हङ्गेरीले एघार अर्ब २० करोड ऋण दिने, ब्याजदर एक प्रतिशत भन्दा कम

  २०७३ फागुन १८ गते १८:०७     विकासन्युज

काठमाडौं । हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब ११ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोले परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिएको हो । राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औंँ सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा महत र हङ्गेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो ।

सो वार्ताका क्रममा मन्त्री सिजार्तोले हङ्गेरी सरकारले प्रत्येक वर्ष दश नेपाली विद्यार्थीलाई हङ्गेरीका विश्व विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको जानकारी दिए ।

उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो । विदेशमन्त्री सिजार्तोले नेपालले दिएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदवारीको समर्थन गर्दै नेपाललाई भोट हाल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री डा महतले मङ्गलबार नै राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँं सत्रलाई सम्बोधन गरेका थिए । बुधबार राष्ट्रसङ्घीय मानवअधिकार आयोगका उच्चायुक्तसँग भेटवार्ता गरी नेपालको मानवअधिकारको अवस्था तथा परिषद्मा नेपालको उम्मेदवारीका बारेमा छलफल गर्ने छन्। नेपालले सन् २०१८ देखि सन् २०२० सम्मका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.