हेलिकोप्टरमा आधा अर्बको लगानी थप्दै फिस्टेल एयर, एक साताभित्रै १५ कराेडकाे हेलिकोप्टर काठमाडौंमा

  २०७३ फागुन २० गते ९:४८     विकासन्युज

फिस्टेलले खरीद गर्ने हेलिकाेप्टरकाे फाइल तस्बीर

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी फिस्टेल एयरले हेलिकोप्टरमा  मात्रै आधा अर्बको लगानी थप गर्दै छ । फिस्टेल गोमा ग्रुप अन्तर्गत संचालन भइरहेको यो कम्पनीले तीनवटा हेलिकोप्टर थप गर्दै छ । फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पाण्डेका अनुसार पहिलो हेलिकोप्टर आज वा भोलीमै कलकत्ता आउँदै छन् ।

क्यानेडियन एक वायुसेवाले उडान गरेको यो हेलिकोप्टर फिस्टेलले खरिद गरेको हो । फिस्टेलले करीब १५ करोड रुपैयाँका किनेको यो हेलिकोप्टर काठमाडौं ल्याउन भने एक साताको समय लाग्ने उनले बताए ।

उनका अनुसार फिस्टेलले एयरवस हेलिकोप्टर कम्पनीको एसएस ३५० बी ३ प्लस नामक ६ सिटर हेलिकोप्टर ल्याउँदै छ । यसपछि यो वायुसेवाले सन् २०१८ भित्रमै अर्को दुई वटा हेलिकोप्टरको लागि ३० करोड रुपैयाँसम्म खर्च गर्ने भएको छ ।

पाण्डेका अनुसार फिस्टेलले यस अघि अमेरिकी कम्पनी वेल हेलिकोप्टर ल्याउने सम्झौता गरिसकेकोले सोही कम्पनीको दुईवटा जहाज ल्याउने भएको छ । उनका अनुसार वेलको जहाज ल्याउदाँ कम्तिमा २५ करोड रुपैयाँ खर्च हुने छ ।

फिस्टेलसँग अहिले नै २ वटा हेलिकोप्टर उडानमा रहेको छ । एक सातामा ३ वटा पुग्ने भएको छ । यो वायुसेवाले अर्को २ वटा हेलिकोप्टर ल्याउने टुङ्गो समेत लगाइसकेकोले आगामी एक वर्षभित्रै यसका हेलिकोप्टर संख्या ५ वटा पुग्ने पाण्डलेको भनाइ छ ।

हेलिकोप्टर सेवामा आफ्नो छुट्टै छवि बनाएको फिस्टेल ग्रुपले एयरलाइन्स क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको छ । गोमा एयरमार्फत नियमति उडानमा र फिस्टेल एयरमार्फट हेलिकोप्टर सेवामा यसले आफ्नो बजार विस्तार गरिरहेको छ ।

गोमाले भर्खरै ७० करोड रुपैयाँ खर्च गरेर दुई वटा लेट ४१० नामक १९ सिट क्षमताको हजाईजहाज थप गरेको छ । यो वायुसेवासँग २ वटा लेटका जहाज नियमति उडानमै थिए । हाल यसका नियमित उडान रहेका मल्टि इन्जिनका जहाज चार वटा र २ वटा सिंगल इन्जिनको जहाज रहेको छ ।

फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउन थालेको पाण्डेले बताए ।

उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको हो ।

हाल नेपाली आकासमा १० वटा हेलिकाेप्टरले उडान सेवा दिइरहेका छन् । यी वायुसेवाको हेलिकोप्टर संख्या २ दजर्नन रहेको छ । पछिल्लाे समय हेलिकाेप्टरकाे बजार नेपालमा निकै बढेकाे छ । नेपालीकाे पनि हेलिकाेप्टर चढ्न सक्ने क्षमता बढेकाे, उद्धार र पर्यटकीय गतीविधिमा यसकाे उपयाेग बढेकाे उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.