हकप्रद सेयर किन्न प्रमोटरले सन्दुकमा पैसा राखेको हुँदैन, ऋण नलिए कहाँबाट पैसा ल्याउने ? -कृष्णराज लामिछाने

  २०७३ माघ २३ गते १४:१४     विकासन्युज

कृष्णराज लामिछाने, अध्यक्ष-डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल

कृष्णराज लामिछाने, अध्यक्ष-डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल

यतिबेला बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव र गुणात्मक रुपमा वृद्धि भएको व्याजदरले वित्त बजार र अर्थतन्त्रलाई तताएको छ  । बैंकहरुले ३ महिनामा ३ गुणा व्याज बढाएका छन् र पनि कर्जाको माग थेग्न नसकेर छट्पटाईरहेका छन् । यस्तो अप्ठ्यारो बेलामा ऋण नपाएको, बढी व्याज तिर्नु परेको भनेर उद्योग व्यवसायी बैंकरहरुलाई गाली गरिरहेका छन् । त्यसमाथि राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारीहरुले पनि बैकरहरुलाई नै दोषी ठहर्याएका छन् । यो समस्या आउनुमा के बैकरहरु मात्र दोषी छन् ? प्रस्तुत छ डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेसँग गरिएको विकास वहस ।


कर्जा लगानी विस्तार गर्न पूँजीको अभावले बैकिङ क्षेत्र तनावमा देखिन्छ । यो अवस्थामा विकास बैंक चलाउन कति सहज छ ?

समग्र वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी कम हुँदा विकास बैंकहरु पनि त्यसबाट प्रभावित भएका छन् । दैनिक रुपमा बैंक चलाउन कठिन छैन । तर लगानी विस्तार गर्न पुँजी अभाव छ । साथै, तरलताको अभावले बैकिङ क्षेत्रमा निक्षेपको ब्याजदर वृद्धि गर्ने होडबाजी छ र आफ्ना ग्राहक अरु बैंकतिर जालान कि भन्ने डर पनि छ । वाणिज्य बैंकहरुले विकास बैंकले सरह ब्याज दिन थालेका छन् । तर तरलताको चाप परेको समयमा विकास बैंक चलाउन तुलनात्मक रुपमा सजिलो छ । सीएलआर र एसएलआरबाहेक रकम अन्य बैंकमा राखिएको हुन्छ, त्यो पैसा निकाल्न पाइन्छ ।

विकास बैंकहरुको सीडी रेसियो कति छ ?

विकास बैंकहरुको ७९ प्रतिशत छ । ७७ वा ८८ प्रतिशत मात्र भएको भए समस्या नै हुने थिएन ।

यस्तो समस्या किन आयो ?

समस्यको जग भूकम्पपछि नै बनेको थियो । भूकम्पपछि विदेश जाने नेपालीको संख्यामा कमि आयो । त्यसपछि विस्तारै रेमिट्यान्स वृद्धिदरमा कमी आयो । नाकाबन्दीले आर्थिक कारोबारमा थप संकुचन आयो ।

चालु आर्थिक वर्षको बजेट जेठ १५ अघि नै आयो । सरकारले पनि उच्च आर्थिक वृद्धिको प्रक्षेपण गर्यो । ठूलो साईजको बजेट आयो । देशको अवस्था पनि सामान्य बन्दै गयो । कर्जा माग बढ्यो । बैंकहरुले लगानी विस्तार गरे । चालु आर्थिक वर्षमा बैंकहरुले निक्षेप संकलन भन्दा कर्जा लगानी झण्डै दोब्बर बढी गरे । रेमिट्यान्स वृद्धिदर घट्यो, सरकारले लक्ष्य गरे अनुसार पुँजीगत खर्च भएन तर राजश्व लक्ष्यभन्दा बढी उठ्यो र सरकारको ढुकुटीमा २ सय अर्बभन्दा बढी रकम भयो । त्यसले निक्षेप संकलन वृद्धि हुन सकेन ।

यस्तो समस्या आउनुमा बैंकर्सहरु जिम्मेवार छैनन् ?

 

हिजो ६ प्रतिशत व्याजका बैंकहरुले कर्जा दिन तयार हुँदा कर्जा लिन आउने व्यवसायी अर्को बैंकमा गएर साढे ५ प्रतिशतमा वार्गेनिङ गर्दथे । अहिले तिनै व्यवसायी १४ प्रतिशत भए पनि, १५ प्रतिशत भए पनि कर्जा लिन तयार छन् । ‘व्याज जति लिए पनि लिनुहोस्, पैसा जसरी पनि दिनुहोस्’ भनेर आईरहेका छन् तिनै व्यवसायी ।

krishna_raj-ceo

बैंक तथा वित्तीय संस्थाहरुलाई ४ गुणा पुँजी वृद्धि गर्न राष्ट्र बैंकले २ वर्षको समय दियो । छोटो अवधिमा बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि उच्च दरमा भयो । लगानी वृद्धिसँगै नाफा पनि वृद्धि गर्न बैंकमाथि लगानीकर्ताको दवाव पनि पर्यो ।

यसरी कर्जा लगानी विस्तार गर्न बैंक व्यवस्थापनलाई दवाव परिरहेको समयमा कर्जाको माग पनि बढ्यो । यदि राष्ट्र बैंकले पुँजी वृद्धिको लागि समय २ वर्षको सट्टा ४ वर्ष समय दिएको थियो भने बैंकहरुलाई कर्जा लगानी विस्तार गर्न यति धेरै दवाव पर्ने थिएन । पुँजी वृद्धिसँगै कर्जा लगानी विस्तारमा दवाव परेको थिएन भने बैंकहरुले निक्षेप संकलन भन्दा दोब्बर कर्जा लगानी गर्ने अवस्था आउने थिएन ।

अझै पनि म के भन्छु भने बैंकहरुले गलत गरेका छैनन् । कर्जा लगानी गर्नु बैंकहरुको व्यवसाय हो । उनीहरुले सुरक्षित क्षेत्रमा लगानी गरेका छन् भने त्यसलाई ठिक नै मान्नुपर्छ । बैंकहरुलाई लाग्यो यो वर्ष साउनदेखि नै बजेट खर्च हुन्छ र बजारमा पैसा आउँछ । तर बैंकहरुको त्यो अनुमान फेल खायो । साउनदेखि पुँजीगत खर्च भएन । बजेट जेठमा नै ल्याउनुको अर्थ पनि भएन ।

चार महिनाअघिसम्म बैंकहरुले ६ प्रतिशतसम्ममा कर्जा दिन्थे, अहिले १४/१५ प्रतिशत पुर्याए । ६ महिना अघिसम्म बैंकहरुले निक्षेपकर्तालाई ४ प्रतिशत ब्याज दिन्थे, अहिले १२/१३ प्रतिशत पुर्याए । यति छोटो अवधिमा ३०० प्रतिशतसम्म व्याज वृद्धि राम्रो हो ? किन यस्तो धेरै उतार चढाव ?

यो अलि बढी नै भयो । २/३ महिनाको बीचमा २/३ गुणा ब्याज वृद्धि हुनु राम्रो हुँदै होइन ।

हाम्रो बजार यस्तै छ । तपाईसँग कुरा शुरु गर्दा (गत विहीबार) नेप्से २५ अंकले बढ्यो । बीचमा १३ अंकले घट्यो र फेरी ७ सात अंकले बढ्यो । एक घण्टा पनि भएको छैन । हाम्रो अर्थतन्त्र अस्थिर नै छ । गत वर्ष आर्थिक वृद्धि १ प्रतिशत भन्दा कम भयो । यो वर्ष साढे पाँच प्रतिशत देखि साढे ६ प्रतिशतसम्मको अनुमान गरिएको छ ।

व्याजदर वृद्धि हुनुमा बैंकहरुलाई मात्र गाली गरेर हुँदैन । हिजो ६ प्रतिशत व्याजका बैंकहरुले कर्जा दिन तयार हुँदा कर्जा लिन आउने व्यवसायी अर्को बैंकमा गएर साढे ५ प्रतिशतमा वार्गेनिङ गर्दथे । अहिले तिनै व्यवसायी १४ प्रतिशत भए पनि, १५ प्रतिशत भए पनि कर्जा लिन तयार छन् । ‘व्याज जति लिए पनि लिनुहोस्, पैसा जसरी पनि दिनुहोस्’ भनेर आईरहेका छन् तिनै व्यवसायी । मैले साना व्यवसायीको कुरा गरेको होइन, ठूला व्यवसायीको कुरा गरेको । उनीहरु नै अहिले बैंकलाई गाली गर्दै हिड्छन् ।

यतिबेला बैंकहरु आफै बसेर व्याजदर वृद्धि रोक्न प्रयास गरेका छन् । तर  सरकारले कुनै प्रयास गरेन । सरकारको ढुकुुटीमा जम्मा भएको रकम राष्ट्र बैंक मार्फत बजारमा पठाएर व्याजदर वृद्धिलाई रोक्न सक्थ्यो । त्यो काम भएन । अर्थतन्त्र महँगो भयो भने राम्रो हुँदैन । यो विषय सरकारलाई थाहा नभएको होइन । तर पहिला जस्तो ५÷६ प्रतिशतमा कर्जा प्रवाह हुने अवस्था पनि राम्रो होइन । ४ महिना पहिला ५ प्रतिशत व्याजमा मुद्दती खातामा एक वर्षको लागि पैसा राख्ने निक्षेपकर्ता यतिबेला गम्भिर समस्यामा परेका छन् । ५ प्रतिशत व्याजदरमा मुद्दतीमा पैसा राख्नेले अहिले ७ प्रतिशतमा कर्जा लिन्छु भन्दा पनि पाएका छैनन् । ११ प्रतिशत घटी कर्जा दिनै मान्दैनन् बैंकहरु । सामान्यतया २ प्रतिशत बढी व्याज दिएपछि मुद्दती बचतको सुरक्षण मानेर कर्जा दिनु पर्ने हो नि बैंकहरुले । यो पनि भएन । यसरी व्याजदरमा अस्वभाविक वृद्धि हुँदा सरकारले हेर्नुपर्छ ।

प्रष्ट देखियो बैंकहरुले आक्रामक रुपमा कर्जा लगानी विस्तार गरेका रहेछन् । राष्ट्र बैंकले दिनदिनै बजारबाट रिपोर्ट लिएको हुन्छ । उसले भन्न सक्थ्यो नि कर्जा विस्तार बढी भयो, कम गर भनेर । त्यो पनि भएन । समस्या आईसक्यो । अब त समस्या समाधानको दिशामा काम हुनुपर्यो नि । सुधारात्मक पहल त कसै न कसैले गर्नुपर्छ नि ।

बैंकको व्याजदर कति हुनु राम्रो हो ?

मेरो विचारमा मुद्दती खातामा १० प्रतिशत व्याज हुनुपर्छ । बचत खातामा ५/६ प्रतिशत व्याज बैंकहरुले दिनुपर्छ । कर्जाको व्याजदर ९ देखि १२ प्रतिशतको बीचमा हुनुपर्छ, प्रडक्ट हेरेर । यो आईडल रेट हो । भारतमा नै हेर्ने हो भने निक्षेपकर्ताले ७/८ प्रतिशत व्याज पाउँछन् । कर्जाको व्याजदर १०/११ प्रतिशत हुने गरेको छ ।

तपाईले भन्नु भयो कि पुँजी वृद्धिसँगै नाफा वृद्धि गर्न बैंक तथा वित्तीय संस्थाका व्यवस्थापन समूहलाई सञ्चालक समितिले दवाव पर्यो र उच्चदरमा कर्जा लगानी विस्तार भयो  । यसरी दवावमा गरिएको लगानी कति सुरक्षीत छ ? कहाँ भयो लगानी ?

प्रेसरमा भन्दा पनि माग भएर कर्जा लगानी भएको छ । गत वर्षको तुलनामा आयात धेरै नै बढेको छ । व्यापार कर्जाको माग पनि उच्च छ । पछिल्लो समयमा जलविद्युत र पर्यटन क्षेत्रमा कर्जा धेरै लगानी भएको छ । यो क्षेत्रमा देखिने गरि परियोजनाहरुमा कर्जा लगानी भएको छ ।
अर्थमन्त्रालयका उच्च अधिकारीले बैंकहरुलाई गाली गरे हायर पर्चेजमा, रियलस्टेटमा लगानी बढी भयो, अनुत्पादक क्षेत्रमा बढी लगानी भयो भनेर । त्यो बेकारको कुरा हो ।

पछिल्लो समय देशमा शान्ति छ । गाउँ गाउँमा विकास निर्माणको काम भएका छन् । गल्ली गल्लीमा सडक बनेका छन् । खोला खोलामा हाइड्रो बनेका छन् । सहरमा सडक विस्तार भईराखेका छन्, पीच भइराखेका छन् । त्यसमा प्रयोग हुने डोजर, लोडर, ट्रिपर, स्काभेटरको आयात बढेको छ । त्यो लगानी उत्पादक कि अनुत्पादक ?

पछिल्लो समयका सिमेन्ट उद्योगमा लगानी बढेको छ । एउटा सिमेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ देखि उत्पादित सिमेन्ट बोक्न सयौ ट्रक, ट्रिपर चाहिन्छ । यस्तो लगानी उत्पादक कि अनुत्पादक ?

जनसंख्या बढेको छ । स्कूल कलेजहरु बढेका छन् । उनीहरुले विद्यार्थी बोक्न बसहरु किनेका छन् । यस्ता बस किन्न स्कूल कलेजलाई दिएको कर्जा उत्पादक कि अनुत्पादक ?
krishnaraj_lamichhanejpg
गाउँगाउँमा सडक विस्तार भएको छ । त्यहाँ जाने बसहरु खरिद भएका छन् । ढुवानीको सवारी खरिद भएका छन् । त्यहाँका मान्छेले आफ्नो क्षमताअनुसार निजी सवारी पनि किनेका छन् । यो लगानी उत्पादक कि अनुत्पादक ?

स्कूलले किनेको बस, गाउमा जाने बस, सिमेन्ट उद्योगले किनेको ट्रक, निर्माण व्यवसायीले किनेको डोजर, लोडर, ट्रिपर, स्काभेटरलाई पनि अनुत्पादक लगानी भन्न मिल्दैन । हिसावमा ती सबै लगानी हायर पर्चेजमा पर्छन ।

केही कार, जीप थपिएका छन् । हाइड्रोपावर बन्ने काम शुरु भयो, त्यसको फिल्ड म्यानेजरलाई जीप चाहिँदैन ?  कसैले मैदा मिल खोल्यो, त्यसको साहुले एउटा कार नकिन्ने ? सिमेन्ट उद्योग खुल्यो, त्यसको जनरल म्यानेजरलाई कार किन्न लोन नदिने ? गत वर्ष डिजेल पेट्रोल किन्न पाइदैन थियो । गाडी आयात कम थियो । यसपाली बढेको छ । यसलाई अन्यथा लिनु हुँदैन । त्यसैले बैंकले दिएको कर्जा असुरक्षित छैन ।

विकास बैंकहरुको पुँजी वृद्धिको अवस्था कस्तो छ ?

धेरै विकास बैंकहरु मर्जरको प्रक्रियामा छन् । कुनै बेला ८६ वटा विकास बैंक थिए, अहिले ५२ वटामा झरेका छन् । मलाई लाग्छ यो संख्या ३० वटामा झर्छ । एक जिल्ला कार्यक्षेत्र भएका केही विकास बैंक पुँजी वृद्धि गर्न सक्रिय देखिदैनन् । तर अधिकांश विकास बैंकहरु राष्ट्र बैंकको नीतिअनुसार कि मर्जमा जाँदैछन् कि पुँजी वृद्धि गरेर जाँदैछन् ।

उद्योग व्यापार गर्न कर्जा लिएर व्यवसायीले बैंकको पुँजी वृद्धिमा लगानी गरे भनेर राष्ट्र बैंक बोल्यो । साँच्चिकै त्यस्तो भएको हो ?

सबैलाई थाहा छ नबिल बैंक कसको ? सिद्धार्थ बैंक, एनआईसी एशिया, कुमारी, सनराईज, एनएमबी, लक्ष्मी बैंक कसको ? यस्तै अरु धेरै बैंक छन् जहाँ उद्योगी व्यापारीले लगानी गरेका छन् । ती बैंकले हकप्रद सेयर निष्काशन गर्दा प्रमोटरले ऋण लिएर लगानी गरेका छन् । उनीहरुको घरमा सन्दुकमा पैसा थन्याएर राखिएको हुँदैन, ऋण नलिए कहाँबाट पैसा ल्याउने ?

तर उनीहरुले हकप्रद सेयर किन्न भनेर कर्जा लिदैनन् । घर कर्जा भनेर पनि लिएका छैनन्, किनकी उनीहरुलाई करोडले पुग्दैन । उनीहरुले कर्जा लिँदा उद्योग व्यापार नै देखाउँछन् । उनीहरुले कर्जा लिएर कहाँ लगानी गरे भनेर कसैले पनि ट्रयाकिङ गरेका छैनन्, सम्भव पनि छैन ।

बैंक ठूला भए तर चलाउन कति सहज छ, जनशक्ति कस्तो छ ?

हो, बैंकहरु २ वर्षमा ४ गुणा ठूला भए पुँजीको हिसावले । तर जनशक्तिको क्षमता चार गुणा वृद्धि भएको छैन । यो विषयमा हामीले ध्यान दिएकै छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.