ब्याजदर वृद्धिबारे के भन्छन् बैंकर र उद्योगी ?

  २०७३ माघ १६ गते १७:५५     विकासन्युज

Nepali_notesकाठमाडौं, १६ माघ । बजारमा लगानी योग्य पूँजीको अभावबारे नेपाल राष्ट्र बैंक र बैंकरबिच जुहारी चलिरहेको छ । नेपाल राष्ट्र बैंकले तरलता अभाव नरहेको दावी गरिरहेका बेला बैंकरहरु भने अभाव चरम उत्कर्षमा पुगेको दावी गरिरहेका छन् ।

बैंकहरुले तरलता अभाव भएको तर्क गर्दै मुद्धति निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिईरहेका छन् । निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर पनि बढेको भन्दै उद्योगीले चिन्ता व्यक्त गर्न थालेका छन् । ब्याजदरको वृद्धिले निक्षेप कर्तालाई फाइदा पुगेको छ भने ऋणीहरु मर्कामा परेका छन् । सेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन भने घर जग्गाकोे कारोबारीलाई पनि थला पारेको छ ।

यस्तो छ बैंकर र उद्योगीको तर्क

संसारमा नभएको सीडी रेसियो नेपालमा किन चाहियो ?

ज्ञानेन्द्र ढुंगान-प्रमुख कार्यकारी अधिकृत, एनबी बैंक

ब्याजदर बढ्नु भनेको बैंकको कस्ट(लागत) पनि बढ्नु हो । हामीले डिपोजिटमा ब्याजदर बढाईरहेका छौं । तर त्यसरी नै ऋणमा ब्याजदर बढाउने अवस्था छैन् । निक्षेपमा ब्याजदर बढाएर पनि कर्जामा ब्याजदर बढाउन सकिएन भने यसले नाफा घटाउँछ । मुद्धति निक्षेपको ब्याजदर बढाएसँगै अब सेभिङ एकाउण्टको रकम पनि फिक्स डिपोजिटमै जम्मा हुने क्रम बढ्छ । जसले सिधै बैंकको नाफामा असर पुर्याउँछ ।

तरलता अभाव बढ्नुमा सरकारले पुँजीगत खर्च बढाउन नसक्नुको पनि योगदान पर्छ । चुनाव घोषणा भयो भने तरलताको समस्या केहि समाधन हुन्छ भन्ने लागेको छ । अर्काे कुरा भनेको सिडी रेसियो संसारमा कहि पनि छैन् । कहि नभएको कुरा हामी कहाँ किन चाहियो र ? २० प्रतिशत पैसा फ्रिज हुने भनेको गम्भिर कुरा हो । नियमनका अन्य विकल्प छन अब सिडी रेसिया पुर्णतः हटाउनु पर्छ ।

सिडी रेसियाबारे तत्कालिन पुनर्विचार आवश्यक छ

भरत आचार्य-उद्योग समिति सह सभापति, नेपाल उद्योग बाणिज्य महासंघ

ब्याजदर बढेसँगै उद्योगहरुको कस्ट अफ फण्ड बढ्छ । यसले कस्ट अफ प्रडक्सन पनि बढाउँछ । अहिले मुद्धतिमा १२/१३ प्रतिशत ब्याज छ, ऋणमा १६ प्रतिशत पुग्ने अवस्था छ । लामो समय यसरी ब्याज दर बढ्यो भने कस्ट अफ प्रडक्सन बढ्छ र जसले उत्पादनको मुल्य वृद्धि गरेर उपभोक्ता मुल्य पनि बढाउँछ । सारमा मुद्रास्फिति पनि बढ्छ ।
नेपालका उद्योगको प्रतिष्पर्धी क्षमता घटिरहेको छ यसले झनै कमजोर बनाउँछ । मुल्य वृद्धि बढाउँछ ।

अहिले संस्थागत निक्षेप कर्ता निकाय कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतले पनि मोटो ब्याजदरमा पैसा डिपोजिट गरिरहेका छन् । यसलाई रोक्नु पर्छ । उनीहरुले ब्याज खाएर नाफा कमाउने होइन लगानी गर्नुपर्छ ।
आइएमएफले नेपालमा वित्तिय अराजकता आउँछ भनेको छ । हाम्रो देशले जिडिपीको २० प्रतिशत पनि विदेशी ऋण लिएको छैन । त्यसकारण आइएमएफेको तर्क ठिक छैन । अब सिडी रेसियोलाई दुई तीन प्रतिशत घटाउनु पर्छ ।
हिजो २ अर्बको पुँजी हुँदा राखिएको २० प्रतिशतको सिडी रेसिया आज पनि त्यति नै किन चाहियो ? आज बैंकहरु आठ अर्ब पुँजी पुर्याउन लागिपरेका छन् । त्यसकारण पनि २० प्रतिशतको सिडी रेसियोबारे कम्तिमा पनि तत्कालका लागि पुनर्बिचार गरिनु पर्छ । अर्काे कुरा भनेको पुँजीगत खर्च बढाउने उपाय खोज्नुपर्छ ।

ऋण लिनेलाई भने घाटा छ

भुवन दाहाल-प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक
ब्याजदर वृद्धिले निक्षेप कर्तालाई फाइदा पुगेको छ । ऋण लिनेलाई भने घाटा पुगिरहेको छ । अर्थतन्त्रमा मुद्रास्फिती भन्दा मुद्धति खाता ब्याजदर बढि भयो भने राम्रो मानिन्छ । तर यसले बैंकलाई नाफा बढाउन सहयोग गर्छ । घर जग्गा कारोबार र शेयर बजारलाई भने यसले केहि असर गर्छ नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.