विश्व अर्थतन्त्रमा बढ्दो ‘ट्रम्पफोविया’, विकासशील देशलाई घाटा हुने निश्चित

  २०७३ फागुन ५ गते २३:३३     विकासन्युज

वासिङ्टन। ट्रम्पको नीतिले अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव छोड्नेमा लगानीकर्ताहरूको विश्वास रहे पनि यसले विश्व अर्थतन्त्रलाई भने नकारात्मक प्रभाव पार्न थालेको छ।

व्यापार वृद्धि कम भएको छ, चीन कठिन चरित्रको सुधार कार्यान्वयन गर्ने अवस्थामा देखिएको छ र युरोप पनि राजनीतिक अस्थायित्वको अवस्थाबाट गुज्रिरहेको छ।

यदि ट्रम्पले चुनावी अभियानमा व्यक्त गरेका कुरा नै लागू गर्न खोजे यीमध्ये सबै समस्यालाई झनै खराब बनाउने निश्चित छ।

विश्व वित्तीय संकटबाट गुज्रिएको आठ वर्ष पूरा भएको छ । अर्थशास्त्रीहरू अझै पनि यसलाई टेको दिनका लागि संघर्ष गरिरहेका छन्। तर विश्वको शक्तिशाली देश अमेरिकाको अर्थतन्त्र नै थरापमा पर्न सक्ने कतिपय विश्लेशकले विश्लेषण गर्न थालेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी वर्ष विश्वव्यापी वृद्धि ३.४ प्रतिशत मात्रै हुने अनुमान लगाएका छन्। वित्तीय संकटपछिको समयमा विश्वव्यापी अर्थतन्त्र ५ प्रतिशतको हाराहारीमा वृद्धि भइरहेको छ।

ट्रम्पले स्वतन्त्र व्यापार सम्झौता खारेज गर्ने र चिनियाँ तथा मेक्सिकोको सामानमा ठूलो परिमाणमा भन्सार लगाउने बताउँदै आएका छन् । यसो गर्नाले विश्वव्यापी वृद्धि २.२ प्रतिशतमा झर्नेछ र अर्को वर्ष २ प्रतिशत मात्रै हुने अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ।

ट्रम्पले मेक्सिको र चीनको सामानमा उच्च दरमा भन्सार लगाएमा अमेरिकामा आयात गरिने सामानको औसत १५ प्रतिशतको वृद्धि हुने जनाइएको छ।

ट्रम्पले एक चीन नीतिका बारेमा दिएको अभिव्यक्ति र ताइवानी नेतृसँग गरेको कुराकानीले प्रमुख कूटनीतिक विवाद चर्काएको छ । ताइवानलाई बेइजिङले आफ्नै शत्रु प्रान्त मान्दै आएको छ ।

यो मुठभेडको अडानले दुवै मुलुकले आर्थिक अनिश्चितताको सामना गरिरहेको अवस्थामा महत्वपूर्ण व्यापारिक सम्बन्धमा दरार ल्याउन सक्छ।

हाल चिनियाँ निर्यात ओरालो लाग्दो अवस्थामा देखिएको छ । यदि ट्रम्पले चुनावी अभियानमा दिएका अभिव्यक्तिसरह भन्सार लगाएमा कम्पनीले आर्जन गर्दै आएको नाफा ओरालो लाग्न सक्छ ।

हाल चीनले निर्यात गरेको सामग्रीबाट १० प्रतिशतको मात्रै नाफा पाउने गरेको छ । यदि ट्रम्पको प्रस्तावित भन्सार लागू भएमा चिनियाँ जीडीपी ५ प्रतिशतमा झर्न सक्ने देखिएको छ ।

अमेरिकामा ट्रम्पको उदयवाट दक्षिण एसिया र नेपालमा पनि यसका बाछिटा आई राष्ट्रवादी धार प्रबल हुनसक्ने सम्भावना देखिएको छ । यसै सन्दर्भमा डोनाल्ड ट्रम्पको उदय र उनका नीतिका कारण विश्वको सबैभन्दा ठूलो, खुला र उदारवादी अर्थतन्त्रमा अहिलेको धारभन्दा विपरीत दिशामा नीतिगत परिवर्तन हुँदा यसले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा विभिन्न अड्कलबाजी गरिएका छन् ।

संरक्षणवादी नीतिका कारण अन्तर्निर्भरतामा आधारित विश्व आर्थिक प्रणाली भत्किने र पुनः विश्वका राष्ट्रहरूबीच एकले जित्ने र अर्कोले हार्ने खेल (जिरो सम गेम) सुरु हुने सम्भावना पनि देखिएको छ, जसबाट कसैलाई फाइदा नहुने मात्र होइन, द्वन्द्व बढेर जाने र विश्वमा आर्थिक अस्थिरता पैदा भई आर्थिक संकटको अवस्था आउन सक्ने देखिन्छ । आफू पूर्ण प्रतिस्पर्धी हुन नसकेका विकासशील मुलुकलाई यसबाट नकारात्मक असर पर्न जान्छ र यसले विश्वको समग्र अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने देखिन्छ ।

एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.