपैयाँ छ भने एफपीओ बाँडफाँडपछि ४ अर्ब ५७ लाख रुपैयाँ हुने छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार आर्थिक वर्ष २०७४ असार मसान्तसम्ममा ८ अर्ब ४ करोड चुक्ता पुँजी पुर्याउने बैंकको योजना छ । त्यसको लागि बैंकले आगामी वर्ष १०० प्रतिशत बोनस सेयर दिने पुँजी वृद्धि योजना छ । त्यसको लागि एफपीओबाट ३ अर्ब ४ करोड रुपैयाँ प्रिमियम आर्जन हुनेछ भने चालु आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा हुने बैंकको प्रक्षेपण छ । प्रिमियम रकम र नाफाबाट बैंकले १०० प्रतिशत बोनस सेयर दिने याेजना बनाएकाे छ ।

राष्ट्र बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ हुनुपर्ने नीति लिएपछि यस बैंकले पुँजी वृद्धि सम्बन्धि निर्णय ढिलागरी लियो । तर सुस्पष्ट र स्थीर नीति लियो । यो बैंक अलि परम्पराबादी छ र आक्रामक छैन तर दीगो देखिन्छ । ‘अन्तर्राष्ट्रिय बैंक हो, उसको निर्णय प्रक्रिया अलि लामो छ र कम्प्लाइन्स ज्यादै राम्रो छ’ चार्टर्ड एकाउन्टेन्ट अनुप श्रेष्ठले भने ।

‘हाल प्रतिकित्ता २ हजार रुपैयाँमा किनबेच भईरहेको सेयर साधारण सेयरधनीले १२९० रुपैयाँमा पाउँछन् । आफ्नो बचतबाट लगानी गर्नेहरुको लागि यो सेयर राम्रो हो’ नेपाल हाथवे इन्भेष्टमेन्ट कम्पनीको प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल भन्छन्–‘चर्को व्याज तिरेर लगानी गर्नेको लागि भने धेरै फाइदा छैन ।’ उनी भन्छन–यस बैंकको सेयरमा पनि १० गुणा भन्दा बढी आवेदन पर्न सक्छ । बाँडफाँड गर्दा धेरै आवेदन गर्नेले ५/६ प्रतिशत मात्र सेयर पाउने अवस्था आउन सक्छ । ऋण लिएर सेयर आवदेन गर्नेको लागत उच्च हुनेछ ।’

पछिल्ला वर्षहरुमा बैंकको प्रतिसेयर आम्दानी भने घट्दै गएको छ । विगत ५ वर्षमा बैंकको प्रतिसेयर आम्दानी ७२, ६५, ६५, ५८ हुँदै गत आर्थिक वर्षमा ४५ रुपैयाँमा झरेको छ । आगामी तीन वर्षमा प्रतिसेयर आम्दानी क्रमशः ३६, २२ र २७ रुपैयाँ हुने बैंकले प्रक्षेपण गरेको छ ।

पछिल्लो वर्ष यस बैंकको विजनेश विस्तार उच्चदरको छैन तर पुँजी वृद्धिपछि बैंकले व्यवसाय विस्तार गर्ला भन्ने अपेक्षा गर्न सकिने पौडेल बताउँछन् । निकट भविष्यमा नेपालमा विदेशी लगानी उल्लेख्य रुपमा वृद्धि हुने देखिन्छ । त्यसको लाभ सबैले लिनेछन् र तर सबैभन्दा पहिला र बढी लाभ स्ट्याण्डर्ड चार्टर्ड बैंकले लिने जानकारहरु बताउँछन् ।

८ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी हुँदा बैंकसँग जगेडा तथा संचित कोषमा करिव पौनै ५ अर्ब रुपैयाँ हुनेछ । पुस मसान्तसम्ममा यो कोषमा करिव ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । जतिबेला बैंकले १३० अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्छ । हाल बैंकको कुल कर्जा लगानी जम्मा ५५ अर्ब रुपैयाँ मात्र छ । ‘स्ट्याण्डर्ड चार्टर्ड बैंकको विजनेश सानो तर क्रिम विजनेश गरिरहेको छ । ठूला संकटको बेलामा पनि यो बैंकको व्यापार र नाफामा ठूलो असर पर्दैन’ एक जना इन्भेष्टर भन्छन्–‘ब्राण्डको लागि पनि यो बैंकको सेयरमा मान्छेले बढी मूल्य तिर्छत ।’ केही वर्षअघि यस बैंकको सेयर प्रतिकित्ता ९ हजार रुपैयाँ भन्दा बढीमा कारोबार भएको थियो ।

यस बैंकको नेपालभित्रको नेटवर्क सानो छ । जम्मा १२ वटा शाखाबाट कारोबार गर्दै आएको छ । तर यस बैंकको अन्तराष्ट्रिय नेटवर्क सबैभन्दा राम्रो छ र नेपालमा भएका अरु बैंकको लिडर बैंक हो यो । ठूला बैदेशिक व्यापारी, विदेशी मुद्राको कारोबारी, नेपालका विकासका साझेदार, आइएनजीओहरुले कारोबार गर्दा यसै बैंकलाई रोज्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.