२०७३ माघ ९ गते १६:१६ विकासन्युज
काठमाडौं, ९ माघ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार शुरु भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको उद्घाटन गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिविले गरेका छन् ।
उक्त संस्था लघुवित्त सेवाको माध्यमबाट समाजका विपन्न वर्गको जिवनस्तर उकास्ने उद्देश्य सहित नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरुको प्रबद्धनमा संचालनमा आएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबि नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा सहयोगी हातहरुको रुपमा हुनुपर्ने बताए । साथै उनले वित्तीय पहुंच नपुगेको ठाउंमा पुग्न तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न समेत लघुवित्त संस्थाहरुलाई निर्देशन दिएका छन् ।
हाल संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । संस्थाले आफ्नो कार्यक्रम विस्तार गर्ने क्रममा कम्तीमा १० वटा शाखाहरु खोल्ने बताएको छ । थप शाखाहरु विस्तारसँगै वित्तीय सेवाको पहुंच कम भएका जनताहरुलाई उनीहरुको घरदैलोमा पुगी सेवा दिने संस्थाले जानकारी गराएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.