उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता, विश्वभरि नेपाली उत्पादनको बजार विस्तार गर्ने

  २०७३ फागुन १३ गते १६:३५     विकासन्युज

काठमाडौं । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसारमा विशेष भूमिका निर्वाह गर्न लिखित सम्झौता भएको उद्योग मन्त्रालयले जनाएको छ ।

सम्झौतापछि मन्त्री जोशीले प्रवासमा रहेका नेपालीले विदेशी सामग्रीको तुलनामा नेपाली सामग्री प्रयोगमा ल्याउन सकेमा नेपाली उद्योगको विकास तथा रोजगारीको अवसर बढ्ने बताउनुभएको उनका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले जानकारी दिए । सम्झौतापछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार र उपयोगमा ल्याउन पहल गर्ने जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, जापानका लागि नेपाली कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनएका उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिकका संयोजक किरणविक्रम थापासमेतको सहभागिता थियो ।

त्यस्तै उद्योगमन्त्री जोशी र जापानको सत्तारूढ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरोबीच टोकियोमा भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच नेपालको औद्योगिक विकासमा जापानी सहयोग परिचालनका बारेमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.