उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन राष्ट्र बैंकको कडाई, तोकिएको कर्जा लगानी नगरे ब्याज बराबर जरिवाना

  २०७३ माघ २६ गते १७:१३     विकासन्युज

nrbकाठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई कडाइ गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागले परिपत्र जारी गर्दै, बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई उत्पादनशील क्षेत्रमा तोकिएको कर्जा लगानीको मात्रा पुर्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बाणिज्य बैंकलाई २०, विकास बैंकलाई १५ र फाइनान्स कम्पनीलाई १० प्रतिशत कर्जा लगानी उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने व्यवस्था गरेको छ । सोमध्ये बाणिज्य बैंकले कुल कर्जा लगानीको १५ प्रतिशत उर्जा र कृषि क्षेत्रमा लगाउनु पर्ने व्यवस्था छ ।

बैंक तथा वित्तिय संस्थाले तोकिएको क्षेत्रमा तोकिए बमोजिम कर्जा लगानी नगरेमा २०७४ असार मसान्तदेखि ती संस्थाले कर्जामा लिने अधिकतम ब्याजदर बराबरको रकम जरिवाना तिराईने केन्द्रिय बैंकले जनाएको छ ।

उत्पादनशील क्षेत्रमा गरिने कर्जा लगानी प्रत्येक महिना समाप्त भएको १५ दिन भित्र बुझाउन पनि परिपत्रमा भनिएको छ । त्यस्तै २०७४ असार मसान्तदेखि भने प्रत्येक त्रैमासिकमा त्यस्तो विवरण बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.