रारामा ६ अर्ब खर्चेर पाँचतारे डिलक्स होटल बनाइँदै, मन्त्रीपरिषद्को बैठक रारामै बस्ने

  २०७३ फागुन १२ गते १२:१३     विकासन्युज

काठमाडौं । मुगुको पर्यटकीय गन्तव्य रारामा रारा परियोजना नामक संस्थाले तीन वर्षदेखि पाँचतारे होटल बनाउने प्रस्ताव अगाडि सारेको छ । यो प्रस्तावको वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृत र वन मन्त्रालयले पनि स्वीकृती दिएको छ । अब रारामामा पाँचतारे डिलक्स होटल निर्माण प्रक्रिया अगाडि बढ्ने भएको यसका एक संचालक बलरामा पाठकले बताए । उनका अनुसार सबै प्रक्रिया सकिएको भएपनि सरकारबाट अन्तिम स्वीकृति भने बाँकी रहेको छ ।

सरकारी स्वीकृति पाउँनासाथ रारामा करिब ६ अर्ब खर्चेर १२० कोठाको स्तरीय होटल बन्ने पनि पाठकले जानकारी दिए । यो परियोजनाले रारामा सात तारे होटल बनाउने प्रस्ताव गरेपनि नेपालको पर्यटन ऐन २०३५ र होटल तथा रेष्टुरेन्ट संचालन कार्यविधि २०६३ अनुसार भने पाँचतारे डिलक्ससम्म मात्रै निर्माण गर्न पाइन्छ । सरकारले कार्यविधि संशोधन गरेर पाँचतारे र त्यो भन्दा माथिका पाँचतारे डिलक्स हुने व्यवस्था गरेकोले रारा परियोजनाले बनाउने होटल पनि पाँचतारे डिलक्स नै हुने उल्लेख छ ।

परियोजनाका अनुसार तीन वर्ष वर्ष अगाडि रारामा होटल बनाउने लागत चार अर्ब रुपैयाँ रहेको भएपनि अहिले मूल्य बृद्धि, बजारमा सामानको उपलब्धता तथा अन्य आवश्यक सामग्रीमा भएको मूल्यका कारण परियोजनाले होटलको लागत ६ अर्ब रुपैयाँ हुने जानकारी दिएको छ ।

पर्यटन संभावनाको केन्द्र रारामा अहिलेसम्म स्तरीय होटल छैनन् । १८ वर्षदेखि संचालनमा रहेको डाँफे होटल र दुई वर्षदेखि खुलेको अर्को एक गेष्ट हाउसले नै अहिलेसम्म रारा पुग्ने पर्यटकलाई सेवा दिइरहेका छन् । पछिल्लो सयम पर्यटकीय चाप बढ्न थालेकोले रारामा स्तरीय होटलको अवाश्यकता देखिएको हो ।

परियोजनाको लागि सरकारले मन्त्रीपरिषद्बाट नै निर्णय दिने भएको छ । परियोजनाले होटलले ओगट्ने जमिन, जमिन भाडा, गल्फ कोर्स तथा वन क्षेत्रको जग्गा लिनुपर्ने भएकोले पनि सरकारको अनुमति माग गरेको छ । यो परियोजनाले करिब २ सय हेक्टरको जमिन माग गरेको पनि उल्लेख छ ।

मन्त्रीपरिषद्को बैठक रारामा हुँदै

सरकारले राराको पर्यटनलाई प्राथमिकता दिन मन्त्रीपरिषद्को बैठक नै रारामा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सार्वजनिका कार्यक्रममै रारामा मन्त्रीपरिषद्को बैंठक गर्ने तयारी भइरहेको बताइसकेका छन् । अब सरकारले यो मितिमा रारामा बैठक गर्छ भनेर घोषाणा गर्न मात्रै बाँकी रहेको छ । यसको तयारी पनि भएको प्रचण्डले बताएका छन् ।

रारामा मन्त्रिपरिषद्को बैंठक गर्ने विषयमा प्रधानमन्त्रीले बोलेको विषय निकै सकारात्मक भएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । उनका अनुसार प्रधानमन्त्री र पर्यटन मन्त्रीबीच कुरा भएको हुनसक्छ । हामीले आवश्यक तयारी तथा प्रस्ताव तयार पार्न परे हामी तत्काल यसको प्रक्रिया अगाडि बढाउन तयार छौ, उपाध्यायले भने । उनका अनुसार पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नु र सरकारले राराको पर्यटनलाई महत्व दिनु निकै सकारात्मक हो ।

रारालाई पर्यटन हब हुनसक्छ

नेपाल उद्योग परिसंघले भखरै आयोजना गरेको पूर्वाधार सम्मेलनमा पनि रारालाई पर्यटकीय हब बनाउनुपर्ने नयाँ आइडिया आएको थियो । परिसंले संकलने गरेको १०० वटा आइडियामा यो टप ५ मा परेको पनि परिसंघले जानकारी दिएको छ । रारा अहिले पर्यटन आकर्षण गर्न लगानीको भर्जिन ल्याण्ड भएकोले पनि यसको महत्व बढेको परिसंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.