डेढ दशकपछि काठमाडौंमा विदेशी चेनको नयाँ होटल

  २०७३ फागुन २६ गते १०:०६     विकासन्युज

काठमाडौं । अमेरिकी होटल चेन मेरिओटसँगको साझेदारीमा मलिराम शिवकुमार (एमएस)ग्रूपले ठमेलमा चारतारे होटल संचालनमा ल्याएको छ । एक अर्ब १५ करोड रुपैयाँ लगानी रहेको यो होटलमा ११० वटा कोठा रहेको छ ।

होटलको निर्माण सकिएकोले आंशिक सञ्चालनमा आइसकेको छ भने औपचारिक उद्घाटन भने एक महिनाभित्रै हुने एमएस ग्रुपका प्रवन्ध निर्देशक शशिकान्त अग्रवालको भनाइ छ । सेवा उद्योगमा यही होटलबाट एमएस ग्रुप प्रवेश गरेको हो ।

नेपालको होटल क्षेत्रमा १० वर्षे सशस्त्र द्वन्द्वपछि कुनै पनि ठूलो लगानी भित्रिएको छैन । पर्यटन विभागका अनुसार पनि यो लगानी डेढ दशकपछिकै पर्यटन पूर्वाधारमा ठूलो लगानी थपिएको हो । पर्यटन क्षेत्रमा देखिएको आशा र अब पर्यटक आगमनसँग हुने यस क्षेत्रप्रतिको सकारात्मक बुझाईले होटल क्षेत्रमा लगानी विस्तार भएको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालको भनाइ छ ।

उनका अनुसार दर्जन भन्दा बढी पाँचतारे होटल आउने तयारीमा रहेको, निर्माणको क्रममा रहेका र धेरेले विभिन्न माध्यमबाट घोषणा गरेको भएपनि विभागमा भने आइसकेका छैनन । अधिकांश होटल स्तर वर्गीकरणको समयमा मात्रै विभागमा पुग्ने गरेका छन् । धेरैले होटल निर्माणको हल्ला गरेपछि छिटो संचालनमा आउने होटल भने मेरिओट नै भएको छ । होटल क्षेत्रमा करीव छ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको यो एमएस ग्रुपले उपत्यकामा दुईवटा पाँचतारे होटल बनाउने भएको छ । यो एक चार तारेमा भएको लगानीले यसको संचालनसँगै थप होटल बनाउँदै जाने पनि अग्रवालको भनाइ छ ।

उनका अनुसार नेपाल हस्पिटालिटी ग्रुपको नामबाट भएको यो होटलपछि एभरेष्ट होटल ग्रूपको नाममा नक्सालमा अर्को पाँचतारे होटलको निर्माण शुरु हुने भएको छ । एमएसले बनाउँने तेस्रो होटल तथा दोस्रो ५ तारे होटल भने भक्तपुरमा हुने उल्लेख छ ।

ग्रुपले एउटा चारतारे होटल निर्माण सम्पन्न गरेको छ । अब भव्य उद्घाटन मात्रै बाँकी छ भने दुई वटा पाँचतारे पनि निर्माण अगाडि बढाउने भएको छ । नक्सालमा निर्माण हुने दुई सय ३५ कोठाको पाँचतारे स्तरको होटलमा साढे दुई अर्ब र भक्तपुरमा हुने सोही क्षमताको होलटमा पनि सो अुनपातमा लगानी हुने उल्लेख छ ।

ठमेलमा निर्माण भएको चारतारे स्तरको एक सय १० कोठाको होटल संचालन सुरु सँगै ठमेलको पर्यटनको छविमा पनि सुधार आउने अनुमान गरिएको छ । यो एमएस ग्रुपले ठमेल र नक्सालका होटल सञ्चालनमा मेरिओटसँग सहकार्य गरिएको छ ।

सन् १९७० देखि टेक्सटाइल, स्पिनिङ मिल हाउजिङ, साबुनलगायतका उद्योगमा सक्रिय एमएस ग्रुपले पहिलो पटक नेपाल हस्पिटालिटि ग्रुपमार्फत पर्यटन क्षेत्रमा प्रवेश गरेको हो । हस्पिटालिटी ग्रुपले दुईवटा होटलमा अन्तर्राष्ट्रिय चेन भित्र्याइसकेको छ । ग्रुपको तेस्रो होटलमा पनि अन्तरर्राष्ट्रिय ब्राण्डलाई नै ल्याइने भएको छ । होटलको प्रवद्र्धन गर्न र पर्यटक भित्र्याउन तथा गुणस्तर कायम गर्नको लागि अन्तर्राष्ट्रिय ब्राण्डलाई भित्र्याएको एमएस ग्रूपको भनाइ छ।

शुमितकुमार अग्रवाल अध्यक्ष रहेको एमएस ग्रूपले पर्यटन क्षेत्रमा देखिएको सम्भावनासँगै होटल निर्माणलाई तीब्रता दिएको उल्लेख छ । ग्रुपको सनराइज होम, रिलाइन्स स्पिनिङ मिल्स, धनलक्ष्मी सेन्थेटिक्स, एभरेष्ट सुगर, भगवती नामका स्टिल उद्योग, रोलिङ मिल्स, साबुन उद्योग, कार्विङगायतका करीव एक दर्जन व्यवसायीक क्षेत्रमा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.