१३ वटा वाणिज्य बैंक राष्ट्र बैंकको अनुसन्धानमा, जथाभावी ऋण लगानी गरेको आरोप

  २०७३ माघ २४ गते १६:२७     विकासन्युज

dr_chiranjibi_nepalकाठमाडौं । नेपाल राष्ट्र बैंकले १३ वटा बाणिज्य बैंकहरुमा सुक्ष्म अनुगमन गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले १३ वटा समुह खटाएर ती बैंकहरुको कर्जा लगानीको तथ्यांकको अध्ययन गरेको गरेको हो ।‘१३ वटा बाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्यौं, उनीहरुले कर्जा लगानीमा जथाभावी गरेको देखियो, अहिले माफी मागेका छन’, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने ।

उनले ती बैंकहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल भैरहेको पनि जानकारी दिए । व्यवस्थापिका संसदको लेखा समिति बैठकमा वर्तमान तरलताको अवस्था र त्यसको समाधानका लागि राष्ट्र बैंकले अवलम्बन गरेको कार्ययोजनाको जानकारी दिँदै गभर्नर डा. नेपालले भने–‘यो तरलता अभावको अवस्था होइन, केहि बैंकहरुले मार्जिन लेण्डिङमा धेरै लगानी गरेकाले आएको समस्या मात्रै हो ।’

डा. नेपालले माघ १३ गतेपछि तरलताको अवस्थामा सुधार आउँदै गरेको बताउँदै केहि समय भित्रै सहज अवस्थामा पुग्ने दावी समेत गरे । उनले साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशत कर्जा वृद्धि आवश्यक ठानेर राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको तर ३० प्रतिशत कर्जा बढेपछि तरलताको अवस्था खडा भएको जानकारी पनि दिएका थिए । केन्द्रिय बैंकले तरलताको व्यवस्थापनका लागि १९० अर्ब लैजान भनेको तर बैंकले ३२ अर्ब मात्रै लगेकाले पनि बजारमा तरलताको अवस्था नरहेको दावी गरेका थिए ।

उनले बैंकरहरु कर्जा निक्षेप अनुपात(सिसिडी रेसियो) घटाउन लबिङमा उत्रिएको बताउँदै तत्काललाई सिसिडी रेसियो नघटाउने पनि बताए ।‘सिसिडी रेसियो हटाउँदा जोखिम बढ्छ, बैंकहरु डुब्छन, जनताको पैसा पनि डुब्छ, त्यसकारण यो मामिलामा राष्ट्र बैंक सचेत छ’, नेपालले भने ।

उनले बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन दिएको पनि जानकारी गराएका थिए ।‘बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न भनेका छौं, कर्जा लगानी घटाउन निर्देशन दिएका छौं’, डा नेपालले भने ।

लेखा समितिको बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले बैंकरहरुले तरलताको गलत हल्ला फैलाएको आरोप लगाएका थिए । उनले बैंकरहरुको नाफा बढाउने योजनाका कारण बजारमा तरलता अभाव जस्तो देखिएको बताउँदै त्यसका लागि अर्थ मन्त्रालय र केन्द्रिय बैंकले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.