समस्याग्रस्त वित्तीय संस्था सकिँदै, अदालती मुद्दामा परेकाबाहेक सबै सल्टिदैँ

  २०७३ फागुन २७ गते ९:३५     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकबाट समस्याग्रस्त घोषित भएका बैंक तथा वित्तीय संस्था छिट्टै सकिने भएका छन् । अदालतमा विचाराधीन अवस्थामा रहेका बाहेक अधिकांश कम्पनीको सेयर खरिद बिक्री प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आगामी साउनदेखि राष्ट्र बैंकले ‘रिजोलुसन महाशाखा’ खारेज गर्ने तयारी गर्नुले पनि उक्त कुरा पुष्टि गर्छ । समस्याग्रस्त संस्थाको व्यवस्थापनका लागि रिजोलुसन महाशाखा खोलिएको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै अधिकांश समस्याग्रस्त संस्थाहरूको खरिद प्रक्रिया टुंगोमा पुर्‍याएर नयाँ आर्थिक वर्षको सुरुवातसँगै ‘रिजोलुसन महाशाखा’ खारेज गर्ने योजना बनाएको छ । ‘अदालतमा विचाराधीन रहेका बाहेक बाँकी सबै संस्थाको खरिद बिक्री प्रक्रिया यसै आर्थिक वर्षमा पूरा हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बचेका केही संस्था हेर्ने जिम्मा राष्ट्र बैंकको कुनै विभागलाई दिइनेछ ।’

विगतमा समस्याग्रस्त कम्पनी बढदै गएपछि राष्ट्र बैंकले ०७१ देखि छुट्टै महाशाखामार्फत ती कम्पनीको नियमन र सुपरिवेक्षण गर्दै आएको छ ।

एकैपटक धेरै संस्था समस्याग्रस्त रहेकाले ती संस्था हेरचाह गर्न राष्ट्र बैंकको ठूलो साधनस्रोत खर्च हुँदै आएको गभर्नर चिरञ्जीवी नेपालले सार्वजनिक कार्यक्रमहरूमा बताउँदै आएका छन् । यसै कारण पनि समस्याग्रस्त संस्था नयाँ व्यवस्थापनलाई सुम्पिएर राष्ट्र बैंकले आफूमाथिको अनावश्यक भार पन्छाउन खोजेको देखिन्छ ।

०६५ सालमा क, ख र ग वर्गका वित्तीय संस्थाको अनुमति रोकेको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘घ’ वर्गका लघुवित्त बैंक स्थापनामा पनि रोक लगाएको छ । यसै कारण समस्याग्रस्त वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढेको हो ।

पछिल्लो समयमा समस्याग्रस्त संस्था किन्न लगानीकर्ताको होडबाजी चल्नुले पनि यो पुष्टि हुन्छ । यसैकारण हाल समस्याग्रस्त रूपमा रहेकामध्ये ४ वटा संस्थाको सेयर बिक्रीका समझदारी पत्रमा हस्ताक्षर ९एमओयू० भइसकेको छ । थप २ वटा संस्थाको एमओयू पनि छिट्टै हुने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ । ती संस्था खरिदका लागि व्यावसायिक घराना र गैरआवासिय नेपाली ९एनआरएन० हरू अघि देखिएका छन् ।

गत असोजसम्म १३ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त रहेकामा जनरल फाइनान्स र अरुण फाइनान्स नयाँ व्यवस्थापनसहित सञ्चालनमा आइसकेका छन् । हिमालयन र क्रिस्टल फाइनान्स खारेजीमा पठाइएको छ । तीमध्ये हिमालयन फाइनान्सको खरेजी प्रक्रिया सुरु भइसकेको छ भने अदालतमा मुद्दा परेकाले क्रिस्टल फाइनान्सको प्रक्रिया रोकिएको छ ।

बाँकी रहेका ९ वटा संस्थामध्ये कुबेर मर्चेन्ट फाइनान्स, वल्र्ड मर्चेन्ट एन्ड बैंकिङ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्स नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउँदै छन् । ‘ती संस्थाको सेयर खरिद बिक्री ९फिट एन्ड प्रपर टेस्ट० अनुमतिका लागि राष्ट्र बैंक नियमन विभागमा आवेदन परेको छ,’ स्रोतले भन्यो, ‘अनुमति प्राप्त भएपछि सेयर नामसारीको काम अघि बढ्छ ।’

यसरी एमओयू भइसकेका संस्थाहरूमध्ये कुबेर मर्चेन्ट फाइनान्समा एनआरएन समूहले, कर्पोरेट डेभलपमेन्ट बैंक तथा ललितपुर फाइनान्स काठमाडौंकै व्यापारिक घरानाहरूले र वल्र्ड मर्चेन्ट एन्ड बैंकिङ फाइनान्समा काठमाडौंकै एक गैरव्यापारिक समूहले खरिद गर्न चाहेका छन् । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.