चक्रपथभित्र जग्गा सकियो, चक्रपथ वरपरका जग्गाको मूल्यपनि दोब्बर बढ्यो

  २०७३ माघ २८ गते ८:४१     विकासन्युज

काठमाडौं । पछिल्लो केही वर्षयता राजधानीको चक्रपथभित्र जग्गा पाउन मुस्किल हुन थालेको छ । ०७२ वैशाखमा गएको भूकम्पपछि राजधानीमा जग्गाको माग बढेसँगै चक्रपथ वरपरका क्षेत्रमा समेत जग्गाको मूल्य एकैपटक बढेको घरजग्गा व्यवसायीहरू बताउँछन् ।

भूकम्पपछि आफैं जग्गा खरिद गरेर घर बनाउने क्रम सुरु भएसँगै जग्गाको मागसँगै मूल्य पनि बढेको हो । चक्रपथभित्रका क्षेत्रमा भएका जग्गा प्रायः होेल्ड भइसकेकोले यी क्षेत्रमा जग्गा पाउन मुस्किल रहेको द रियलटर्स नेपालका उपाध्यक्ष दिलिप न्यौपाने बताउँछन् ।

उनका अनुसार चक्रपथभित्र खाली रहेका जग्गा पनि यतिबेला लगानीकर्ता र अन्तिम प्रयोगकर्ताको हातमा रहेका कारण चक्रपथभित्र जग्गा अभाव हुन थालेको हो ।

चक्रपथभित्र अहिले औसतमा न्यूनतम प्रतिआना २० लाख रुपैयाँदेखि अधिकतम ३ करोड रुपैयाँसम्म जग्गाको कारोबार भइरहेको पनि उनको भनाइ छ । दुई दशकदेखि घरजग्गा कारोबारमा संलग्न न्यौपानेका अनुसार यतिबेला चक्रपथ वरपरका क्षेत्रमा गत वर्षको तुलनामा भन्दा २ सय प्रतिशतसम्म जग्गाको मूल्यवृद्धि भएको छ ।

अहिले राजधानीलगायत मुख्य सहरी क्षेत्रका जग्गालाई व्यावसायिक रुपमा लिँदा जग्गाको मूल्यमा अस्भाविक वृद्धि भएको पनि उनको बुझाइ छ । “तर अहिलेको जग्गाको मूल्यवृद्धि रियल इस्टटेको पानीको फोका जस्तै हो,” उनले भने “अव केही वर्ष फेरि विस्तारै यो मूल्यमा कमी आउँछ ।”

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले पछिल्लो समय अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै नियन्त्रण गर्न निर्देशन दिएपछि जग्गाको कारोबारमा कमी आउने अनुमान गरिएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष ओमराज राजभण्डारीका अनुसार भूकम्पपछि राजधानीमा जग्गाको मागसँगै मूल्य पनि बढेको बताउँछन् । उनका अनुसार अहिले चक्रपथभित्र जग्गा पाउन नसकिने अवस्था छ भने भएका जग्गा पनि आम नेपालीको क्रयशक्ति भन्दा निकै बढको छ ।

यसलाई नियन्त्रण गर्नका लागि सरकारले अपार्टमेन्टजस्ता हाइराइज भवनलाई प्रवद्र्धन गर्नुको विकल्प नभएको बताउँछन् । “राज्यले बाँकी रहेको जमिन बचाउनका लागि अपार्टमेन्ट कल्चरलाई प्रवद्र्धन गर्दै जानुपर्छ,” उनले भने ।

राजधानीमा जग्गाको माग बढ्नुको मुख्य कारण आवश्यकताभन्दा पनि प्रतिष्ठाको रुपमा समेत हेरिएकाले भएको न्यौपानेले बताए । “भू–उपयोग नीति कार्यान्वयनमा आउन नसकेको फाइदा यतिबेला घरजग्गा व्यवसायीले लिएका छन्,” उनले भने ।

यसकारण अहिले चक्रपथभित्र जग्गाको अभाव र वरपर मूल्य दोब्बरले बढ्नुको मुख्य कारण पनि यही हो । चक्रपथभित्र जग्गाको संख्या कम र मूल्य सामान्य नागरिकको पहुँचभन्दा बाहिर भएकोले पछिल्लो समय चक्रपथसँग जोडिएका गाविसहरू हरिसिद्धी, इन्द्रायणी, स्वयम्भू, भैंसेपाटी, गोंगबु थानकोटलगायतका क्षेत्रमा घरजग्गा कारोबार बढेको छ । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.