वायसुेवा निगमको टिकेटमा अझै सिन्डिकेट, ग्रुप होल्डिङले टिकेट पाइदैन, उड्ने बेलामा रित्तै

  २०७३ फागुन २५ गते १३:०१     विकासन्युज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले आफ्नो छवि सुधार गर्न जहाज थप्नमा मात्रै ध्यान केन्द्रित गरिरहको छ । तर, निगमले जहाज उडान व्यवस्थित गर्न नसक्दा, आन्तरिक व्यवस्थापन कमजोर हुँदा र टिकेटिङका कमी कमजोरी सुधार गर्न नसक्दा टिकट नपाइने तर जहाज भने खाली उड्ने गरेको तथ्य फेला परेको छ ।

निगमकाे जहाजकाे फाइल तस्बिर

 

निगमको जहाजको टिकेटमा अझै सिन्डिकेट कायमै रहेको पाइएको छ । निगमको जहाजको टिकेट ठूला र धेरै विक्री गर्ने तथा निगमका नजिकका एजेन्सी तथा कर्मचारीको मिलेमतोमा ग्रुप होल्डिङ हुने गरेको छ । जसका कारण त्यो ग्रुपका यात्रु नआउँदा अरुले टिकेट नपाउने र जहाज खाली उड्नुपर्ने वाध्यता रहेको छ ।

नेपालमा उडान गरिरहेका विभिन्न २९ वटा अन्तराष्ट्रिय वायुसेवा मध्येकै एक्लो प्रतिस्पर्धी कम्पनी निगमको ग्रुप होल्डिङ र अनलाइन टिकेट नहुनाकै कारण अहिलेसम्म बचेको शाखा पनि गुम्न सक्ने देखिएको छ । निगमले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्ने, विदेशी वायुसेवोको तुलनामा स्तरीय सेवा दिनुपर्ने र सहज तथा सरल सेवा सुविधा हुनुपर्नेमा उल्टै निगमको छवि कमजोर पार्ने सेवामा नै अल्झिरहेको छ ।

निगमको जहाजको टिकट पहिले नै ठूला कम्पनी तथा ग्रुपले होल्ड गर्ने र अन्तिम समयमा मात्रै रद्द गर्ने गरेका कारण यस्तो समस्या आउने गरेको हो । यात्रुले खोजेको बेलामा टिकेट नपाउने तर जहाज भने खाली हुनुको मुख्य कारण नै टिकेल ब्लकमा (एजेन्सीलाई संख्या तोकेर टिकेट दिन) वा होल्डिङ नै भएको पर्यटन व्यवसायीको बुझाई छ ।

निगमको जहाजले अझै ग्रुप होल्डिङ हुने गरेको र टिकट नपाउने समस्या रहेको गुनासो गर्दै सुधारको अपिल गर्दै पर्यटन व्यवसायी यमबहादुर खड्काले आफ्नो फेसबुक स्टाटस नै राखेका छन् । उनका अनुसार निगमको टिकट जो पहिले आउँछ उसैले पाउने हुनुपर्छ । अहिले होल्डिङ हुने गरेकै कारण पैसा लिएर टिकेट चाहियो भन्दै आउनेले पाउँदैन, होल्डमा रहेको टिकेट रद्द हुन पुग्ने र अन्तमा जहाज खाली हुने गरेको बुझाई पनि उनको छ ।

निगमको जहाज उडानका आ–आफ्ना सेक्टर हेर्ने एजेन्सीले गर्ने ठूलो ग्रुप होल्डिङ नै अहिलेको मुख्य समस्या हो । जसको कारण त्यो ग्रुपले क्यान्सिल गर्नासाथ जहाज खाली हुन्छ । एउटाको नाममा टिकट होल्ड गर्ने र पछि आफ्ना मान्छे राख्ने गरेकोले यो समस्या भएको हो ।

सिस्टममा हेर्दा जहाजको सिट प्याक छ, तर टिकट भने पाइदैन । आएका यात्रुले चाहेको बेलैमा नपाएको टिकेट भोली पाउला, पर्सि पाउला, जहाज उड्ने बेलामा खाली होला, लास्ट आवरमा टिकट दिउँला भन्न मिलेन । आएका ग्राहकले मागेको टिकट नपाए जस्को खाली देखिन्छ त्यसैको टिकट दिनुपर्ने टिकेटिङ व्यवसायीको भनाइ छ ।

निगमको जहाजमा हुने गु्रप होल्डिङ सिस्टम हटाउनुपर्छ र अनलाइन टिकेटिङ गर्नुपर्छ भनेर ट्राभल व्यवसायीको संस्थाले पटकपटक निगमसमक्ष माग राख्ने गरेका छन् । व्यवसायीले आफ्नो हितको लागि मात्रै नभएर निगमकै फाइदाको लागि उठाएको मागप्रतिको वेवास्थाकै कारण निगमले चाहेर पनि सन्तोषजनक सेवा दिन सकेको छैन ।

वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले यो विषयमा आफूलाई थाहै नभएको प्रतिकृया दिए । उनका अनुसार के भएको छ भनेर मैले पनि बुझ्नुपर्छ । बुझेर मात्रै भन्न सक्छु, उनले भने ।

निगमका कमर्सियल डाइरेक्टर जनक कालाखेतीका अनुसार पहिले ग्रुप होल्डिङको समस्या थियो तर आजकाल त्यस्तो समस्या छैन । उनका अुनसार अहिर्ले निश्चित समयको अवधि दिइएको हुन्छ त्यो समयमा नआए उसले टिकेट नपाउने गरी दिने गरेको बताए । कालाखेतीका अनुसार ग्रुप ल्याउनेले एक साता अगाडि टिकेट बनाइसक्नुपर्ने व्यवस्था गरेर यसलाई सुधार गरिसकेको दाबी गरे ।

उनका उनुसार न्युनतम १० जनाको ग्रुपले मात्रै होल्डिङ गर्न पाउँछन्, त्यसमा पनि न्युनतम २० देखि २५ प्रतिशत टिकेटको पैसा अग्रिम रुपमा लिने गरिएको छ । यदि सो ग्रुपले रद्द गरेमा उसको २५ प्रतिशतसम्मको पैसा पनि जफत हुने कालाखेतीले बताए ।

‘अहिले पीक आवरका लागि यस्तो व्यवस्था गरिएको छैन । हाम्रो जहाज उड्नुपर्यो र पैसा पनि कमाउनुपर्यो भन्ने नै हाम्रो मान्यता छ । कहिलेकाँही यात्रु नै नभएपछि सिट खाली त हुन्छ;- उनले भने  । होल्ड गरेर सिट छैन भन्ने काम अहिले हटिसकेको दाबी उनको छ ।

ग्रुप होल्डिङको विरुद्ध प्रहरीमा उजुरीसम्म
निमगको टिकेट नपाएको भन्दै ग्राहकले नै प्रहरीसमक्ष उजुरी नै गर्न पुगेको भएपनि निगमले अझै ध्यान पुर्याउँन भने सकेको छैन । नेपाल एसोसिएसन अफ टुर एण्ड एजेन्ट्स (नाट्टा)को गत वार्षिक साधारण सभामा निगमको टिकेट नभएको विषयमा एक जना ट्राभल एजेन्सीले खुलेरै गुनासो गरेका थिए ।

रस्मिता ट्राभलबाट निगमको टिकेट माग्ने राजु नायकले टिकेट नपाएको र भोलीपल्ट अर्को व्यक्तिले पाएको विषयमा उनले प्रहरीमा उजूरी नै दिन पुगेको पनि एक पर्यटन व्यवसायीले जानकारी दिए । यसरी निगमको बारेमा गुनासो गर्दा पनि अवस्था सुध्रन भने नसकेको व्यवसायीको भनाइ छ ।

अनलाइन टिकेटिङ नहुँदा समस्या
निगमले उडान सुरु गरेको ६ दशक पुग्न लागिसकेको भएपनि अझै अनलाइन टिकेटिङ हुन सकेको छैन ।

कालाखेतीका अनुसार ई टिकेटिङको व्यवस्थामा नै अहिलेको सेवा चलिरहेको छ । उनका अनुसार निगमले अनलाइनको पनि व्यवस्था गर्न लागेको छ ।

अहिले परीक्षणको फेजमा छ । उनका अनुसार आगमी जुनदेखि जुलाईसम्ममा अनलाइन टिकेटिङको व्यवस्था भैसक्छ ।

ट्राभल व्यवसायीले भने पटक पटक अनलाइन टिकेटिङको माग गर्दै निगमसमक्ष ज्ञापनपत्र नै बुझाउने गरेका छन् । तर, निगमले सधै हुन्छ र गर्छौ भनेर टार्ने गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.