विज्ञ भन्छन्- राष्ट्र बैंक असफल भयो, अब बैंकले लगानी गर्न सक्दैनन्

  २०७३ फागुन ६ गते १७:५५     विकासन्युज

काठमाडौं । बजारमा लगानी योग्य पूँजीको अभाव व्यवस्थापनमा नेपाल राष्ट्र बैंक पूर्णतः असफल भएको विज्ञहरुले आरोप लगाएका छन् । शुक्रबार राजधानीमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनामिक रिसर्च(आइएसएसआर)ले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले राष्ट्र बैंकको असफलताका कारण बजारमा लगानी योग्य पूँजीको अभाव देखिएको आरोप लगाएका हुन् ।

कार्यक्रममा प्रा.डा विश्वम्बर प्याकुरेल, प्रा.डा। गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डे लगायतले वित्तिय क्षेत्रको व्यवस्थापनमा राष्ट्र बैंक असफल भएको बताएका हुन् । प्रा.डा प्याकुरेलले बाणिज्य बैंकहरुले तीन महिना अघि नै अधिक कर्जा लगानीबारे केन्द्रिय बैंकलाई जानकारी दिँदा पनि अनुगमन नगरेकोले अहिलेको अवस्था आएको बताए । उनले भने–‘यतिबेला राष्ट्र बैंकको क्षमतामा प्रश्न उठेको छ, तरलताको व्यवस्थापन गर्न नसक्न अर्थतन्त्र अस्तव्यस्त भएको छ ।’

उनले विगत २ बर्षमा ७० अर्ब ४२ करोड नेपाली रुपैयाँको विदेशी मुद्रा खरिद गरिएकाले पनि लगानी योग्य पूँजीको अभाव बढेको बताए । त्यस्तै पछिल्लो ४ महिनामा मात्रै १३ अर्ब ७५ करोड रुपैंयाँ विदेशी मुद्रामा लगानी भएको उनले दावी गरेका थिए ।

अर्का प्राध्यापक डाक्टर गोविन्द नेपालले पनि राष्ट्र बैंकको नियमन क्षमतामा प्रश्न उठेको बताए । उनले लगानी योग्य पूँजीको अभाव हुनुमा न्युन पूँजीगत खर्च पनि कारक रहेको बताए । प्रधानमन्त्री कार्यालयमा ६७ अर्ब पूँजीगत खर्चका लागि बजेट विनियोजन भएको तर त्यसको एक प्रतिशत पनि खर्च हुन नसकेको पनि उनको भनाई थियो ।

राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डेले बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिसकेको बताए ।‘अहिले सीडी रेसियो ८८ र सिसिडी रेसियो ८० प्रतिशत पुगिसकेको छ, बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिरहेका छन, केन्द्रिय बैंक अझै कर्जा लगानीले सिमा नाघेको छैन भनेर बसिरहेको छ’, पाण्डेले भने ।

आइएसएसआरले लिक्वीडीटी क्रन्च नभएर क्रेडिट क्रन्च मात्रै भएको निष्कर्ष पनि निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.