२५ हजारसम्मको वस्तु आयात र ५ लाखसम्मको निर्यात गर्नेले एक्जिम कोड अनिवार्य लिनुपर्ने

  २०७३ फागुन १८ गते १४:४९     विकासन्युज

काठमाडौं । भन्सार विभागले आगामी आर्थिक वर्ष २०७३/७४ देखि लागू हुने गरी निकासी पैठारीका लागि संकेत नम्बर (एक्जिम कोड) लागू गर्ने तयारी गरेको छ । एक पटकमा  २५ हजार रुपैयाँसम्मको वस्तु आयात तथा ५ लाखसम्मको निर्यात गर्नेले एक्जिम कोड लिनु पर्ने व्यवस्था गर्ने तयारी गरिएको भन्सार विभागका निर्देशक देवीप्रसाद भण्डारीले बताए ।

यस अघि यस्तो व्यवस्था लागू गरिएको थिएन । भन्सार ऐन २०६४ को दफा ८९ ‘ख’ मा आर्थिक ऐन २०७३ बाट थप भएको बुँदामा निकासी पैठारी गर्ने व्यक्तिले यस्तो कोड लिनुपर्ने व्यवस्था गरिएकाले विभागले यस्तो तयारी गरेको हो । उक्त बुँदामा ‘निकासी पैठारी गर्ने व्यक्तिले निकासी पैठारी गर्ने प्रयोजनका लागि विभागले तोकेको मितिदेखि लागू हुने गरी अनिवार्य संकेत नम्बर लिनु पर्नेछ’ भन्ने उल्लेख छ । सो प्रयोजनका लागि ‘निकासी पैठारी संकेत नम्बर प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७३’ अनुसार कार्य सम्पादन  अगाडि बढाइएको भण्डारीले बताए । यो व्यवस्था लागू भएपछि भारतीय बन्दरगाहबाट नेपाल सामान ल्याउन र यहाँबाट निर्यात गर्दा लाग्ने समय छोटो हुने छ ।

एक्जिम कोड लागू भएपछि निकासी पैठारी गर्दा वैदेशिक व्यापारलाई प्रर्बद्धन, निकासी पैठारीको कार्य पारदर्शी, व्यवस्थित र सरलीकृत एवम् अनधिकृत व्यापार र अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित र नियन्त्रण गर्न सहयोग पुग्छ । साथै अतिरिक्त कारोबारमा प्रयोग हुने कागजको संख्या घटाउन र नेपालको अन्तर्राष्ट्रिय व्यापारको अभिलेख अद्यावधिक गर्न पनि सहयोग पुग्नेछ । आगामी आव देखि एक्जिम कोड लागू गर्ने गरी सबै तयारी विभागले गरिरहेको छ । कोर्ड लागू गर्नका लागि विभागले सरोकारवालाहरूसँग छलफलसमेत गरिरहेको छ ।

व्यवसायीले एक्जिम कोड सहज ढंगले लिनसक्ने भएकाले कार्यान्वयनमा समेत सहजता आउने भण्डारीले बताए । यसको व्यवस्थाबाट प्रत्येक आव शुरू हुनुअघि सबै कुरा ‘सिष्टम’बाटै अद्यावधिक गर्न सकिनेछ भने बैंक जमानत पेश गरेको आधारमा १ वा ५ वर्ष अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यस्तो कोड स्थायी प्रकृतिको हुने र स्थगन वा खारेज नभएसम्म कायम रहने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

यसबारे उद्योगी तथा व्यवसायीलाई जानकारी दिन देशका विभिन्न भागमा स्थानीय उद्योग वाणिज्य संघसँग मिलेर कार्यक्रम सञ्चालन गरिरहेको भण्डारीले बताए ।  भारतलगायत विश्वका विभिन्न मुलुकमा यसअघि नै एक्जिम कोड लागू भइसकेको छ । व्यवसायीकै पान नम्बरबाट भन्सार जाँचपास भएको हेर्न सकिने तथा निकासी पैठारीको आफ्नो विवरण जहिले पनि हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.