चमेलियाको सुरुङ निर्माण सम्पन्न, दशैअघि ३० मेगावाट जलविद्युत उत्पादन हुने

  २०७३ फागुन २२ गते ११:३७     विकासन्युज

बैतडी । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । चमेलिया जलविद्युत् आयोजनाको कुल ४.६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो । जसमध्ये ६ सय ११ मिटर काम सम्पन्न भइसकेको थियो ।

साँघुरिएको दुई सय ३२ मिटर सुरुङ खोल्न सन् २०१६ सेप्टेम्बर २८ देखि सुरु भएको र शनिबार सम्पन्न भएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिए । “साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको छ”, उनले भने, “अब रक ट्र्याक खोल्ने काम सुरु भएको छ ।”

सन् २०१७ को सेप्टेम्बरमा परीक्षण उत्पादन गर्ने र सन् २०१७ को डिसेम्बरसम्म परीक्षण गरी विद्युत् सञ्चालन गरिने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुत गतिमा भइरहेको पनि उनले बताए ।  आयोजनाको एक सय ३२ किलोभोल्टको प्रसारण लाइन दार्चुलादेखि अत्तरियासम्मको सबै बनिसकेको बताइएको छ ।

साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको अब रक ट्र्याक खोल्ने काम भइरहेको छ । कुल ६५ मिटर रक ट्र्याकमध्ये १३ मिटर सम्पन्न भइसकेको र अब ५२ मिटर मात्रै बाँकी रहेको बताइएको छ ।

चमेलियाको जलविद्युत् आयोजना सम्पन्न भए सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुनेछ । सन् २०१७ को डिसेम्बरमा चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न हुने भएपछि सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुने भएकाले हर्षित भएका छन् । आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४०० भन्दा बढी टावर पनि खडा भइसकेका छन् ।

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धारित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएपछि आयोजनाले यो प्रगति हासिल गरेको हो । त्यस्तै, ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गरी चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.