हाेटल, सिमेन्ट जलविद्युत् कम्पनीमा साढे २९ अर्ब रुपैयाँ लगानी थपिदै

  २०७३ फागुन १९ गते ८:३८     विकासन्युज

फाल्गुन । सरकारले विदेशी र स्वदेशी लगानीकर्तालाई साढे २९ अर्ब रुपैयाँ लगानी गर्ने अनुमति दिएको छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बुधबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले फरक–फरक ६ होटल, सिमेन्ट उद्योग र जलविद्युत् कम्पनीहरूमा लगानीको अनुमति दिएको हो । मन्त्री जोशीका अनुसार हाल सञ्चालनमा रहेका उद्योगहरूको पुँजी वृद्धि गरिएको हो । निर्णयअनुसार अब २६ अर्ब ५३ करोड ५८ लाख ६६ हजार ५ सय ४३ रुपैयाँ लगानी थपिने छ । यसअघि नै ३ अर्ब रुपैयाँ लगानी गरिसकिएको एक सिमेन्ट उद्योगले युनिट मर्ज गर्ने अनुमति पाएको छ । यो आधारमा बोर्ड बैठकले साढे २९ अर्ब लगानीबारे निर्णय गरेको हो । हाल उक्त उद्योग तथा आयोजनामा स्वामित्व रहेको स्वदेशी तथा विदेशी लगानीकर्ताको सेयर हिस्साअनुसार थप गरिएको लगानीमध्ये २० अर्ब ५० करोड ७५ लाख ९५ हजार ४ सय ५४ रुपैयाँ विदेशीको हुनेछ । ‘उनीहरूले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रक्रियाअनुसार रकम भित्र्याउनुपर्ने छ,’ बैठकमा सहभागी एक अधिकारीले भने ।

बोर्डले दिएको अनुमतिअनुसार लाङटाङ भोटेकोसी जलविद्युत् कम्पनीले १७ अर्ब ४८ करोड ९८ लाख ९४ हजार रुपैयाँ लगानी थप गर्ने भएको छ । रसुवाको थुमनलगायत ठाउँमा रहेको रसुवा भोटेकोसी जलविद्युत् आयोजनामा ९० प्रतिशत चिनियाँ लगानीकर्ता सिचुवान हुवानी इनर्जी इन्भेस्टमेन्ट कम्पनी र बाँकी १० प्रतिशत नेपाली नागरिक दीपक खड्काको लगानी रहेको छ । ९७ दशमलव ५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले लगानी थप गरेपछि १ सय २० मेगावाट जलविद्युत् उत्पादन गर्ने जनाइएको छ । ‘कुल पुँजी अब २० अर्ब ३८ करोड ९८ लाख ९४ हजार रुपैयाँ कायम हुने भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘स्वदेशी र विदेशीको सेयर स्वामित्वअनुसारकै अनुपातमा लगानी थप्ने भएका हुन् ।’

यसपछि सबैभन्दा ठूलो लगानी सर्वोत्तम सिमेन्ट प्रालिका नाममा बोर्डले अनुमति दिएको छ । यो उद्योगले ३ अर्ब ९७ करोड ५० लाख रुपैयाँ लगानी थप गर्ने अनुमति पाएको हो । ३८ प्रतिशत कृष्ण होल्डिङ लिमिटेड हङकङको र ६२ प्रतिशत नेपाली लगानीकर्ताहरूको सेयर स्वामित्व रहेको सिमेन्ट उद्योगमा पहिले ६ अर्ब रुपैयाँ लगानी थियो । बोर्डले पुँजी वृद्धि गर्न दिएको अनुमतिपश्चात् ९ अर्ब ९७ करोड ५० लाख रुपैयाँ पुग्ने भएको छ ।

५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनालाई पनि बोर्डले पुँजी वृद्धिको अनुमति दिएको छ । ‘भूकम्प तथा भारतको नाकाबन्दीका कारण निर्माण कार्य समयमै सम्पन्न गर्न नसकी बजार मूल्य, ब्याज वृद्धि, सामान थप गर्नुपरेकाले पुँजी वृद्धि गर्नुपरेको कारण मस्र्याङ्दी ए जलविद्युत् आयोजनाले देखाएको छ,’ बैठकमा सहभागी ती अधिकारीले भने, ‘हाल ३ अर्ब ४० करोड ३ लाख ६७ हजार रुपैयाँ लगानी थप गर्ने भएको हो ।’ लगानी थप गरेपछि उक्त जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिको कुल पुँजी ११ अर्ब ५५ करोड २ लाख ५६ हजार पुग्ने भएको छ । यो प्रालिमा ९० प्रतिशत चिनियाँ लगानी सिनोहाइड्रो रिसोर्सेज लिमिटेड र १० प्रतिशत नेपाली कम्पनी सगरमाथा पावर प्रालिको लगानी रहेको छ । पुँजी वृद्धि गरेपछि जलविद्युत् आयोजनाले क्षमता भने वृद्धि नगर्ने भएको छ । ‘नाकाबन्दी र भूकम्पका कारण लागत बढेको, ब्याज भुक्तानी गर्न सर्ट टर्म लोन लिनुपरेकाले मात्रै पुँजी वृद्धिको प्रस्ताव उसले ल्याएको हो,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारसमेतको लगानी रहेको अर्घाखाँची सिमेन्ट प्रालिको दुईवटा युनिट गाभ्ने निर्णयसमेत बोर्डले गरेको छ । रूपन्देहीको मैनहिया–१ मा दुई छुट्टाछुट्टै युनिट गाभ्ने अनुमति दिन उद्योगले प्रस्ताव पेस गरेको थियो । ‘एकीकृत गरेपश्चात् ३ अर्ब रुपैयाँ लगानी पुग्ने भएको छ,’ बोर्डमा सहभागी ती अधिकारीले भने, ‘यसलाई नयाँ लगानी भन्न मिल्दैन । मर्जर गरिएको हो ।’ अर्घाखाँची सिमेन्टमा १७ दशमलव ५० प्रतिशत विदेशी र ८२ दशमलव ५० प्रतिशत स्वदेशी लगानीकर्ताको स्वामित्व छ । ओपीसी, पीपीसी, पीएससी र क्लिंकर उत्पादन गर्ने यसको मूल उद्योग कपिलवस्तुमा छ । झन्डै ६ महिनाअघि नै प्रस्ताव पेस गरेको सोल्टी होटल प्रालिको पनि पुँजी वृद्धिको निर्णय बोर्डले गरेको छ । १ अर्ब ६३ करोड ८६ लाख ५ हजार ५ सय ४३ रुपैयाँ लगानी थप गरी २ अर्ब ९० करोड ५६ लाख ७ हजार ६ सय ९८ रुपैयाँ पुर्‍याउने भएको हो । यसअघि १ अर्ब २६ करोड ७० लाख २ हजार १ सय ५५ रुपैयाँ मात्रै थियो । सोल्टीमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत, इन्टरप्राइज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी रहेको छ ।

रामेछाप र ओखलढुंगाको तल्लो लिखु खोलाबाट २८ दशमलव १ मेगावाट विद्युत् उतपादन गर्ने श्वेतगंगा हाइड्रोपावर लिमिटेडले जगेडा रहेको ३ लाख २० करोड कित्ता सेयर विदेशीलाई बिक्री गर्ने भएको छ । ‘मौरिससको डोल्मा इम्प्याक्ट फन्डलाई एक सय रुपैयाँका दरले ३ करोड २० लाख रुपैयाँमा सेयर बिक्री गर्ने भएको हो,’ बैठकमा सहभागी ती अधिकारीले भने, ‘यसमा हालसम्म कुल पुँजी ४ अर्ब ९६ करोड ८० लाख ३ हजार रुपैयाँ छ ।’ (कान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.