निर्वाचनमा विद्युतीय मतदानको तयारी, प्रविधिको सफल प्रयोगमा ४७ अर्ब लाग्ने

  २०७३ माघ २६ गते ८:१९     विकासन्युज

Election_Commission_Buldingकाठमाडौं । निर्वाचन आयोगले अबको निर्वाचनमा विद्युतीय यन्त्र प्रयोगको तयारी गरेको छ । आयोगले कम्तीमा एउटा प्रदेशमा विद्युतीय यन्त्रबाट मतदान गराउन सकिनेबारे दल र सरकारसँग छलफल गरिरहेको छ ।

आयोगले दलका शीर्ष नेतालाई विद्युतीय यन्त्रबारे मंगलबार जानकारी गराउँदै नमुना मतदान पनि गराएको छ । आयोगले प्रदर्शनी गराएको विद्युतीय यन्त्रलाई ‘स्मार्टम्याटिक’ भनिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोगले प्रविधिको प्रयोग गरिरहेको र नयाँ प्रविधिको प्रयोगतर्पm अघि बढ्नु उपयुक्त रहेको बताएका थिए । सबैतिर स्मार्ट फोन प्रयोग गर्न थालिसकेकाले ‘स्मार्टम्याटिक’ प्रयोगमा आउन सक्ने उनको भनाइ थियो । उनले निर्वाचन हुनेमा आशंका नगर्न पनि आग्रह गरेका थिए ।

बेलायतको हाउस अफ लर्डका पूर्वसदस्य लर्ड ब्राउनको टोलीले विद्युतीय मतदान मेसिनबारे जानकारी गराएको थियो । लर्ड मतदानका लागि विद्युतीय मेसिन उत्पादन गर्ने कम्पनीको सिइओसमेत रहेकाले नयाँ प्रविधि देखाउन नेपाल आएका हुन् । उनका अनुसार यस्तो मेसिन ब्राजिल र फिलिपिन्समा बढी प्रयोग भएको छ ।

आयोगको हलमा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, संघीय समाजवादी फोरमका अशोक राई, सांसद रुक्मणि चौधरीलगायत विभिन्न दलका १० सांसदले विद्युतीय मेसिनबाट नमुना मतदान गरेका थिए ।

देशभर विद्युतीय मतदान व्यवस्था गरेमा ४७ अर्ब लाग्ने
देशभरका मतदान केन्द्रमा विद्युतीय मतदानको व्यवस्था गरिएमा खरिदका लागि करिब ३७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । विद्युतीय मेसिन उपयोग गर्न मतदाता शिक्षा आवश्यक पर्छ । मतदाता शिक्षाका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान पनि आयोगले गरेको छ । सबै खर्च जोड्दा करिब ४७ अर्ब रुपैयाँ हुने सचिव मैनालीको भनाइ छ ।

आयोगले मेसिन उपयोगबारे सहसचिवस्तरीय समिति बनाएर अध्ययन पनि गरिरहेको छ । अहिले विद्युतीय मेसिन भाडामा उपयोग गर्न सकिनेबारे छलफल पनि चलेको छ । अहिले निर्वाचन आयोगले प्रयोग गर्न लागेको मतदान मेसिनलाई करिब एक हजार पाँच सय अमेरिकी डलर अर्थात् करिब डेढ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

कम्तीमा १८ हजार मेसिन
४० निर्वाचन क्षेत्रमा अहिले १८ हजार मतदान केन्द्र छन् । एउटा केन्द्रमा एउटा मेसिन प्रयोग गर्दा कम्तीमा १८ हजार मेसिन आवश्यक पर्छ । एउटा निर्वाचनमा दुईवटा मतदान मेसिन प्रयोग हुने अवस्थामा ३६ हजार मेसिन आवश्यक पर्नेछ । तर, अब मतदान केन्द्र बढेर करिब २१ हजार पुग्ने अनुमान आयोगको छ ।

निर्वाचन आयोगले अहिले प्रदर्शनमा ल्याएको विद्युतीय मेसिनको पाँच सय मतदानको क्षमता छ । आयोगले प्रयोग गर्ने गरेका मतपेटिका भने हजार क्षमताका छन् । विद्युतीय मेसिन प्रयोग गर्ने भएमा उत्पादन कम्पनीलाई हजार क्षमताको बनाउन आग्रह गर्न सकिने आयोगका सचिव गोपीनाथ मैनालीको भनाइ छ ।

मेसिनको आयु १० वर्ष
आयोगले मंगलबार नमुना मतदान गराएको विद्युतीय मेसिन कम्तीमा १० वर्षको आयु हुने कम्पनीले जानकारी दिएको छ । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार कम्पनीले मेसिनको कम्तीमा १० देखि २० वर्षसम्मको आयु हुने जानकारी गराएको छ । यसबीचमा जतिपटक मतदानमा प्रयोग गरे पनि हुन्छ ।

मतदान गर्न २ मिनेट
विद्युतीय मेसिनमा मतदान गर्न १ देखि २ मिनेट समय लाग्ने अनुमान गरिएको छ । आयोगले मंगलबार गरेको मतदानमा पनि करिब १ देखि २ मिनेट लागेको थियो । तर, यसका लागि मतदाता शिक्षा अनिवार्य हुन्छ । ग्रामीण भेगमा मतदाता शिक्षा बढी आवश्यक हुने आयोगको अनुमान छ ।

ह्याकिङ हुन्छ कि हुँदैन ?
विद्युतीय मेसिन प्रयोग गर्दा ह्याकिङ हुनेबारे आयोगमा धेरैले प्रश्न उठाएका थिए । बेलायतको हाउस अफ लर्डका पूर्वसदस्य लर्ड ब्राउनको टोलीले विद्युतीय मेसिन ‘अफ लाइन’मा सञ्चालन हुने भएकाले ह्याकिङ हुने सम्भावना नहुने जानकारी गराएको थियो । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.