६ महिनामा व्यापार घाटा ४३० अर्ब, सवारी साधनको आयात १६८ प्रतिशतले वृद्धि, सवारी कर्जा नियन्त्रणमा थप दवाव

  २०७३ माघ २७ गते १६:०९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा नेपालले ४ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार घाटा बेहोरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.३ प्रतिशतले बढी हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार छ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई  रु.५०२.३७ अर्ब पुगेको छ ।

केन्द्रका अनुसार यातायातका साधन र तिनका पार्टपुर्जाको आयात १६८.२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ४६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सवारी र तिनको पार्टपुर्जा आयात भएको छ । सवारी साधन खरिद गर्न बैंकहरुले बढी कर्जा लगानी गरेको भन्दै बैंकर्सहरुले आलोचना खेपिरहेको समयमा तथ्याङ्कले पनि सवारीको आयात उच्चदरले बढेको देखाएको छ ।

सवारी साधन सँगै पेट्रोलियम पदार्थको आयात पनि  १४१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा ५१ अर्ब ८१  करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

त्यस्तै, फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ९५.३ प्रतिशतले वृद्धि भएको छ । सो अबधिमा फलाम, स्टील र तिनको उत्पादन ५० अर्ब ६५ करोडको आयात भएको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ५९.४ प्रतिशतले वृद्धि भएको छ । औषधीको आयात १९.८ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा ११.४७ अर्बको औषधी आयात भएको छ ।

यस अवधिमा ३८ अर्ब २२ करोड रुपैयाँको मेशिनरी तथा पार्ट्स आयात भएको छ जुन गत आर्थिक वर्षको तुलनामा १२६.४ प्रतिशतले वृद्धि भएको छ । यस्तो आयात उत्पादन वृद्धिमा सहयोग गर्छ

दूरसञ्चारका सामाग्रीहरुमा ४९.८ प्रतिशतले वृद्धि भई रु. १५ अर्ब ८२ करोडको आयात भएको छ । समीक्षा अवधिमा  ११ अर्ब ८० करोड बराबरको सुन र ४ अर्ब १६ करोड बराबरको चाँदी आयात भएको छ । रु. २ अर्ब ५६ करोड बराबरको हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् ।

साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर ८ अर्ब ९७ करोड, भटमासको कच्चातेल ६ अर्ब ५१ करोड, तयारी पोशाक ७ अर्ब ११ करोडको आयात भएको छ । सरकारले कृषि उत्पादन वृद्धि भएको बताईरहेको समयमा अन्न १९ अर्ब २ करोड आयात भएको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भइ रु ३६.३२ अर्ब तथा कुल पैठारीमा ६४.३  प्रतिशतले बृद्धि भई भई रु. ४६६.०५ अर्ब पुगेको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि  प्रमुख रहेका छन् । नेपालको निकासी  व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क  आदि प्रमुुख रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.